close

अस्पताल बनाउन किन तातेनन् ललितपुरका पाँच स्थानीय सरकार ?

अस्पताल बनाउन किन तातेनन् ललितपुरका पाँच स्थानीय सरकार ?

Trulli
ADVERTISEMENT

ललितपुर– आफ्नै मातहतको अस्पताल नभएका देशका विभिन्न तीन सय ९६ स्थानीय तहमा एकै दिन पाँच, दस र १५ शय्याका अस्पताल निर्माण भइरहँदा ललितपुरको गोदावरी नगरपालिकाबाहेक कुनैपनि पालिकाले अस्पताल बनाउन चासो दिएका छैनन् ।


ललितपुरका ६ स्थानीय तहमध्ये गोदावरी नगरपालिकामा मात्र अस्पताल भवन निर्माण शिलान्यास भएको छ । तीन गाउँपालिका, ललितपुर महानगर र महालक्ष्मी नगरपालिकाले अस्पताल बनाउने सुरसार समेत गरेनन् ।


ललितपुर महानगर सहरी क्षेत्रभित्र रहेको र यहाँ सरकारी तथा गैरसरकारी थुप्रै ठूला अस्पताल भएकाले यो किसिमका कार्यक्रमै छैनन् । महानगर उपप्रमुख गीता सत्यालका अनुसार पाटन अस्पतालसँग सहकार्य गरी महानगरले काम गरेको छ ।

 

महालक्ष्मीमा अहिलेसम्म सरकारी सेवाको रुपमा प्राथमिक स्वास्थ्य केन्द्र मात्रै रहे पनि तत्काल सरकारी अस्पताल निर्माण गर्ने कार्यक्रम नरहेको नगरपालिकाका सूचना अधिकृतले बताए । यसका लागि जग्गा खोज्ने काम भने भइरहेको उनको भनाइ छ ।

 

महालक्ष्मी नगर उपप्रमुख निर्मला थापा लुभुमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई नै २५ शय्याको अस्पतालको रुपमा सञ्चालन गरिएको र अन्य त्यस किसिमका कुनै कार्यक्रमहरू तत्काल नरहेको बताउँछिन् ।  

 

कोञ्ज्योसोम गाउँपालिकामा पालिका स्तरीय अस्पताल शंखुमा राख्ने भनेर सुरुमा तोकिए पनि त्यसलाई स्थानान्तरण गरी पालिका केन्द्र चौघरे लैजाने तयारी भइरहेको गाउँपालिका अध्यक्ष गोपीलाल सिंतानले जानकारी दिए । उनले भने, ‘सकेसम्म आगामी एक महिनाभित्र शिलान्यास गर्ने गरी तयारी थालेका छौं ।’

 

यस्तै, महाँकाल गाउँपालिकाको मानिखेलस्थित खोरभन्ज्याङमा १५ शय्याको पालिका स्तरीय अस्पताल निर्माण सम्पन्न भइसकेको र अब छिट्टै  आवश्यक दक्ष जनशक्ति र उपकरण व्यवस्था गरी सेवा सुरु गरिने पालिका अध्यक्ष रामचन्द्र दाहालले बताए ।  

 

बाग्मती गाउँपालिकाको प्युटारमा प्रदेश सरकारको आर्थिक सहयोगमा १५ शय्याको गाउँपालिका  स्तरीय अस्पताल निर्माण सम्पन्न भइसकेको छ । गाउँपालिका प्रमुख वीरबहादुर लोप्चनका अनुसार अब एक महिनाभित्र अस्पतालको औपचारिक उद्घाटन गरी सेवा सुचारु हुनेछ ।