कोरोना अनुभव

मैले गल्ती पो गरेँ कि !


  • change font
  • change font
  • change font

नेपालसहित विश्वभर कोरोनाको प्रकोप तथा महामारी बढिरहेका बेला नेपाल सरकारले जो जहाँ छौँ, त्यहीँ बसेर महान पर्वहरू मनाऔँ भनिरहँदा पनि आफ्नै सवारी साधनमा आउने जाने त हो, के नै फरक पर्ला र ? भन्ने सोच्दै हतारहतार कार्यालयको काम सकेर २७ कात्तिक २०७७ अपराह्न ४ बजेतिर उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट गृह क्षेत्र सुर्खेत जिल्लाको वीरेन्द्रनगरतर्फ नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार तथा दीपावली मनाउनका लागि हिँडियो ।


बाहिरबाट घर जाने भनेपछि उत्साह त हुन्छ नै, तर खै किन हो, यस पटक तिहार मान्न घर जाँदा मन त्यति हौसिएको थिएन । औपचारिकताका लागि मात्र जाँदै पो छु कि ! जस्तो लागिरहेको थियो । लामो दूरी, बिग्रिएको बाटो र बाटोमा गाडीमा खराबी आएका कारण भोलिपल्ट २८ गते साँझ ६ बजे मात्र घर पुगियो ।


घरमा पुगेपछि परिवार, बुबाआमा, छोराछोरी, भाइबुहारीहरू सबै सँगको भेटघाट तथा खानापछि लामो यात्राको थकाइका कारण छिटै सुतियो । शरीर निकै दुखेको र हल्का रुघाखोकी लाग्ला जस्तो भएर राती अलिअलि गाह्रो नै भयो । चिसो बढेको, लामो यात्रा र हावापानीसमेत परिवर्तन भएकाले सामान्य रुघाखोकी र चिसो लागेको होला भन्ने नै भयो ।


भोलिपल्ट बिहान उठ्दा शरीर अलिक भारी भएको, पूरै शरीर दुखेको, टाउको दुखेको र रुघा लागेर नाक बुजिएको थियो । बिहानै बिग्रिएको गाडी बनाएर सुर्खेतको विद्यापुर मामाघरमा आमालाई तिहार मान्नका लागि छाड्न जाने पूर्वयोजनाअनुरूप गाडी बनाएर खाना खाई दिनको १ बजेतिर विद्यापुरतर्फ लागियो ।


बिहानदेखि क्रमशः गाह्रो हुँदै गइरहेकामा विद्यापुरबाट फर्किएर सुर्खेत चिसापानीमा दिदीको घरमा खान खाएर साँझ घर फर्किंदासम्म त रुघाले निकै चाप्यो, खोकी लाग्यो, शरीर दुख्यो र हल्का ज्वरो पनि आयो । लामो यात्रा, थकाइ र चिसो नै होला भन्ने लागेर टाउकोमा तेल ठोकेर, बेसारपानी, साइनेक्स अनि अलेग्रा खाएर सुतियो । राती निकै गाह्रो भएर ज्वरोले बर्बराइएछ । राती राम्रोसँग निदाउन पनि सकिएन र बिहान उठ्दा एकदमै असहज महसुस भयो ।

 

३० गतेका दिन बिहान छतमा घाम तापेर आराम गरिरहेका बेला हाम्रै आचार्य परिवारकी सदस्य दाइकी बुहारीको असामयिक निधन भएको खबर आयो । एकदमै नरमाइलो र दुःख लाग्यो- आफूलाई सन्चो नभएको र जुठो परेर तिहार पनि रोकिएका कारण । एकछिनपछि यसो फेसबुक खोलेर हेर्दा कार्यालयको सवारी चालक केदार कोइरालाले फेसबुकमा आफू कोरोना संक्रमित भएकाले आफूसँग प्रत्यक्ष सम्पर्कमा रहनुहुने सबैलाई सचेत रहन आग्रह गरेर पोस्ट गरेका रहेछन् ।


