close

लिखु र खिजिदेम्बाका प्रहरी चौकीको आफ्नै भवन

लिखु र खिजिदेम्बाका प्रहरी चौकीको आफ्नै भवन

Trulli
ADVERTISEMENT

ओखलढुंगा- लिखु र खिजिदेम्बा गाउँपालिकाका दुई प्रहरी चौकीले नयाँ भवन पाएका छन् । गाउँपालिका र जिल्ला प्रहरी कार्यालयको समन्वयमा निर्माण सकिएका दुईवटै चौकी भवन उद्घाटन गरिएको छ ।

 
यसअघि भाडा र साँगुरा कोठामा सीमित चौकीले भवन पाएपछि कार्यसम्पादन तथा सुरक्षा व्यवस्थापनको काममा सहज हुनेछ । भवन उद्घाटन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रदेश प्रहरी प्रमुख तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखको उपस्थितिमा गरिएको लिखु गाउँपालिकाका सूचना प्रविधि अधिकृत द्रोण धमलाले जानकारी दिए ।


लिखुको वडा नं.- ६ स्थित गाम्नाङटार र खिजिदेम्बाको वडा नं.- १ स्थित रगनीमा चौकी भवन निर्माण गरिएको हो । भवन उद्घाटनमा प्रदेश १ प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीसमेत सहभागी थिए ।


खिजिदेम्बाको रगनीमा दुई करोड ३४ लाख २० हजार ६४३ रुपैयाँको लागतमा दुई तल्ले सुविधा सम्पन्न कार्यालय भवन, भान्साघर तथा शौचालयको निर्माण सम्पन्न भएको छ । यसअघि प्रहरी चौकी भाडामा थियो ।


यसैगरी दुई करोड ३४ लाख २० हजार ४९७ रुपैयाँको लागतमा प्रहरी चौकी गाम्नाङटारको दुई तल्ले सुविधा सम्पन्न कार्यालय भवन भान्साघर तथा शौचालयको निर्माण सम्पन्न भएको हो ।


भवनको उद्घाटन तथा निरीक्षणपश्चात कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक कार्कीले गास, बासको उचित व्यवस्था भएसँगै प्रहरी कर्मचारीमा काम गर्ने थप हौसला मिल्ने बताए । उनले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारीहरूले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताउँदै कानुनको परिधिमा रही जन चाहनाबमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशनसमेत दिए ।


भवन उद्घाटनमा गाउँपालिका अध्यक्षहरू लिखुका गोविन्दबहादुर पौडेल र खिजिदेम्बाका वेदबहादुर रोकाले नयाँ भवनबाट दिइने सेवा र सुरक्षा थप प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए ।