close

५५ करोड रुपैयाँ कता खर्च भयो मेयरसा'ब ?

५५ करोड रुपैयाँ कता खर्च भयो मेयरसा'ब ?

Trulli
ADVERTISEMENT

धनुषा- धनुषाको मिथिला बिहारी नगरपालिकाले पूर्वाधार निर्माणमा करोडौँ रुपैयाँ खर्च गरे पनि सदुपयोग नहुँदा लथालिंगको अवस्थामा पुगेको छ । स्थानीय सरकार गठन भएसँगै करिब ५५ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको नगरपालिकामा  शिक्षा र स्वास्थ्य क्षेत्रको प्रगति झनै निराशाजनक छ

 

 


यहाँ वडा अध्यक्षले नै आर्थिक पारदर्शिता अभाव रहेको बताउँदै आएका छन् । सडक निर्माण कानुनविपरीत भएको भन्दै पालिकामाथि स्थानीयले अख्तियारमा उजुरीसमेत हालेका छन् ।

 

 


मिथिला बिहारी नगरपालिका अहिले साविकको तारापट्टी सिरिसियाको पुरानो भवनबाट संचालन हुँदै आएको छ । झन्डै ३६ कर्मचारी रहेको पालिकामा पर्याप्त भवन नहुँदा बस्ने कोठाको अभाव छ । कोठा अभावमा अलगअलग शाखा र योजना संचालन गर्नुपर्दा कर्मचारी र सेवाग्राही दुवैलाई समस्या परिरहेको छ ।


सदरमुकाम जनकपुरबाट १० किलोमिटर दूरीमा रहेको यस नगरपालिकाका नगरप्रमुखसँग स्थानीय असन्तुष्ट छन् ।


३५ हजारभन्दा बढी जनघनत्व रहेको १० वटा वडा रहेको मिथिला यस नगरपालिकाभित्र पाँच मावि र नौ वटा आधारभूत विद्यालय छन् । विद्यालयका कक्षाकोठामा विद्यार्थी उपस्थित भए पनि शिक्षक हुँदैनन् ।


स्थानीय शिक्षक सत्यमकुमार झा शिक्षा क्षेत्रमा पालिकाले भनेजस्तो काम गर्न नसकेको बताउँछन् । ‘विद्यालयमा न कुनै अनुगमन छ, न त कुनै खोजबिन’, झाले भने, ‘शिक्षा समिति निष्प्रभावी छ ।’


तारापट्टी- ७ स्थित पार्वती अनारवती तेतरी आधारभूत विद्यालयमा ५०० भन्दा बढी विद्यार्थीलाई पढाउन जम्मा सात जना शिक्षक छन् ।


स्थानीय सरकार गठन भएको तीन वर्षसम्म पनि १० वटै वडामा स्वास्थ्य केन्द्र बन्न सकेका छैनन् । पालिकाले चालू आर्थिक वर्षमा समेत ११ करोड रुपैयाँभन्दा बढी बजेट छुट्याए पनि नगरसभाबाट कुन शीर्षकमा कतिकति बजेट छुट्याइएको हो, त्यो स्वयं वडा अध्यक्षलाई नै थाहा छैन ।


मिथिला बिहारी नगरपालिका वडा- ६ का वडा अध्यक्ष रामप्रकाश यादव भन्छन्, ‘पालिकामा कुनै काम पारदर्शी छैन । नगरप्रमुखले आफूखुसी गर्छन् । बोर्डका सदस्यलाई समेत बजेट र शीर्षकबारे सूचना दिइँदैन ।’


पालिकाले हालसम्म सबैभन्दा बढी पूर्वाधारमा बजेट निकासा गरेको छ । तर, शिक्षा र स्वास्थ्य क्षेत्रको प्रगति शून्य रहेको स्थानीय बताउँछन् ।


नगरप्रमुख अनिलकुमार यादवले आफैँ चढ्नका लागि दुइटा गाडी खरिद गरेका छन् । तीन गाडीको मूल्य करिब एक करोड रुपैयाँ परेको छ । सबै वडा अध्यक्षहरूलाई मोटरसाइकल खरिद गरिएको छ ।


सबै वडामा स्वास्थ्य सेवा केन्द्र बनी नसकेकाले नगरवासी स्वास्थ्य सेवा लिन सदरमुकाम जनकपुरै जानुपर्ने बाध्यता छ ।


तर, नगरप्रमुख यादव भने शिक्षा र स्वास्थ्यमा थुप्रै काम भएको दाबी गर्छन् । उनले भने, ‘म निर्वाचित हुनासाथ शिक्षालाई नै प्राथमिकतामा राखेको हुँ । पालिकाका विद्यालयहरूमा रहेको शिक्षक अभाव हटेको छ । पालिकाका सातै वडाका आफ्नै भवन भए पनि वडा- ६, ७ र ९ भने भाडाको घरमा रहेका छन् । ती वडाका लागि भवन बनाउने योजना छ ।’


पालिकालाई पहिलो आर्थिक वर्ष २०७४/०७५ मा १८ करोड ३६ लाख, २०७५/०७६ दुई शीर्षकमा १८ करोड, २०७६/०७७ मा १८ करोड र चालू आर्थिक वर्षमा समेत १८ करोड रुपैयाँभन्दा बढीको बजेट रहेको छ ।


चालू आर्थिक वर्षमा शिक्षामा तीन करोड ८६ लाख र स्वास्थ्यमा सशर्त अनुदान दुई करोड ८५ लाख रुपैयाँ रहेको पालिकाको तथ्यांकमा उल्लेख छ ।


यस वर्ष भने पालिकाको गत २७ भदौमा परिषद् सम्पन्न भए पनि चार महिनादेखि कार्यपालिकाको नियमित बैठक बस्न सकेको छैन ।


पालिकाले हालसम्म १० वटै वडामा २२ किलोमिटर मात्र सडक निर्माण गरेको छ ।