close

धनुषाका जनप्रतिनिधिलाई प्रश्न : जनताको करले किनेका कुर्सी भाँच्ने ?

धनुषाका जनप्रतिनिधिलाई प्रश्न : जनताको करले किनेका कुर्सी भाँच्ने ?

Trulli
ADVERTISEMENT

धनुषा - विकास निर्माण र जनताका समस्या समाधान गर्न निर्वाचित भएर जिम्मेवारी सम्हालेका गाउँको सिंहदरबारका जनप्रतिनिधिहरूबीचमै बेमेल हुँदा धनुषाका तीन पालिकाको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट अहिलेसम्म आउन सकेको छैन ।


पालिका प्रमुख/अध्यक्ष र वडा अध्यक्षहरूबीच विकास निर्माणको रकममा भागबन्डा नमिल्दा यस्तो अवस्था आएको हो ।


धनुषाको धनौजी गाउँपालिकाका कर्मचारीले तलब सुविधाको माग गर्दैै कामकाज अवरुद्ध बनाएर आन्दोलन गरिरहेका छन् । धनौजीको कार्यपालिका बैठक बसेर समस्या समाधान गर्ने सहमतिमा बैठक डाकियो । तर, मंगलबार बसेको कार्यपालिका बैठकमा भागबन्डाकै कारण पुनः विवाद चुलियो र कुर्सी हानाहानकै अवस्था सिर्जना भयो । 

 

भागबन्डामा कुरा नमिलेपछि सुरु भएको विवादले जनताको करबाट खरिद गरिएका कुर्सी नै तोडफोड भए । वादविवादका कारण कुर्सी तोडफोड भएको विषय उपाध्यक्ष रामवती मण्डलले स्वीकारिन् । 


यसअघि पनि गत वर्षको हरहिसाब पारदर्शी नगरेको भन्दै कार्यपालिका सदस्य सुरेश पण्डितले कुर्सी भाँचेका थिए ।

 

विवादको चुरो भागबन्डा


योजना बाँडफाँटमा भागबन्डा नमिलेपछि धनौजी गाउँपालिकाले अझै बजेट ल्याउन सकेको छैन । १० असारभित्र ल्याइसक्नुपर्ने बजेट कार्यपालिका सदस्यको बेमेलका कारण रोकिँदै आएको छ ।


गाउँसभाका लागि छलफल गर्न मंगलबार नगरप्रमुख बद्रीनारायण सिंहले डाकेको बैठकमा समेत आयव्यय पारदर्शी नगरी भ्रष्टाचार गरेको आरोप उपाध्यक्ष मण्डलले लगाइन् ।


‘गत वर्षको हरहिसाब पारदर्शी छैन । विकासको कामदेखि कोरोना महामारी शीर्षकमा भएका सबै खर्चमा अनियमितता देखिएको छ’, उनले भनिन्, ‘हरहिसाब पारदर्शी नभएसम्म गाउँसभा हुँदैन । हुन दिँदैनौँ ।’

 

गाउँपालिका अध्यक्ष सिंहले कर्मचारी सरुवाका कारण बजेट ल्याउन नसकेको प्रतिक्रिया दिए । ‘कामको मूल्यांकन र अनुगमनको कुरा गर्दा उपाध्यक्षदेखि वडा अध्यक्षहरू सबै रिसाएका हुन्’, सिंहले भने ।

 

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा पनि प्रमुख र उपप्रमुखबीचको टकरावले दुई महिनाअघि नीति तथा कार्यक्रम ल्याइए पनि बजेट भने अन्योलमा परेको छ । 

 

कार्यपालिका सदस्यको अनुपस्थिति देखाएर नीति तथा कार्यक्रम बहुमतले नै पारित गरियो । तर, असन्तुष्ट सदस्यविनै नीति तथा कार्यक्रम ल्याइए पनि बजेटको भने टुंगो लागेको छैन । 

 

पूर्वी धनुषाको कमला नगरपालिकामा पनि जनप्रतिनिधिकै विवादका कारण अझै बजेट आउन सकेको छैन । रकम र योजना बाँडफाँटमा मतभेद हुँदा नीति तथा कार्यक्रम र बजेट आउन नसकेको नगरप्रमुख रामउद्गार गोइतले बताए ।