close

सडकमा संक्रमित भेटिए पहिला कारबाही अनि उपचार !

सडकमा संक्रमित भेटिए पहिला कारबाही अनि उपचार !

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङ जिल्ला प्रशासनले फुङलिङ नगरपालिकामा रुघाखोकी एवं ज्वरोसहितका कोरोनाका शंकास्पद बिरामी, स्वाब लिएका र संक्रमितको सम्पर्कमा रहेकाहरू सार्वजनिक स्थलमा भेटिए सिधै कारबाही गर्ने भएको छ ।


नगरपालिकाले शंकास्पदलाई फुङलिङस्थित संस्थागत क्वारेन्टाइनमा राख्नेछ । कोरोना परीक्षण गरेकाहरूसँगको नजिकमा रहेकाहरूमा संक्रमण फेला परे कोरोना सार्न सघाएको बात लगाएर सार्वजनिक स्थलमै माला लगाउने नीति नगरपालिकाले अगाडि सारेको छ ।


कोरोना नियन्त्रण तथा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउन गएको ताप्लेजुङ उद्योग वाणिज्य संघको टोलीलाई प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले सामूहिक प्रयासले मात्र कोरोनाविरुद्धको लडाइँ जित्न नसकिने बताए ।


‘शंकास्पद अवस्थाका, स्वाब लिएका र पोजेटिभ रिपोर्ट आएकाहरू एकान्तबासबाहेक सार्वजनिक स्थलमा गएको भेटिए प्रशासनलाई जानकारी दिनुस् । उनीहरूलाई कारबाही गर्छाैं,' प्रजिअ चापागाईंले भने ।


कोरोना शंकास्पद सार्वजनिक स्थलमा भेटिए प्रशासनले नियन्त्रणमा लिएर संक्रामक रोग नियन्त्रण ऐनअनुसार कारबाही गर्ने प्रतिबद्धता पनि प्रजिअ चापागाईंले जनाए ।


अहिले ताप्लेजुङमा ३५ सक्रिय संक्रमित छन् । तीमध्ये पाथीभरा याङ्बरकका नौ, सिरिजंघाका दुई र फुङलिङभित्रका बाँकी २४ जना छन् ।


सिरिजंघाका दुईसहित फुङलिङमा २६ र पाथीभरा याङ्बरकमा नौ सक्रिय संक्रमितले स्वास्थ्यलाभ गरिरहेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ ।


ताप्लेजुङ उद्योग वाणिज्य संघले स्वाब संकलन भएका व्यक्तिहरूले नतिजा प्राप्त नभएसम्म र नतिजा पोजेटिभ आए स्वास्थ्यलाभ नभएसम्म होम क्वारेन्टिनमा बस्नुपर्ने प्रावधानलाई कडाइसाथ पालना गर्ने÷गराउने प्रक्रियामा प्रशासनको सहयोग मागेको छ ।


जिल्ला प्रशासन कार्यालयलाई आठबुँदे ज्ञापनपत्र बुझाउँदै संघले शंकास्पद व्यक्तिहरू होम क्वारेन्टिनमा नबसी सार्वजनिक रुपमा हिँड्डुल गर्दा कोरोना संक्रमण बढाउन सहयोग पुग्ने हुँदा नियन्त्रणका लागि प्रशासनको सहयोग मागेको हो ।


संघले राजनीतिक दल तथा भ्रातृ संगठनहरूले समुदायमा गर्ने विभिन्न कार्यक्रमका कारण पनि संक्रमण जोखिम बढेको औँल्याएको छ । यसमा दलहरूसँग सहजीकरण गरिदिन संघले जिल्ला प्रशासनको ध्यानाकर्षण गराएको छ ।


संघका कार्यवाहक अध्यक्ष दिनेश अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा धार्मिक, सांस्कृतिक, खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा हुने अनावश्यक भीड नियन्त्रण गर्न तथा अत्यावश्यक कामबाहेक हिँडडुल नगरी घरमै बसिदिन स्थानीय समुदायलाई अनुरोध गरिएको छ ।


यस्तै, उद्योग, व्यवसाय संचालनका क्रममा मास्क, स्यानिटाइजरसहितका व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग अनिवार्य गर्न र भौतिक दूरी कायम गरी व्यापार व्यवसाय संचालन गर्नसमेत आग्रह गरिएको  छ ।


संघले कन्ट्याक ट्रेसिङलगायत कार्य बढाउन तथा कोरोनाविरुद्धको सामाजिक चेतनालाई प्रभावकारी बनाउन ताप्लेजुङका सबै स्थानीय तहलाई आग्रह गरेको छ ।


‘अब मास्कबेगर आउने सेवाग्राहीलाई पहिलो पटकका लागि व्यवसायी आफैँले दिने र त्यसपछि मास्क, स्यानिटाइजरसहितको प्रयोगलाई अनिवार्य गराउने योजना बनाउँदै छौं’, संघका पूर्वसदस्य तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य सन्तोष खतिवडाले भने ।