close

चन्द्रशमशेरले छोडेको तामा खोज्दै गाउँको सरकार

नर्जाखानीमा उदाउँदै छ आशाको किरण

चन्द्रशमशेरले छोडेको तामा खोज्दै गाउँको सरकार

नर्जाखानीमा उदाउँदै छ आशाको किरण

Trulli
ADVERTISEMENT

बाग्लुङ– बाउबाजेका पालामा तामा निकालेका सुरुङहरू पाखाभरि देख्दा तमानखोला गाउँपालिका–६ नर्जाखानीका ओमप्रसाद छन्त्याललाई अहिलेभन्दा पहिले स्थानीय जनजीविका समृद्ध थियो भन्ने लाग्छ । स्थानीय औजार प्रयोग गरेर ठूला पहाड काटेर तामा निकालेको भन्ने सुन्दा अचम्म लाग्छ, उनलाई । अहिले गाउँमा स्थानीय रुपमै निकालिएको बिजुली छ ।

 

ठूला मेसिन प्रयोग गर्न सकिन्छ तर घर छेवैमा रहेको वैभव खेर गइरहेको देख्दा उनी आफैंलाई धिक्कार्छन् । वरपर डाँडाहरूले घेरिएको नर्जागाउँमा तामाको ठूलो खानी रहेको स्थानीयको जानकारीमा छ । उनीहरू भन्छन्, ‘पहिले तामा निकालेका धाउहरू देख्दा आजैबाट खानी खन्न सुरु गरौं भन्ने लाग्छ ।’

 

बाउबाजेको पालामा नर्जाखानीमा रहेका तामाखानी उत्खनन् हुँदाहुँदै तत्कालीन श्री ३ चन्द्रशमशेरको पालामा खानीहरू बन्द भएको स्थानीय बयोवृद्ध ओमप्रसादले सुनेका थिए । तमानका जानकारसमेत सोही समय तामाखानी बन्द भएको सुनाउँछन् । छन्त्यालले गाउँ वरपर घेरिएका पहाडमा तामाखानी र टल्कने ढुंगा रहेकाले त्यसको उत्खनन् गर्न सरकार गुहारी रहेको बताए ।

 

‘तत्कालका डिठ्ठाविचारी वर्षवीर छन्त्यालले तत्कालीन श्री ३ चन्द्रशमशेरको पालामा तामा बुझाउन नसकेपछि बन्द गरेको बुबाले सुनाउनुभएको थियो,’ छन्त्यालले भने, ‘अहिलेको प्रविधिले उत्खनन् थाल्ने हो भने यहाँ अर्बौंको सम्पत्ति छ, सरकारले ध्यान पु¥याएन ।’

 

नर्जाखोला गाउँमा वरिपरि रहेको सबै भू–भागमा तामाखानी रहेको उनको दाबी छ । ‘यहाँ रहेको भू–भागमा ठूलो मात्रामा तामा छ,’ उनले भने, ‘स्थानीय, प्रदेश र संघीय सरकारले छिटोभन्दा छिटो खानी उत्खनन् गरेर आत्मनिर्भर भए धेरै राम्रो हुनेछ ।’ स्थानीय विष्णु आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत रहेका छन्त्यालले त्यहाँ रहेको तामाको विषयमा नयाँ पुस्तालाई जानकारी गराउने गरेका छन् ।


‘पहिले बाजेहरूले एउटा घन र छिनाको भरमा ठूला–ठूला भीर काटेर खानी उत्खनन् गर्थे । अहिले नयाँ–नयाँ प्रविधि छ, सरकारले छिटो खानी उत्खनन् गरेर आत्मनिर्भर बन्दै स्थानीयलाई रोजगारी सिर्जना गरे राम्रो हुने थियो,’ उनले भने । तमानखोला गाउँपालिका–६ नर्जाखानीका वडाध्यक्ष कुलबहादुर छन्त्याल गाउँको चारैतिर तामा उत्खनन् गरेका खानीहरू रहेकाले गाउँको नामै नर्जाखानी भएको इतिहास सुनाउँछन् ।

 

तत्कालीन समय छन्त्यालहरूले खानीको उत्खनन् गरेको, कामी, विकहरूले तामाका ढुंगा (धाउ) पगाल्ने र थकालीहरूले तराईबाट खाना ल्याउने अनि धाउ तराई लगेर बेच्ने गरेको इतिहास रहेको उनले बताए । गाउँपालिका र सिंगो देशको आर्थिक विकास पुराना खानी उत्खनन् गरेर गर्न सकिन्छ भन्ने उनको मान्यता छ । छन्त्यालले संघीय सरकारले चासो दिएर खानीहरू तत्काल उत्खनन् गरे आफूहरूले साथ दिने बताए ।

 

‘यहाँ पहिरो जाँदासमेत तामाका धाउ निक्लने गरेका छन्,’ वडाध्यक्ष छन्त्यालले भने, ‘खानी उत्खनन्का लागि स्थानीय सरकारले मात्र सक्दैन । संघीय सरकारले चासो दिए उत्खनन् गर्न सकिने थियो ।’ वडाध्यक्ष छन्त्यालले तामाखानी र महँगो मूल्यमा बिक्री हुने टल्कने ढुंगा रहेको क्षेत्रको वडाले सर्वेक्षण गरिरहेको जानकारी दिए । नर्जाको खानीका विषयमा गाउँपालिकाले चासो त देखाएको छ तर काम भएको छैन ।

 

नर्जाखानीमा पुर्खाहरूले तामा निकालेको अवशेष देखिएकाले त्यहाँका धाउ ल्याबमा लगेर परीक्षण गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।  ‘ल्याब परीक्षणको रिपोर्ट राम्रो आए प्रदेश र संघीय सरकारसँग उत्खनन्का लागि पहल गर्छौं’, उनले भने ।

 

बाग्लुङको सबैभन्दा उचाइको गाउँ तमानखोला गाउँपालिका–६ को नर्जाखानी नै हो । उक्त गाउँ समुद्री सतहदेखि दुई हजार तीन सय ५० मिटरको उचाइमा  छ ।  बाग्लुङ बजारदेखि सवारी साधनमा साढे पाँच घन्टाको यात्रापछि पुगिने उक्त गाउँमा पैदल हिँड्दा भने दुई दिन लाग्छ ।