close

भाडाका घरमा गाउँका सरकार

रुकुम पश्चिमका ७३ मध्ये १६ वटा वडाले मात्र बनाए भवन

भाडाका घरमा गाउँका सरकार

रुकुम पश्चिमका ७३ मध्ये १६ वटा वडाले मात्र बनाए भवन

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम– स्थानीय सरकार बनेको तीन वर्ष बितिसक्दा पनि रुकुम पश्चिमका धेरै वडा कार्यालयहरू भाडाका घरमा चलिरहेका छन् । नागरिक सरोकारसँग प्रत्यक्ष जोडिएका वडा कार्यालयहरूको भवन नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको छ ।


चौरजहारी नगरपालिका वडा–१२ का वडाध्यक्ष टीकाराम ओली कार्यालय नहुँदा सेवाग्रहीलाई दिनुपर्ने सेवा प्रवाहमा असजिलो भएको बताउँछन् ।

 

‘वडामा सेवाग्राहीको भीड लाग्छ । कहिले बैठक बसाल्नुपर्ने हुन्छ, सभाहल हुँदैन । वडा कार्यालय निर्माणका लागि संघीय सरकारले समयमै रकम नदिँदा भवन निर्माण गर्न नसकिएको हो’, ओलीले भने ।

 

चौरजहारी वडा– १२ ले कार्यालय सञ्चालनका लागि उपयोग गरिरहेको घरलाई प्रत्येक महिना दुई हजार पाँच रुपैयाँ भाडा तिर्ने गरेको छ । आफ्नै वडा कार्यालय नहुँदा जीर्ण घर र साँघुरो ठाउँबाट वडाहरूले सेवा दिनु परेको बाँफीकोट गाउँपालिका वडा–१ का वडाध्यक्ष हर्कु मल्लले जानकारी दिए ।

 

भवन निर्माणका लागि सबै वडा कार्यालयहरूले डिपीआर भने गरिसकेका छन् । ‘डिपीआर बनेको लामो समयसम्म पनि बजेट नआउँदा अन्योलमा परेका छौं । वार्षिक लाखौं रुपैयाँ वडा कार्यालय सञ्चालनका लागि भाडा तिर्दैमा सकिने गरेको छ’, मल्लले भने ।


वडा कार्यालयका आफ्नै भवन निर्माण नहँुदा स्थानीय तहले नै भाडाबापतको रकम भुक्तानी गर्दै आएका छन् । बजेटका अभावकै कारण वडा कार्यालयहरू निर्माण गर्न नसकिएको मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले बताए ।

 

‘बजेट भए पनि कुनै ठाउँमा भने जग्गा अभाव देखिएको छ’, उनले भने, ‘मुसीकोटले वडा कार्यालय सञ्चालनका लागि वार्षिक पाँच हजारदेखि सात हजार पाँच सय रुपैयाँसम्म वडा कार्यालयहरूलाई दिने गरेको छ ।’

 

७३ वडा रहेको जिल्लाका १६ वडा कार्यालयका मात्रै आफ्नै भवन रहेका छन् । ५७ वडाले भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएका छन् ।


१४ वडा रहेको आठबिसकोट नगरपालिकाका–२ वडाका आफ्नै भवन छन् । १४ वडा रहेको मुसीकोट नगरपालिकाका चार वटा वडाका आफ्नै भवन छन् ।


११ वडा रहेको सानीभेरी गाउँपालिकाको ३ वडाको आफ्नै भवन छ । १४ वडा रहेको चौरजहारी नगरपालिकामा एउटा वडाको मात्रै आफ्नै भवन छ ।


बाँफीकोट गाउँपालिकाका १० मध्य चार वटा वडाले मात्रै आफ्नै कार्यालयबाट काम गरिरहेका छन् ।  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले वडालाई मुख्य पाँच अधिकार दिएको छ । तर, अधिकारसम्पन्न वडा कार्यालयको अवस्था भने बिजोग छ ।