तुरुन्त उनलाई फोन गरेर बुझ्दा उनी र उपप्रमुख रीता चौधरी दुवै जनालाई २८ गतेदेखि निकै ज्वरो आएका कारण कोराना परीक्षण गर्दा पोजिटिभ आएको रहेछ । चौदण्डीमा रहँदा २७ गतेसम्म उपप्रमुखज्यू र आफूले एउटै गाडी प्रयोग गर्ने गरेको अनि उपप्रमुखज्यूसँग बैठकहरूमा सँगै सहभागी भएको अवस्थामा सवारी चालक र उपप्रमुख दुवै जना कोरोना संक्रमित भएको दुखद् खबर सुन्दा मन अलिक अत्तालियो ।


‘बाघ काराउनु, बाख्रा हराउनु’ भनेजस्तै उहाँहरूलाई शुक्रबारदेखि ज्वरो आएको र आफूलाई पनि शनिबारबाट ज्वरो, रुघा, खोकी, टाउको दुख्ने, शरीर दुख्ने लक्षण देखिएकाले कतै कोरोना नै पो हो कि ! भन्ने शंका उब्जियो । मनमा एक खालको डर, शंका र त्रासले डेरा जमायो ।


यदि आफूलाई फ्याट्ट कोरोना भयो भने घरमा वृद्ध हुनुभएका अनि प्रेसर र थाइराइडका बिरामी बुबाआमालाई सर्ला कि ! दुई महिनाकी छोरीसहितकी सुत्केरी भाइ बुहारी, ससाना छोराछोरी र परिवारका सबै सदस्यहरूलाई सर्‍यो भने त बर्बाद हुन्छ भन्ने लाग्यो ।


अब कोरोनाको शंका भएपछि कोरोना लागे/नलागेको परीक्षण गर्नुपर्‍यो भन्ने लागेर कर्णाली प्रदेश अस्पतालमा कार्यरत साढुभाइ पूर्ण गैरेलाई फोन गरी सबै कुरा बताएँ । २ मंसिरसम्म सार्वजनिक बिदा नै भएकाले ३ गते मात्र परीक्षण हुने कुरा भाइले बताएपछि त्यतिबेलासम्म घरमै अलग्गै बस्न थालेँ तर साना छोराछोरीसहितको संयुक्त परिवारमा भनेजस्तो गरी ‘आइसोलेटेड’ भएर बस्न सम्भव नहुने रहेछ । औषधि प्रयोग र बेसार-पानीको प्रयोगबाट पनि स्वास्थ्यमा सुधार भएन, ज्वरो आइराख्यो, शरीर दुख्न छाडेन र रुघाखोकी पनि औषधि प्रयोग गर्दासमेत कम भएन ।


१ गतेदेखि त नाकले गन्ध र बास्ना थाहा पाउन छाड्यो । खानामा स्वाद आउन छाड्यो र पखाला पनि हुन थालेकाले अब त पक्का कोरोना नै हो भन्ने लाग्यो । तर, विगतदेखि नै निरन्तर रुघाखोकी लागिरहने भएकाले पिनास पो हो कि ! भन्ने पनि लाग्यो । सवारी चालक दाजु ढकबहादुर कार्कीको पनि यस पटक घरमा तिहार नभएकाले सुर्खेतमै बस्ने, सुर्खेत-दैलेख घुम्ने र तिहारपछि एकै पटक फर्किने भन्ने योजनामा पनि तुषारापात भयो ।


अब त आफ्नोभन्दा पनि बिरामी अनि वृद्ध बाआमा तथा ससाना छोराछोरीको पिर पर्न थाल्यो अनि सवारी चालक दाइलाई पनि सर्‍यो भने कसरी व्यवस्थापन गर्ने ? भन्ने डर लाग्न थाल्यो । तर, परीक्षण नै नगरी परीक्षणको नतिजा नआएसम्म यसै भन्न नसकिने भएकाले ३ गते बिहान ८ बजेतिर कालागाउँस्थित कर्णाली प्रदेश अस्पतालमा गएर स्वाब दिइयो र रिपोर्टको प्रतीक्षामा बसियो ।


