close

खोरेत रोग उन्मूलन गर्न लुम्बिनी प्रदेश सरकारकाे विशेष कार्यक्रम

खोरेत रोग उन्मूलन गर्न लुम्बिनी प्रदेश सरकारकाे विशेष कार्यक्रम

Trulli
ADVERTISEMENT

रूपन्देही- लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बुटवलले आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न गरिने कार्यक्रम सार्वजनिक गरेको छ ।


बुटवलमा आयोजित कार्यक्रममा निर्देशनालयले चालू आर्थिक वर्षमा पाँच करोड  २७ लाख ६५ हजार रुपैयाँ बराबरको कार्यक्रम सार्वजनिक गरेको हो  ।

 

निर्देशनालयका निमित्त प्रमुख तुलसीराम भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेल कार्यक्रममा सहभागी थिए ।

 

सचिव डा. पौडेलले स्थानीय तहमा किसानमैत्री कार्यक्रम ल्याउँदा बढी प्रभावकारी हुने बताए । ‘किसानको माग र आवश्यकताअनुसार कार्यक्रम ल्याए मात्र बढी प्रभावकारी हुन्छ । प्रदेश मन्त्रालय तथा निर्देशनालयमा बढी कार्यक्रम राख्नुभन्दा स्थानीय तहलाई फोकस गरिनुपर्छ’, डा. पौडेलले भने ।

 

कार्यक्रममा कृषि विकास निर्देशनालयका प्रमुख निर्देशक यामनारायण देवकोटाले  प्रदेश सरकारले किसानमैत्री कार्यक्रम चलाइरहेको बताए । त्यसका लागि मूल्यांकन, अनुगमनमा ध्यान दिनुपर्ने धारणा उनले व्यक्त गरे ।

 

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक तुलसीराम भण्डारीले प्रदेशमा खोरेत रोग उन्मूलनका लागि विशेष कार्य गर्न लागिएको जानकारी दिए ।


‘यसका लागि १२ लाख भ्याक्सिन ल्याउने तयारी छ । प्रदेशभित्रका तराईका छ जिल्लामा खोरेतको भ्याक्सिन लगाउने  तयारी गरेका छौँ’, भण्डारीले भने ।

 

कार्यक्रममा दुग्ध उत्पादक सहकारी संघ रूपन्देहीका अध्यक्ष लेखनाथ पाण्डे, बाख्रापालक किसान संघ रूपन्देहीका अध्यक्ष प्रेमसागर पौडेललगायतले कार्यक्रम संचालन गरेर मात्र सफल नहुने हुँदा अनुगमन व्यवस्था प्रभावकारी हुनुपर्ने आवश्यकता औँल्याए ।