close

‘डाँगी कमरेड’को लोकल कुखुरा

भन्छन्ः देश बिगारेको आरोप लाग्यो अब कृषि सपार्छु

‘डाँगी कमरेड’को लोकल कुखुरा

भन्छन्ः देश बिगारेको आरोप लाग्यो अब कृषि सपार्छु

Trulli
ADVERTISEMENT

उदयपुर– ४९ वर्षदेखि सक्रिय राजनीति गर्दै आएका पदमप्रसाद डाँगीको दैनिकी हिजोआज फेरिएको छ । राजनीतिलाई एकातिर राखेर डाँगी कृषि कर्ममा होमिएका छन् ।


लामो समय कम्युनिस्ट पार्टीको राजनीति गर्दै आएका डाँगी अहिले राजनीति र कृषि कर्मलाई सँगै लैजान लागिपरेका छन् । बागेश्वरी पशुपन्छी तथा माछा फार्म दर्ता गरेर लोकल कुखुरा पालनमा होमिएको डाँगी सुनाउँछन् ।


२०२८ सालमा झापा आन्दोलनबाट उनी नेपाल कम्युनिस्ट पार्टी (माले)मा लागेका थिए । उदयपुरको त्रियुगा नगरपालिका– ६ जलजलेमा बस्दै आएका डाँगी लामो राजनीतिक जीवनसँगै पञ्चायतको अन्तिममा गाउँ समिति सदस्य र बहुदलीय व्यवस्था आएपछि तत्कालीन नेकपा एमालेबाट साविकको देउरी गाउँ विकास समिति वडा– २ को वडा अध्यक्ष भई २०४८ देखि २०५४ सालसम्म काम गरेको सुनाए ।


आफ्नो कृषि कर्मलाई एउटा क्रमभंगता मान्छन् उनी । ‘राजनीति स्थायी व्यवसाय होइन, यो एउटा कालखण्डसम्म गर्ने सेवा हो’, उनले भने, ‘राजनीति समाज सेवा हो, जुन निःस्वार्थ र निःशुल्क गरिन्छ । देश राजनीति गर्नेहरूले बिगारे भन्ने जनतामा रहेको वितृष्णा हटाउन पनि म कृषि कर्ममा  लागेको हुँ ।’


रोजगारीका लागि लाखौं युवा विदेश गएका छन् । राजनीति गरेकाले सबै बिगारे भन्ने जनताको गुनासो हटाउन पनि कृषिलाई व्यावसायिक र मर्यादित बनाउनुपर्नेमा उनले जोड दिए । रोजगारीका लागि विदेश पलायन हुने युवालाई स्वदेशमै आत्मनिर्भर गराउन सकिने उनको दाबी छ । यसले गरिबी निवारणमा पनि सघाउने विश्वास पनि छ उनमा ।

 

सगरमाथा लोकमार्गबाट दुई किलोमिटर दक्षिणमा केही वर्षदेखि दुई बिघा १४ कठ्ठा जग्गा २० वर्षका लागि भाडामा लिएर चार जना मिलेर संयुक्त रूपमा लोकल कुखुरा, टर्की, लौकाट, गिरिराज, कटकनाथ तथा सातवटा पोखरी निर्माण गरी माछा पालन थालेको बताउँछन् ।


अहिलेसम्म ३० लाख रुपैयाँको लागतमा उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहामा रहेको उनको फार्म फैलिँदो छ । वैदेशिक रोजगारीमा जाने युवाहरूलाई रोक्न पनि आफूले कृषि कर्म थालेको बताउँछन् उनी ।


उनको बागेश्वरी पशुपन्छी तथा माछा फार्ममा अबको तीन महिनाभित्रमा ह्याचरी संचालन गर्ने र मासिक १० हजार चल्ला उत्पादन गर्ने लक्ष्य रहेको छ । मासिक १० हजार चल्ला उत्पादन हुन थालेपछि मासिक रूपमा १० लाख रुपैयाँसम्म कमाइ हुने उनको विश्वास छ ।


त्यसपछि भने यहाँ दर्जनौँ युवाहरूलाई रोजगारी दिन सकिने र सयौँ युवाहरू स्वरोजगार हुने उनको दाबी छ । छोटो अवधिमै सोचेभन्दा निकै बढी आम्दानी गर्न सकिने देखिएपछि उनी यसतर्फ लागेका हुन् ।