३ गते नै बुबा र श्रीमती पवित्रालाई पनि ज्वरोसहितका लक्षण देखिन थालेपछि मनमा डर झनझन् बढ्न थाल्यो र ४ गते उहाँहरूको पनि स्वाब परीक्षणका लागि दिएपछि रिपोर्ट आउने प्रतीक्षामा बसियो । रिपोर्ट आउन ढिला भएपछि सवारी चालक दाइ र घरपरिवारसँगको सल्लाहअनुसार चौदण्डीगढी फर्किने भन्ने भई ४ गते दिँउँसो १ बजेतिर सुर्खेतबाट उदयपुरतर्फ निकै लामो र कठिन यात्रासहित ५ गते बिहान १० बजेतिर चौदण्डीगढी पुग्दा आफ्नो कोरोनाको रिपोर्ट पोजिटिभ देखिएको खबर आयो ।


रिपोर्टको खबरपछि एकछिन त संसार नै शून्य भएजस्तो लाग्यो  अनि अब घरपरिवारका सदस्यहरूलाई के हुने हो ? भन्ने डर अनि वृद्ध बाआमा र ससाना केटाकेटीहरूको चिन्ता लाग्न थाल्यो । यदि उहाहरू सबैलाई भयो भने त कसरी बचाउने भन्ने लाग्न थाल्यो । कोरोना पोजिटिभ आएपछि नगरपालिकाले नै संचालन गरेको आइसोलेसनमा बस्ने कि आफ्नै आवासमा बस्ने भन्ने छलफल र सल्लाह हुँदा आफ्नै आवासमा बस्ने भन्ने टुंगो भएपछि फ्रेस भएर खाना खाएपछि घरबाट बुबा र श्रीमती पवित्राको पनि कोरोनाको रिपोर्ट पोजिटिभ आएको दुखद् खबर आयो ।


के गर्ने ? के नगर्ने ? केही सोच्नै सकिएन । ‘हुने हार, दैव नटार’ भनेजस्तै जेजे हुनुछ, भएरै छाड्छ भन्ने लागेर आफैँले आफैँलाई सम्हाल्ने प्रयास गरेँ ।


कोरोनाले नेपालसहित विश्व आक्रान्त पारिरहेको समाचार र सामाजिक संजालमा सम्प्रेषण हुने विषयहरूले मनमा एक प्रकारको डरले डेरा जमाएको थियो । ६० वर्षमुनिका, आफ्नै उमेर समूहका र आफूभन्दा कम उमेरका व्यक्तिहरूको समेत मृत्युको खबरले मन त्यसै अतालिन्थ्यो, डराउँथ्यो । आफूलाई रुघाखोकी लागिरहने र स्वासप्रस्वासमा समेत समस्या आउने भएकाले कोरोनाको अझ बढी डर थियो या भनौँ डर बढाइएको थियो ।


घर परिवारलाई नसरोस् भनी आफू बिरामी अवस्थामै घर छाडेर हिँडियो तर आखिर जे नहोस् भनेको, त्यही नै भएर छाड्यो । घरमा भाइलाई सम्पर्क गरी आवश्यक औषधि तथा अक्सिजनको लेभल हेर्न पर्ल्सअक्सिमिटरको व्यवस्था गर्न लगाएर बुबाआमाको विशेष ख्याल तथा निगरानी गर्न लगाइयो भने यता कार्यालयका सहकर्मी साथीहरूको सहयोगले आफूलाई पनि औषधिलगायतका आवश्यक सामग्रीको व्यवस्थापन गरियो ।


रातभरको लामो यात्रा, अनिँदो र थकाइका बाबजुत पनि आकास्मिक तनावले गर्दा निद्रा लागेन । अब आफू र आफ्नो परिवारका सदस्यहरूलाई कोरोना भएको कुरा सामाजिक संजालमा राखूँ कि नराखूँ ? भयो । धेरैलाई त भएकै कुरा हो नि ! भन्ने सोचिरहेका बेला सहकर्मी संक्रमित साथीहरू केदार कोइराला र नेत्रजीले मलाई पनि ट्याग गरेर फेसबुकमा पोस्ट गर्नुभएछ । त्यसपछि तारन्तार फोन र एसएमएस आउन थालेपछि मैले पनि आफू कोरोना संक्रमित भएको विषय फेसबुकमा पोस्ट गरेँ ।


