close

आठ महिनापछि खुल्यो हलेसी मन्दिर

आठ महिनापछि खुल्यो हलेसी मन्दिर

Trulli
ADVERTISEMENT


खोटाङ– बन्द गरिएको आठ महिनापछि खोटाङको त्रि–धार्मिकस्थल हलेसी गुफा प्रवेश खुला गरिएको छ । कोरोना भाइरसको महामारीका कारण गत ८ चैतदेखि रोक लगाइएको हलेसी गुफा (मन्दिर) प्रवेश मंगलबारदेखि खुला गरिएको हो ।


कोरोनाको संक्रमण फैलिन सक्ने खतरालाई ध्यानमा राखेर दर्शन गर्न आएका दर्शनार्थीको पुजाआजा नरोकिने गरी हलेसी तुवाचुङ नगरपालिकाले महादेवस्थान रहेको मुख्य गुफा र बसाहा गुफा प्रवेशमा रोक लगाएको थियो ।


महत्वपूर्ण धार्मिक स्थल खुला गरी भक्तजन प्रवेश गराइएको उल्लेख गर्दै नगरपालिकाले सूचना जारी गर्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्दै तिर्थालु भक्तजनहरुलाई मन्दिर प्रवेशमा खुला गरिएको जानकारी दिएको छ ।


हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले मंगलबार जारी गरेको सूचनामा मूल गेटबाट एक पटकमा १० जना दर्शनार्थी मात्र मन्दिरभित्र प्रवेश गराइने, मन्दिर प्रवेशका क्रममा भक्तजनले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने र अनिवार्य भौतिक दुरी कायम गर्नुपर्ने, मन्दिरको भित्री परिसरमा फूल, अक्षता, अगरवत्ती जस्ता पूजाका सामग्री लैजान नपाइने उल्लेख छ ।


त्यसैगरी, पूजा सामग्री नलैजाने व्यवस्थाका लागि मन्दिरको बाहिरी परिसरमा आवश्यक व्यवस्था मिलाइने उल्लेख छ । मन्दिरमा खटिएका स्वयंसेवक तथा सुरक्षाकर्मीले भक्तजनलाई लाइनमा बस्ने लगायतका आवश्यक प्रवन्ध मिलाउने तथा कोभिड–१९ को महामारीले प्रतिकूल असर पर्ने देखिए स्थानीय प्रशासनसँगको समन्वयमा जुनसुकै बेला मन्दिर प्रवेशमा रोक लगाइने नगरपालिकाले जनाएको छ ।


कोरोना कहरबीच हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीका गुफाको फलामे गेटमा ताला लगाएर बाहिरैबाट पुजाआजा गर्ने व्यवस्था मिलाइएको थियो । मन्दिर प्रवेशमा रोक लागेपछि दर्शनार्थीले गेट बाहिरैबाट हलेसीको दर्शन तथा पुजाआजा गर्दै आएका थिए ।


हलेसीको गुफा प्रवेशमा रोक लगाइएको सम्भवत यो पहिलो पटक हो । कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सहयोग पु¥याउने उद्देश्यले नगरपालिका, हलेसी महादेव विकास समिति र मन्दिर व्यवस्थापन समितिको संयुक्त बैठकले अर्को व्यवस्था नभएसम्मका लागि गुफा प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो । मन्दिर प्रवेश खुला गर्ने विषयमा भने नगरपालिका, हलेसी महादेव विकास समिति र मन्दिर व्यवस्थापन समितिबिचमा समन्वय नभएको बताइएको छ ।


हलेसीमा सदियौंदेखि चल्दै आएको नृत्य नैनृत्यलाई भने कोरोना कहरबीच पनि  निरन्तरता दिइएको छ । बाल पुजारीमार्फत बिहान बेलुका गरिने नृत्य नैनृत्य पुजाआराधनाका लागि भने गुफाको गेट नियमित खुलाइएको थियो ।


बाल पुजारी, बाजा बजाउने नगर्ची, सहयोगीका लागि मात्र बिहान र बेलुका हलेसी गुफाको गेट खोल्ने र बन्द गर्ने व्यवस्थालाई नियमित गरिएको नगरपालिकाले जनाएको छ ।