close

कमला नदीमा भूतमेला

Trulli
ADVERTISEMENT

धनुषा- धनुषा र सिरहाको सीमामा पर्ने कमला नदीमा लाग्ने गरेको भूतमेला सकिएको छ ।


आइतवार बिहानैदेखि धामीझाँक्रीहरु आस्थाका साथ पूजा पाठ गर्दै कमला नदी पुगेका थिए । सोमवार बिहानैदेखि बोक्साबोक्सी र भूतप्रेतबाट पीडितको घुइँचो लागेको थियो । कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ गाउँगाउँबाट भूतमेला भर्न श्रद्धालुको घुइँचो लाग्ने गरेको छ ।

 

स्थानीय प्रशासनले कोरोना संक्रमणको जोखिम बढ्नसक्ने भन्दै भीडभाड नगर्न निषेधाज्ञा जारी गरेपनि सूर्योदयसँगै बिहानैदेखि हजारौँ नवधामीझाँक्रीले कमला नदीमा डुबुल्की लगाई गुरुसँग शपथ लिए ।

 

कमला नदी किनारमा भगत (देउता) खेल्नेको घुइँचो नै लाग्छ । शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीबासका लागि कात्तिक पूर्णिमामा स्नान गर्ने प्रचलन  छ ।


कतिपय कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा आइतबार कमला नदीको तटमा पुगेर राति बास बसेको र सोमवार बिहानै स्नान गरेको श्रद्धालुले बताएका छन् । कमला नदीमा स्नान गरेमा कमलेश्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी स्नान गर्नेको सख्या अत्यधिक हुन्छ ।


भूतमेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आआफ्नो घर लैजाने गर्छन् । मूलधामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पुरा हुने जनविश्वास छ ।


तन्त्रशास्त्रका अनुसार तन्त्रसिद्धिका लागि यस दिन पूर्णाहुति दिने चलन छ । कमला नदीमा आएर शपथ लिएपछि धामीझाँक्री पाको हुने विश्वास गरिन्छ । भारतसहित सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, बारा, पर्सा लगायत ठाउँबाट लावालस्करका साथ उफ्रँदै आएका धामीझाँक्रीले तन्त्रमन्त्र गरेको दृश्य हेर्न निकै ठूलो भीड लाग्ने गर्छ ।