यसपछि आफूलाई कोरोना संक्रमण भएको घटनाक्रममा दोस्रो अध्याय सुरु भएको जस्तो लाग्यो । फोन, एसएमएस र फेसबुकको पोस्टमार्फत हजारौँ आफन्त, नातेदार, साथीभाइ र शुभचिन्तकहरूको चासो, चिन्ता, डर र आशंका मिश्रित ‘सावधानी अपनाई छिट्टै निको हुनू’ भन्ने शुभकामना र सद्भावले एकातिर हौसला बढायो भने अर्कातिर डर पनि । कति फोन र एसएमएसहरू त उठाउन र जवाफ दिन पनि भ्याइएन होला ।


केही अनुभवी आफन्तहरूले त सुविधा सम्पन्न अस्पताल भएको ठाउँमा जान वा तुरुन्तै काठमाडौं आउन पनि आग्रह गर्नुभयो । कति जनाले त ‘जति बेला जे पनि हुन सक्छ, सतर्क भएर बस्नू, कोठामै अक्सिजन सिलिन्डर राख्नू, पर्ल्सअक्सिमिटरमा अक्सिजनमा लेभल हेरिरहनू, ९० भन्दा तल घट्यो भने खतरा हुन सक्छ अनि एक्कासि शरीरमा अक्सिजनको मात्रा घट्न सक्छ, थाहै नपाई’ पनि भन्नुभयो ।


सबैका कुरा र अनुभव सुन्दा डरडर पनि लाग्यो । एक जना बाल्यकालदेखिको साथीले त पटकपटक फोन गरेर ‘ओई, तँलाई कस्तो छ ? म त कति बेला के पर्छ र कहाँ हिँड्नुपर्छ भनेर मोटरसाइकल ठीक पारेर बसेको छु । तँलाई रुघाखोकी लागिरहन्थ्यो, स्वासप्रस्वासमा पनि समस्या थियो । कोरोना लागेपछि त तँ फ्याट्टै गइहाल्छस् जस्तो लाग्छ यार ! सचेत भएर बस । केही परे तुरुन्तै फोन गरेस् है !’ सम्म पनि भन्यो ।


कतिजनाले ‘घरमा सबै जनालाई के कस्तो छ ? बुबाआमा, बच्चाबच्ची र सुत्केरीको विशेष ख्याल गरिरहनू’ भनेर सम्झाइरहनुहुन्थ्यो । सबैलाई बुबाआमा र बच्चाबच्चीहरू र सुत्केरी बुहारीकै बढी पिर, चिन्ता अनि डर थियो । घरमा पनि सबैजसो नै संक्रमित हुनुभएकाले आफैँआफैँ बिरामी र आफैँआफैँले स्याहारसुसार तथा हेरविचार गर्नुपर्ने अवस्था भयो ।

 

दिनहरू बित्दै गए । कोरोना संक्रमण भएपछि सुरुमा आफ्नै क्वार्टरमा नै आइसोलेसनामा बसिहालियो पछि त कोठामा एक्लै, सुनसान अनि नैराश्य बढ्न थाल्यो । सहकर्मी साथीहरू र उपप्रमुखज्यूले पनि आइसोलेसनमा नाचगान तथा मनोरन्जनसहित एकदम रमाइलो हुन्छ, यतै आउनुपर्‍यो भन्नुभयो । तर, विस्तारै ठीक हुँदै गइरहेकाले आवासमै बस्न सजिलो लागेर पूरा अवधि क्वार्टर आइसोलेसनमा नै बिताइयो । आफूलाई पनि र घरमा बुबा र पवित्रालाई पनि क्रमशः हल्का हुँदै जाँदा विस्तारै आहत भएको मनमा राहत महसुस हुन थाल्यो ।


