close

विपद् पूर्वतयारीमा जुट्दै धवलागिरि र मालिका

विपद् पूर्वतयारीमा जुट्दै धवलागिरि र मालिका

Trulli
ADVERTISEMENT

म्याग्दी- गत असारको पहिरोबाट अतिप्रभावित म्याग्दीको धवलागिरि गाउँपालिका र मालिका गाउँपालिकाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 


प्राकृतिक विपद् र महामारीको जोखिम आँकलन गरेर क्षति न्यूनीकरण, विपद्पछिको व्यवस्थापनलगायत योजना निर्माण गर्न गाउँपालिका पदाधिकारी, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिकर्मी र सरोकारवालाबीच समूह विभाजन गरेर छलफल गरिएको हो ।

 

सात समूह विभाजन गरेर विपद् न्यूनीकरण, व्यवस्थापनका लागि गर्ने कामका सूची तयार पारिएको छ ।  

 

हरियो वन कार्यक्रमका टिम लिडर भूपमणि दाहालले सरोकारवालाको सुझाव, स्थलगत अध्ययन, जोखिम पहिचान, क्षति न्यूनीकरणका उपाय अनि विपद्पछिको उद्धार, राहत र व्यवस्थापनका लागि योजना तयार पारेर पालिकालाई बुझाइने बताए । 

 

‘पहिरो, कटान, बाढी, भूक्षय, आगलागी, हावाहुरी, हिमपात, असिना, चट्याङलगायतका प्राकृतिक विपद्को पहिचान र क्षति न्यूनीकरणका उपायसहित मंगला, मालिका र धवलागिरि गाउँपालिकाको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउँदै छौँ’, दाहालले भने ।

 

धवलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले गत असारको पहिरोले विपद् व्यवस्थापन योजनाको आवश्यकता महशुस गराएको बताइन् । ‘प्राविधिक ज्ञान, सीप र दक्षता अभावमा योजना नहुँदा विपद् व्यवस्थापनमा कठिनाइ भएको छ’, उनले भनिन् । 

 

मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि पूर्वतयारी तथा योजना आवश्यक परेको बताए । 

 

यूएसआईडीको सहयोगमा पारिस्थितिक प्रणालीमा आधारित अनुकूलन तथा कोभिड- १९ प्रतिकार्यका लागि स्थानीय सरकारको क्षमता विकास कार्यक्रमअन्तर्गत हरियो वन कार्यक्रमले धवलागिरिको मुना र मालिकाको दरवाङमा गोष्ठी आयोजना गरेको हो ।