close

सुस्तायो भक्तपुरका सम्पदा पुनर्निर्माण, पाँच वर्षमा बल्ल ६० प्रतिशत उपलव्धि

सुस्तायो भक्तपुरका सम्पदा पुनर्निर्माण, पाँच वर्षमा बल्ल ६० प्रतिशत उपलव्धि

Trulli
ADVERTISEMENT

भक्तपुर– २०७२ सालको विनाशकारी भूकम्पले जनधनको निकै ठूलो नोक्सानी गर्‍यो । भौतिक संरचनालाई ध्वस्त बनायो । भूकम्पले निजी संरचना मात्र होइन, सार्वजनिक स्थल तथा सम्पदासमेत तहसनहस बनायो ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्त्व विभाग भक्तपुरका अनुसार नेपालभर ७४३ वटा सम्पदामा क्षति पुगेको थियो । तीमध्ये भक्तपुरमा करिब ७३ वटा सम्पदाहरू क्षति भएका थिए, जसमा २० वटा पूर्ण क्षति, १० वटा आंशिक र ४३ वटा सामान्य क्षति भएको छ ।


तर, पुरातत्त्व विभाग भक्तपुरका अनुसार सरकारले भक्तपुरका ७३ वटा मात्र सम्पदामा क्षति पुगेको तथ्यांक सार्वजनिक गरे पनि सोभन्दा तेब्बर संरचनामा भूकम्पले प्रभावित बनाएको छ ।


यहाँका चार पालिकामध्ये भक्तपुर नगरपालिकामा १४५ संरचना प्रभावित बनेका थिए, जसमध्ये ८८ वटा पुनर्निर्माण कार्य सम्पन्न भइसकेका छन् । सातवटा कार्य भइरहेका र नौवटा प्रक्रियामा छन् ।


मध्यपुर ठिमी नगरपालिकामा २३ वटा संरचना प्रभावित भएका थिए, जसमा पाँचवटा सम्पन्न, नौवटा प्रक्रियामा छन् ।  यसैगरी चाँगुनारायण नगरपालिकामा १६ वटा सम्पदा प्रभावितमध्ये नौवटा सम्पन्न, एउटा सम्पदा कार्य भइरहेको र चारवटा प्रक्रियामा छन् । सूर्यविनायक नगरपालिकामा २९ वटा संरचना भूकम्पले प्रभावित भएका थिए, जसमा सातवटा सम्पन्न र २२ वटा पुनर्निर्माणको प्रक्रियामा छन् ।  


सरकारले पाँच वर्षभित्रमा क्षति पुगेका सम्पदा पुनर्निर्माण सम्पन्न पूरा गर्ने लक्ष्य लिएको थियो । आगामी पुस मसान्तसम्ममा उक्त समयावधिसमेत पुरा हुँदै छ । तर सम्पदा पुनर्निर्माण कार्य अझै ४० प्रतिशत बाँकी छ । विभागका अनुसार भक्तपुरमा गत पाँच वर्षयता ६० प्रतिशत सम्पदाको पुनर्निर्माण सकिएका छन् ।


भक्तपुरका सम्पदा पुनर्निर्माण पुरातत्त्व विभाग र भक्तपुर नगरपालिकाले गर्दै आएको छ । पुरातत्त्व विभागले टेन्डर प्रक्रियामार्फत पुनर्निर्माण गर्दै आएको छ भने नगरपालिकाले उपभोक्ता समिति गठन गरी स्थानीय जनशक्तिको सहभागितामा कार्य गर्दै आएको छ ।


जनशक्ति अभाव तथा कच्चा पदार्थको अभावका कारण पुनर्निर्माण कार्य ढिलासुस्ती भएको सरोकारवाला बताउँछन् । पुरातत्त्व विभागका अधिकृत मोहनसिंह लामाका अनुसार सम्पदा पुनर्निर्माण मौलिक शैलीमा मात्र गर्न पाइन्छ ।


‘मौलिक शैलीमा पुनर्निर्माण गर्नका लागि कहिले जनशक्तिको अभाव हुन्छ त कहिले कच्चा पदार्थको’, उनले भने, ‘हामीले टेन्डरमार्फत काम गर्दै आएका छौँ । अधिकांश टेन्डरकर्ता सडक बनाएर आएका हुन्छन् । उनीहरूलाई ढुंगा मात्र थाहा हुन्छ । तर, आकर्षक तथा बुटेदार ढुंगाका बारेमा जानकारी थाहा नै हुँदैन ।’


उनले दाची अपा, पा अपा बुझ्नका लागि नै समय लाग्ने भएकाले पुनर्निर्माण कार्यमा ढिलाइ भएको बताए । लामाका अनुसार केही सम्पदा पूर्ण रूपमा क्षति भएकाले त्यसको अवशेष छैन । उक्त संरचनाको फोटोसमेत पाउन गाह्रो छ । उनले भने, ‘केही संरचना स्थानीयको सल्लाहका आधारमा बनाउनुपर्ने बाध्यतामा छौँ ।’


भक्तपुर नगरपालिका योजना तथा सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठले कोरोना भाइरसका कारण पुनर्निर्माणका सामग्रीका समस्या भएको बताएका छन् । ‘सीमित जनशक्ति मात्र छन् । उहाँहरू पनि अरू जिल्लामा सम्पदा पुनर्निर्माणका लागि जानुभएको छ’, उनले भने, ‘मौलिक शैलीमा पुनर्निर्माण गर्नका लागि काष्ठकला, दाची अपाको अभाव छ । निर्माण सामग्री सजिलै पाइँदैन ।’


यस्तै अवस्था रहेमा सरकारको पाँच वर्षको लक्ष्य कुन समयमा पूरा हुने यकिन नरहेको विभागका अधिकृत लामाले बताए । उनले भने, ‘पुनर्निर्माण कहिले सक्छ थाहा छैन । यस्तै अवस्था रहेमा पुनर्निर्माण कार्य लामो समयसम्म लाग्न सक्छ ।’