बुबा र पवित्रालाई पोजिटिभ देखिएपछि ७ गते घरका बाँकी सदस्यहरू र यता सवारी चालक दाइ ढकबहादुर कार्कीको पनि स्वाब परीक्षण गराउँदा घरमा आमा र माइलो भाइ गोविन्दबाहेक कान्छो भाइ बुहारी, माइली बुहारी (जो २ महिनाकी सुत्केरी छन्) र १४ वर्षको छोरा दीपकिरणको पनि कोरोना पोजिटिभ आयो र ११ गतेको स्वाब परीक्षणमा ३ वर्षकी छोरी नित्याकिरणको पनि कोरोना  पोजिटिभ आयो ।


सँगै एउटै घरमा बसेका र सँगै आएका सवारी चालक ढकबहादुर दाइको भने नेगेटिभ आयो । घरमा आफू, बुबा र पवित्रालाई बाहेक अरू सदस्यलाई खासै कुनै लक्षण र समस्या देखिएन भने साना छोराछोरीलाई सामान्य ज्वरो र रुघाखोकीको लक्षण देखिएको थियो ।


यसरी सतर्क रहँदारहँदै र नचाहँदा नचाहँदै आफू, आफ्ना सहकर्मी  र आफ्नो पूरै परिवार कोरोना भाइरसबाट संक्रमित भई १४ दिन लामो एकान्त बास बसाइपछि कोरोनामुक्त भइएको छ ।


लामो समयपछि घरमा गएका बेला परिवारमा घटेको दुखद् घटनाले गर्दा तिहार पनि मानिएन । हुनत तिहार मान्न नै पाएको भए त हामी र हाम्रो परिवारका सदस्यहरूकै कारण अन्य अफन्तहरूलाई समेत कोरोना संक्रमण हुने जोखिम रहन्थ्यो,  त्यसबाटचाहिँ बचियो ।


यसरी आफ्ना कारणले आफू र आफ्नो सबै परिवार कोरोनाले ग्रसित हुनुपर्‍यो । काखमा आउन र बाबासँग घुम्न निकै रहर गर्ने सानी छोरीले रुँदै ‘बाबा, मलाई समाऊ न, मलाई घुम्न लैजाऊ न, मलाई तिमीसँग कस्तो घुम्न मन लागेको छ, नानीलाई नाना लगाइदेऊ न’ आदिआदि भन्दा ‘नानू, बाबालाई सन्चो छैन, कोरोना सर्छ’ भनेर सम्झाउनुपर्दा मन कति कुँडियो होला, कति दुःख लाग्यो होला ?


छोरीले ‘बाबा, मास्क लगाएर समाउनू, घुमाउन लैजानू, मास्क लगाएपछि त सर्दैन’ भन्दै रुँदा पनि नानीलाई नसमाउँदा ती अबोध बालिकाको मन कति रोयो होला ? कति दुःखी भयो होला ? के गर्नु ? नियति र परिस्थिति प्रतिकूल भएको असामान्य अवस्थामा आइपर्ने सबै कुरालाई सामान्य नै मान्नुपर्दोरहेछ ।

 

जे भए पनि कोरोना लाग्ला कि भन्ने डरकै बीचमा सबैजसो लक्षणसहित कोरोना संक्रमित भई कोरोना संक्रमणबाट मुक्त भइरहँदा आफ्ना अनुभव र केही सल्लाहहरू यहाँहरूलाई पनि काम लाग्लान् कि भनेर प्रस्तुत गर्ने कोसिस गरेको छु ।

 

१) आफूलाई नपरुन्जेल सबै कुरा सामान्य आफूलाई परेपछि सबै कुरा विशेष भनेजस्तै मानिसहरूले चर्चा गरेजस्तो यो कोरोना-सोरोना केही होइन भन्ने कुरा र मानिसहरूले कल्पना गरेजस्तो यसले त खत्तमै पार्छ होला, सिध्याउँछ होला भन्ने दुवै खालका कुराको औसत रहेछ कोरोना । मौसमी ज्वरो र रुघाखोकी तथा भाइरल ज्वरोको विकसित अनि परिमार्जित रूप जस्तै रहेछ यो ।


