close

गौर नगरका सडकमा नाला निर्माण धमाधम

गौर नगरका सडकमा नाला निर्माण धमाधम

Trulli
ADVERTISEMENT

रौतहट- व्यवस्थित सडक भए पनि नाला निर्माण नहुँदा बर्सेनि बर्खाको समय डुबानको समस्या खेप्न बाध्य रौतहट सदरमुकाम गौरले अब भने मुक्ति पाउने पाउने भएको छ ।


सामान्य बर्खामा पनि पानीको उचित निकास नहुँदा डुबानको समस्या खेप्दै आएका नगरवासीलाई छुटकार दिन गौर नगरका सडकमा नाला निर्माण कार्य अगाडि बढेको हो ।


नगरका घना बस्तीमा नाला निर्माणसँगै सडकलाई अग्लो बनाउन थालिएको गौर नगरपालिका प्रमुख अजयकुमार गुप्ताले बताए ।


गौरलाई स्मार्ट सिटी बनाउने उद्देश्यले नेपाल सरकारको शहरी तथा पूर्वाधार विकास डिभिजन कार्यालय वीरगंजबाट ठेक्का सकारेर आश्रय निर्माण सेवाले गत दुई वर्षदेखि सडक र नाला निर्माण गरिरहेको थियो । तर, नाला निर्माणमा अवरोध आएपछि कामले गति लिन सकेको थिएन ।


अवरोध फुकाएसँगै अहिले नगरका घना वस्तीमा पनि नाला र सडक निर्माणका काम धमाधम भइरहेको नगरप्रमुख गुप्ताले जानकारी दिए ।


पहिलो र दोस्रो प्याकेज गरेर झन्डै एक अर्ब ३६ करोड रुपैयाँको यो परियोजनाको म्याद फागुन मसान्तसम्म छ ।


‘ठेकेदारलाई पटक-पटक ताकेता गरेर निर्माण कार्य अघि बढेपछि भने अब नगरवासीले बर्खायाममा सास्ती पाउने छैनन्’, नगरप्रमुख गुप्ताले भने, ‘आउँदो बर्खामा सडक र नालाका कारण गौर डुबानमा पर्नेछैन ।’


नगरका सडकमा नाला निर्माण गर्दा केही स्थानीयले अदालतमा रिट हालेपछि केही समय अवरुद्ध योजना अहिले सुचारु भएको हो ।


तर, अहिले स्थानीयले आफैँ कम्पाउन्ड वाल भत्काएर नाला र सडक बनाउने कार्यमा सहयोग पु¥याउन थालेको नगरप्रमुख गुप्ता सुनाउँछन् ।


नगरको बाहिरी सडक रिङरोड निर्माण प्रक्रिया अन्तिम चरणमा रहेको र भित्री बाटामा विभिन्न समयमा आएको अवरोध विस्तारै सल्टिएकाले समयमै काम सम्पन्न हुने आशा जगाएको आश्रय निर्माण सेवाका प्रोप्रराइटर रामअश्रे साहले बताए ।


गौर शहरलाई नमुना बनाउने नगरपालिकाको योजनामा सुरुका दुई वर्ष अवरुद्ध रहे पनि अहिले भने सुचारु भएको उनको दाबी छ ।