close

खानीखोलाका तीन विद्यालय एक साताका लागि बन्द

खानीखोलाका तीन विद्यालय एक साताका लागि बन्द

Trulli
ADVERTISEMENT

काभ्रे– काभ्रेको खानीखोला गाउँपालिका– ५ ताल्ढुंगा बजार क्षेत्रका केही व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएपछि ताल्ढुंगा आसपासका तीन विद्यालय एक हप्ताका लागि बन्द भएको छ ।

 

खानीखोला गाउँपालिकाको १६ मंसिरको बैठकले कोरोना भाइरस समुदायमा फैलिन नदिन तत्कालका लागि श्री जनविकास मा.वि., ताल्ढुंगा, भन्ज्याङ आ.वि., असन्चुली र जनप्रिय आ.वि. खानीखोला– ६ माझीटार गरी तीन विद्यालय पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो ।


खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलालले पालिकास्थित ताल्ढुंगा आसपासका धेरै व्यक्तिहरूलाई अत्यधिक ज्वरो, रुघाखोकी, झाडापखाला आदि जस्ता कोरोना भाइरसको लक्षण देखिने क्रम बढेको र केही व्यक्तिहरूलाई कोरोना पोजिटिभसमेत भएका कारण विद्यालय बन्द गर्नुपरेको जानकारी दिए ।


गाउँपालिकाले पालिकाका बजार क्षेत्र तथा सबै वडाहरूमा कोरोनाको संक्रमणबाट बच्नका लागि सामाजिक दूरी कायम गरी मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न, साबुन–पानीले हात धुनलगायतका स्वास्थ्य मापदण्डको पालना गर्न सम्पूर्ण सर्वसाधारणमा अनुरोध गरेको छ ।


जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार दुई हजार ९५१ जना कोरोना संक्रमित रहेको काभ्रे जिल्लामा हाल सक्रिय संक्रमितको संख्या २८८ छन् । खानीखोला गाउँपालिकामा भने कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार जना रहेको छ ।