२) कोरोना लक्षणसहित र लक्षणरहित दुवै हुने भएकाले जाडोयाममा अक्सर हामीलाई रुघाखोकी तथा भाइरल ज्वरोको समस्या भइरहने हुँदा रुघाखोकी तथा भाइरल ज्वरोको साथमा स्वाद हराउने, गन्ध हराउने, पखाला हुने र अस्वाभाविक रूपमा शरीर दुख्ने भएमा कोरोना संक्रमण भएको हुन सक्ने प्रबल सम्भावना रहन्छ  । अन्य लक्षण नदेखिए पनि स्वाद र गन्ध हराउने मात्र पनि हुन सक्छ ।


३) कोरोना संक्रमणका बेला चिसोबाट बच्न, रुघाखोकी र ज्वरो नियन्त्रण गर्न नसकिएमा थप अन्य इन्फेक्सन भई निमोनिया, टाइफाईड आदिसमेत हुने जोखिमबाट बच्न रुघाखोकी, ज्वरो र चिसोलाई स्वास्थ्यकर्मी तथा डाक्टरको सल्लाहअनुसारको औषधि तथा पथपरेजबाट नियन्त्रण गर्नुपर्छ ।


४) स्वासप्रस्वासको समस्या र दीर्घरोगका बिरामीहरू थप सचेत भई पर्ल्सअक्सिमिटरको प्रयोगबाट नियमित रूपमा अक्सिजन लेभल हेरिरहनुपर्छ र स्वास्थ्यकर्मीहरूको सम्पर्कमा रहिरहनुपर्छ ।


५) कोरोनाको कुनै उपचार र औषधि नभएकाले यसलाई जित्ने मूल आधार भनेको उच्चमनोबल, आत्मविश्वास, सकारात्मक सोच, आराम र उचित आहारविहार नै भएकाले तनावरहित रूपमा उच्चमनोबल र आत्मविश्वासका साथ कोरोनासँग लड्नुपर्छ ।


६) चिकित्सक वा स्वास्थ्यकर्मीहरूको सल्लाहअनुसार शरीर धेरै दुखेमा, ज्वरो आएमा, टाउको दुखेमा, रुघाखोकी लागेमा त्यसलाई कम गर्ने औषधि खाने गर्नुपर्छ । डायरिया भएमा जीवनजल पिउने गर्नुपर्छ । त्यसैगरी मल्टिभिटामिन, जिंक चक्की, भिटामिन सी, भिटामिन डी र पखालाको औषधि तथा चिकित्सकको सल्लाहअनुसार एन्टिबायोटिक पनि आवश्यकताअनुसार प्रयोग गर्न सकिन्छ ।


७) दिनमा कम्तीमा चार पटक (बिहान खाजा तथा खाना, दिउँसो खाजा र साँझमा खाना) पर्याप्त प्रोटिन युक्तखाना खानुपर्छ । खानामा स्वाद नआए पनि बल गरेर खानुपर्छ ।


८) दिनमा चार-पाँच पटक पानीको वाफ लिने र यसरी वााफ लिँदा उपलब्ध भएसम्म असुरो, निम, तुलसी, बाबरी, सिमली, पारिजात, सयपत्री आदिका पात हालेर वाफ लिने, रुघाखोकीले गर्दा गाह्रो भएमा एक-दुई थोपा सन्चो वा भिक्स मिसाएर वााफ लिनुपर्छ ।


९) कागती -पानीमा मह मिसाएर बिहान-साँझ पिउनुपर्छ ।


१०) उपलब्ध भएसम्म बेसार, नुन, तुलसीको पात, गुर्जो, ल्वाङ, सुकुमेल, ज्वानो, मेथी, जिरा, धनियाँ, दालचिनी, लसुन, अदुवा, हर्रो, असुरो, अमला, बोझो, बिरेनुन, पिप्ला, चिनीलहरो आदि मिसाएर पानीमा बेस्सरी पकाउने र काँडा पानी बनाउने अनि बिहान, दिउँसो तथा साँझ एक-एक गिलास पिउनुपर्छ ।


११) मन तातो पानी पर्याप्त पिउनुपर्छ । जीवनजल हालेर पिउँदा पनि राम्रो हुन्छ ।


१२) रोग प्रतिरोधी क्षमता बढाउन च्यवनप्रास, छोकडा, काजु, बदाम, किसमिस, खजुर, अमला आदि नियमित खानुपर्छ ।