मिहिनेत र परिश्रम गरे विदेशमा होइन, यहाँ पनि कमाइ गर्न सकिन्छ भन्नेमा उनी ढुक्क छन् । माछा, मासु र अण्डा उत्पादन गर्ने उद्देश्यले कुखुराको फार्म संचालन गरेको पदमप्रसाद डाँगीको भनाइ छ  ।


उत्पादनभन्दा बढी माग आउने गरेकाले माग धान्न मुस्किल हुन थालेको अर्का फार्म संचालक अम्बिकाप्रसाद धमला बताउँछन् । लोकल कुखुरा, टर्की, लौकाट, गिरिराज, कटकनाथ गरी एक हजार ५०० कुखुरा तथा सातवटा पोखरीमा ४८ हजार माछा लगाएको बताउँछन् डाँगी । ‘चल्ला उत्पादन गर्ने ह्याचरी मेसिन भन्सारमा आएर बसेको छ । केही दिनमा नै आउँदै छ । कोभिड– १९ नभएको भए यतिखेर चल्ला उत्पादन भइसक्ने थियो’, डाँगी भन्छन् ।


चारैतिर मसिनो तारले घेराबेरा गरेर बनाइएको आधुनिक खोर तथा खुला चरन क्षेत्र भएकाले कुखुरा राम्रोसँग फस्टाएका छन् । परिश्रम र लगानी फार्ममा देखिने भन्दै व्यवस्थित खोर निर्माणमा स्वरोजगार कार्यक्रममार्फत सरकारी सहयोग भए लोकल कुखुराको स्वस्थकर मासु उत्पादनलाई थप प्रभावकारी बनाउन सकिने उनको भनाइ छ ।


बजारमा लोकल कुखुराको मासु प्रतिकिलो ७०० रुपैयाँले बिक्री हुँदै आएको र यसको माग अझ बढ्दै गएको अवस्थामा सरकारले व्यावसायिक रूपमा कुखुरा पालन गर्न चाहने बेरोजगार युवाहरूलाई युवा लक्षित कार्यक्रममार्फत अनुदान दिनुपर्ने उनको भनाइ छ । बागेश्वरी पशुपन्छी तथा माछा फार्ममा अम्बिकाप्रसाद धमला, पदमप्रसाद डाँगी, जयप्रकाश चौधरी र राकेश चौधरीको संयुक्त लगानीे छ ।


त्यहाँ अहिले छ जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् भने निकट भपिष्यमा नै दर्जनौँले रोजगारी पाउने संचालक धमला बताउँछन् । ‘हामीले पहिलो चरणमा एक हजार २०० विभिन्न जातका लोकल कुखुरा, २५० वटा टर्की, २०० वटा लौकाट, १६४ वटा कटकनाथ, १०० वटा गिरिराज लगाएका छौँ’, उनले भने, ‘मासु भन्दा पनि यसलाई व्यावसायिक बनाउन अण्डा उत्पादन गरी ह्याचरी चलाउने उद्देश्य हो ।’


टर्की, लौकाट, कटकनाथ, गिरिराजका चल्ला महँगो र नपाउने भएकाले त्यसको ह्याचरी संचालन गरी चल्ला उत्पादन गर्ने लक्ष्य उनीहरूको छ ।


मासुका हिबासले पनि लोकल कुखुरा ७०० रुपैयाँ प्रतिकिलो, लौकाट दुई हजार ५०० रुपैयाँ प्रतिकिलो, टर्की दुई हजार रुपैयाँ प्रतिकिलो, कटकनाथ तीन हजार रुपैयाँ प्रतिकिलो र गिरिराज ५०० रुपैयाँ प्रतिकिलो बिक्री हुने गरेको बताए । यस सँगसँगै गाईभैँसी, बोयर जातको बाख्रा, हाँस, अस्ट्रिच पाल्ने लक्ष्य रहेको उनले सुनाए ।


त्रियुगा नगरपालिकाका नगरप्रमुख बलदेव चौधरी त्रियुगा नगरपालिकालार्ई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउने लक्ष्यका साथ पशु तथा कुखुरा पालनका लागि प्रोत्साहन गर्न व्यवसायीहरूलाई गोठ, खोर निर्माण तथा सुधारका लागि आर्थिक अनुदानको पनि व्यवस्था गर्न लागिएको र यसबाट व्यवसायीहरू थप उत्साहित हुन सक्ने बताउँछन् ।