close

मौलिक शैलीमा घर बनाए एक लाख नगद, नक्सापास सित्तैमा

मौलिक शैलीमा घर बनाए एक लाख नगद, नक्सापास सित्तैमा

Trulli
ADVERTISEMENT

 

 

 

काठमाडौं– काठमाडौको शंखरापुर नगरपालिकाले साँखुको पुरानो बस्तीभित्र मौलिक शैलीका घर बनाउनेलाई एक लाख रुपैयाँ प्रोत्साहनका साथै नक्सापासमा छुट दिएको छ ।


साँखुको ऐतिहासिक सम्पदा जोगाउन निजी आवास महत्व भएकाले सो काम गरिएको नगरपालिकाले जनाएको छ ।


ऐतिहासिक, मौलिकताले भरिपूर्ण साँखुलाई  २०७२ को भूकम्पले तहसनहस पारेको थियो  । भूकम्पपछि तंग्रिँदै गरेको साँखुमा हाल पनि मौलिक र परम्परालाई जोगाउन स्थानीय सक्रिय रूपमा लागिपरेका छन् ।


साँखुको ऐतिहासिक नगरीलाई सरकारले पनि सम्पदा बस्तीको रूपमा घोषणा गरेको छ । शंखरापुरको इतिहासलाई जोगाउन यस्तो कार्यक्रम ल्याइएको शंखरापुर नगरकी उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठले बताइन् ।

 

‘मठमन्दिर, पार्टीपौवा पोखरी, ढुंगेधारालगायतको पुनर्निर्माण धमाधम भइरहेका छन्’, उनले भनिन्, ‘मौलिक शैलीमा निजी आवास पुनर्निर्माण गर्नेहरूका लागि नगरपालिकाले एक तल्लाको नक्सापास छुट गरेको छ ।’


हालसम्म करिब ५० परिवारले नगरपालिकाको प्रत्साहन रकम लिइसकेका छन् । सरकारले साँखुलाई सम्पदा बस्तीको घोषणा गरेसँगै स्थनीय सरकारले सम्पदा संरक्षणमा सक्रियता देखाएको छ ।


साँखु काठमाडौंको पूर्वी कुनामा रहेको मणिशैली महावदानअनुसार झन्डै तीन हजार तीन सय वर्षअगाडि शंखदेव राजाको राज्याभिषेकका लागि जगदेव वज्राचार्यको इन्जिनियरिङ आर्किटेक्टको आधारमा निर्माण गरिएको नगर मानिन्छ । श्रीस्वस्थानी व्रतकथामा वर्णित ‘लावण्यदेश’ हालको साँखु नै रहेको मानिएको छ ।


यहाँका परम्परा, संस्कार, ऐतिहासिकता विश्वकै नमुना छन् । प्रत्येक घरबाट निस्कनासाथ चोकैपिच्छेका मन्दिर, पानी चुहिँदै गरेका ढुंगेधारा, बस्तीको चारैतिर द्वार, ऐतिहासिक पोखरी, भगवान्का मूर्तिले सजिएका परम्परागत शैलीका घर र भवन निर्माण भइरहेको देख्न सकिन्छ । यस क्षेत्रमा झन्डै एक दर्जन शिवलिंग छन् ।


शिललिंगबाहेक ठूलो गणेश, नारायण, बूढानीलकण्ठ नारायण, सरस्वती, भीमसेन, राधा रुक्मिणी बल्लभ मोहिनी, उमामहेश्वर रत्न मण्डला आदि रहेका छन् ।


शंखरापुर नगरभित्र कलियुग वर्ष १८०१ साल शुक्लतृतीयाका दिन सात गाउँहरू मिलाई शंखरापुर नगर निर्माण गर्नेछन् भनिएको मणिशैली महावदान ग्रन्थअनुसार साँखु वरपर नागाचा, गुलिमा, शाश, च्वबही, गुदेख्वा, गागल, पावना यी सात गाउँलाई समुच्चय गरी वज्रयोगिनीको आज्ञानुसार त्यतिबेलाका नवौं पुस्ताका पुजारी जोगदेव वज्राचार्यले हालको शंखरापुर नगर बनाएको इतिहास छ । शंखरापुरलाई नेवारी भाषामा ‘सक्व’ भनिन्छ । यही शब्द अपभ्रंश भई ‘साँखु’ भन्न थालिएको बताइन्छ ।