१३) झोलिलो चिज विभिन्न सुप तथा कुखुरा, परेवा, खसीको खुट्टा, बट्टाई आदिको सुप बनाएर पिउनुपर्छ ।


१४) कोरोनाले एकदमै कमजोर बनाउने भएकाले तागतिलो, पोषिलो र प्रोटिनयुक्त खाना र आहारमा विशेष जोड दिनुपर्छ ।


१५) माछामासु, अण्डा, दूध आदि  खानुपर्छ । सिजनल फलफूल (स्याउ, सुन्तला, अनार आदि) तातो पानीमा डुबाएर खानुपर्छ ।


१६) नजिकैको वा पायक पर्ने बीमा कम्पनीबाट आफू र आफ्नो परिवारको कोरोना बीमा गराउँदा राम्रो हुन्छ ।


१७) घामको न्यानोमा बस्ने (बिहानको घाममा भिटामिन ‘डी’ पनि पाइन्छ) र प्रशस्तै आराम गर्नुपर्छ ।


१८) स्वास्थ्यकर्मी, चिकित्सक र एम्बुलेन्सको सम्पर्क नम्बर राखी आवश्वकताअनुसार सम्पर्क र सल्लाहमा रहनुपर्छ ।


१९) बिहान-बेलुका आफूले सक्ने खालका र आफूअनुकूलका शारीरिक व्यायाम, खेल, प्राणायाम र योगाभ्यासहरू गर्नुपर्छ ।


२०) निरास नहुन र  दिक्दारीबाट बच्न आवश्यकताअनुसार मनोसामाजिक परामर्श लिने, गीतसंगीतमा रमाउने, जोक्स भन्ने, नाचगान गर्ने र अन्य मनोरन्जन तथा रमाइलो गरेर आफूलाई फ्रेस तथा तन्दुरुस्त राख्नुपर्छ ।


२१)  राती सुत्ने बेलामा दूधमा बेसार हालेर उमालेर पिउनुपर्छ ।


२२) चिसोबाट बच्न संक्रमण अवधिभर ननुहाउने र नुहाउनै परेमा तातो पानीले नुहाउनुपर्छ ।


२३) आफू र आफूले प्रयोग गर्ने सामान, कोठा आदिको सरसफाईमा विशेष ध्यान दिनुपर्छ ।


२४) कोरोनाको मृत्युदर निकै कम भएकाले उच्च आत्मबल, रोग प्रतिरोधी क्षमताको विकास, प्रतिरोध क्षमता बढाउने आहारको प्रयोग, मनोरन्जन, शारीरिक तथा मानसिक तन्दुरुस्तीसहित कोरोनासँगै रमाएर जिउने गर्नाले नै यसलाई सजिलै जित्न सकिन्छ ।


यी र यस्तैयस्तै उपायहरूको अवलम्बन गरेर कोरोनालाई परास्त गर्न सकिने ज्ञान र अनुभव कोरोनाको संक्रमणले दिलाएको छ यस पटक ।


दुर्भाग्यवस लागेको कोरोनासँगको कठिन संघर्ष अनि लडाइँको क्रममा सौभाग्यवस विना कुनै ठूलो समस्या र क्षति कोरोनालाई पराजित गर्न सफल भइएको छ । स्वासप्रस्वासमा गाह्रो हुनेबाहेकका सबै लक्षणसहित आफू कोरोना संक्रमित हुँदा सुरुका पाँच-छ दिन त निकै कठिन बने तर त्यसपछि क्रमशः सहज हुँदै गयो ।


शरीरमा कमजोरी रहेको, स्वाद र गन्ध पूर्ण रूपमा फर्की नसकेको र खानामा रुचि आई नसकेको अवस्था अहिले पनि छ । कोरोनाको संक्रमण सुरुदेखि संक्रमणमुक्त नभइन्जेलसम्म कतै स्वासप्रस्वासमा गाह्रो हुने त होइन ? राती एक्लै भएका बेलामा यदि त्यस्तो भयो भने के गर्ने होला ? भन्ने चिन्ता र डरले सताई नै रह्यो तर त्यही डरकै बीचमा कोरोना संक्रमणबाट मुक्त भइयो ।


अहिले विश्वमा कोरोनाबाट छ करोड २७ लाखभन्दा बढी संक्रमित, चार करोड ३४ लाखभन्दा बढी निको, १४ लाख ६० हजारभन्दा बढी मृत्यु भएको छ भने नेपालमा दुई लाख ३२ हजारभन्दा बढी संक्रमण, एक हजार ५०० भन्दा बढीको मृत्यु र दुई लाख १३ हजारभन्दा बढी निको भइसकेको सरकारी आँकडा छ । यस आँकडामा नपरेका धेरै व्यक्ति लक्षणसहित वा लक्षणरहित रूपमा कोरोना संक्रमण भई मुक्त भइसकेको अनुमान लगाउन गाह्रो छैन ।


कोरोनाबारेको कसैको भोगाइलाई नै अन्तिम सत्य मानेर सामान्यीकरण गर्न सकिने अवस्था छैन । कोरोनाको लक्षण देखिने, नदेखिने, कोरोनाले कुन हदसम्म च्याप्ने र कस्तो अवस्थामा सर्ने या नसर्ने भन्ने विषय व्यक्ति, परिवेश, स्थान, मौसम र वातावरणअनुसार फरक पर्ने रहेछ । मेरो आफ्नै अनुभवमा मेरो परिवारमा म, बुबा र पवित्रालाई बाहेक अरू सदस्यहरूलाई कुनै लक्षण नै देखिएन, मेरी सानी छोरी र मेरो सानो भाइको छोरा (तीन वर्ष र अढाई वर्ष) दुवै जनालाई एउटै चम्चाले, एउटै भाँडोबाट, कोरोना संक्रमित भएको व्यक्तिले खाना खुवाउँदासमेत मेरी छोरीलाई पोजिटिभ र भाइको छोरालाई नेगेटिभ आयो, जबकि उनीहरू सँगै खाने, खेल्ने, मिल्ने झगडा गर्ने आदि सबै गर्छन् ।


सँगै  गएका, बसेका, सँगै आएका सवारी चालक ढकबहादुर दाइको रिपोर्ट पनि नेगेटिभ आयो । घरमा एउटै भान्सा, एउटै बाथरुम र  एउटै शौचालय प्रयोग गर्ने आमा र माइलो भाइको पनि कोरोना रिपोर्ट नेगेटिभ आयो ।

 
यी प्रतिनिधि उदाहरण र घटनाले यो कोरोना रोग र यसको प्रकृतिबारे केही कुरा हाम्रो अनुमानभन्दा फरक र रहस्यमयसमेत देखिएका छन् । कोरोनाविरुद्धको खोपको पर्याप्त र प्रभावकारी व्यवस्था नभएसम्म यो निर्मूल हुने सम्भावना पनि कम छ । ढिलोचाँडो पालो सबैको आउन सक्ने हुँदा सचेत, सतर्क र लड्नका लागि तम्तयार रहेर बस्नुको अर्को विकल्प छैन ।


जे होस्, कोरोनाको विश्वव्यापी महामारीसँग सामूहिक रूपमा लड्न सचेत तथा सतर्क भई रोग लाग्न नदिनु र लागिहालेमा धैर्य, साहस, उच्चआत्मबल, सकारात्मक सोच तथा उपयुक्त आहारविहारले कोरोनालाई परास्त गर्नु नै आजको यथार्थ र वस्तुगत सत्य हो । अहिले उच्चसतर्कता र सावधानी अपनाएर कोरोनाबाट जीवन बचाउन सके स्वतन्त्रता त पछि जति पनि उपभोग गर्न पाइएला नि त !


अझै पनि मनमा एउटा प्रश्नले घोचिरहन्छ र सायद घोचिरहनेछ- ‘यस पटकको तिहार मनाउन घर नगएको भए त घर परिवारका सबै सदस्यहरूलाई कोरोना संक्रमण हुने थिएन होला नि है ? मबाट नजानिँदो रूपमा गल्ती पो भयो कि ?’