close

विकासले नछोएको माझी समुदाय

विकासले नछोएको माझी समुदाय

Trulli
ADVERTISEMENT

खोटाङ - खोटाङको खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चे रसुवाघाटका हर्कबहादुर माझीको जग्गा तेर्सोबाट गाईघाट-दिक्तेल सडक बनेको छ । नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारको संयुक्त लगानीमा २०६७ सालदेखि निर्माण सुरु गरिएको सो सडक हाल कालोपत्रेको चरणमा छ । तर, जिल्लाकै आर्थिक र भौतिक परिवर्तनमा टेवा पुर्‍याउने गाईघाट-दिक्तेल सडकले हर्कबहादुरको जीवनस्तरमा भने कुनै फरक पार्न सकेको छैन । 


यस्तै, सुनकोसी किनारमा रहेका रसुवाघाटकै बाबुराम माझीका लागि पनि आँगनकै सडक ‘हर्ष न विस्मात’को अवस्था छ । जग्गा मिचेर बनेको सडकबाट बाबुरामले कुनै पनि फाइदा लिन सकेका छैनन् । खोटाङ र पूर्वी तराई सडकले छोएको रसुवाघाट आसपासमा होटल तथा व्यवसाय गरेर आर्थिक प्रगति गर्ने स्थानीयको संख्या बढिरहँदा रसुवाघाटका माझी समुदायको अवस्था भने उस्तै छ ।

 

सडकले न उनीहरूको दिनचर्यामा परिर्वतन ल्याएको छ, न त आर्थिक अवस्थामा नै । जग्गा मिचेर सडक बनेको छ । तर, उनीहरूले कुनै पनि प्रकारको व्यापार-व्यवसाय गरेर अवसर सिर्जना गर्न सकेका छैनन् । 

 

बाबुबाजेको पालामा जस्ता थिए, अहिले पनि यहाँका माझी समुदायको अवस्था उस्तै रहेको स्थानीय ध्यानबहादुर माझीले बताए । ‘सडक बन्नु र नबन्नुमा हामीलाई खास फरक छैन’, उनले भने ।


सडकको किनारमा निस्किएर पसल चलाउन थालेका हर्कबहादुर माझी (ख), शुक्र माझी र बाबुराम माझी व्यावसायिक रूपमा जम्न पनि सकेका छैनन् । 

 


लिच्कीराम्चे पुछारमा रहेको रसुवाघाटमा हर्कबहादुर माझी, हरि माझी, सूर्य माझी, वीरबहादुर माझी, सुवास माझी, शुक्र माझीलगायतका नौ घर माझीको बसोवास छ । दिक्तेल-गाईघाट, दिक्तेल-सिमपानी र गाईघाट-सिमपानी सडकको त्रिवेणीका रूपमा रहेको रसुवाघाटमा बजार विस्तारको क्रम तीब्र हुँदा माझी समुदायको अवस्थामा भने कुनै पनि परिवर्तन आउन सकेको छैन । 

 

सडकको किनारा र कुनामा होटल तथा पसल खुल्ने क्रम दिनानुदिन बढिरहँदा माझी समुदायका स्थानीय भने व्यावसायिक लक्ष्यका साथ सडक किनारमा टिक्न नसकेको बाबुराम माझीले बताए ।


पुर्ख्याैली पेसा परिवर्तन गर्दै माझी समुदाय

 

रसुवाघाटका माझी समुदायको मुख्य पेसा नै नदीमा माछा मारेर गुजारा चलाउनु हो । डुंगा चलाउनु, जाल हान्नु, माछा मार्नु उनीहरूको पुख्र्यौली काम हो । रसुवाघाटका माझी आफूलाई धुलिखेले माझी र सुनकोसीबाट तल झरेको ठान्छन् । 

 

नदी धमिलो देखिनासाथ माछा मार्न जाने र नदी सङ्लिएपछि खेतीपातीका काम गर्दै आएका माझी समुदाय पछिल्लो समय मजदुरीका लागि शहर पनि जान थालेका छन् । सडक निर्माण सुरु भएपछि माझी युवाले गाउँमै भरिया र मजदुरको काम पाउन थालेका छन् । 

 

डुंगा चलाउने र माछा मारेर जीविकोपार्जन गर्ने माझी समुदाय पछिल्लो समय भरिया र कुल्ली काममा लागेको स्थानीय हरि माझीले बताए । रसुवाघाटका माझी युवा स्वदेशकै विभिन्न शहरदेखि भारतको मेघालयसम्म काम गर्न जाने गरेका छन् ।


साक्षर माझी कम


अशिक्षा र गरिबीका कारण रसुवाघाटका माझी समुदायले हालसम्म सडकलाई उपयोग गर्न नसकेका हुन् । रसुवाघाटमा बसोवास गर्ने माझी समुदायमा कक्षा १० उत्तीर्ण गरेका कोही माझी युवा छैनन् । ‘पढ्नेबेला कोसी छाडिएन’, हरि माझीले भने, ‘बाआमाले पनि पढाएनन् । त्यही भएर हामीचाहिँ हाम्रा बालबच्चा पढाउँदै छौँ ।’ 

 

शिक्षा एवं चेतनाको अभावमा माझी समुदायलाई सडक विकासले छुन नसकेको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । यही कारण माझी समुदायको बसोवास रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिका- ४ बतासेको भँडारेघाटमा रहेको पञ्चकौशीका प्राविलाई मविमा स्तरोन्नति गरिएको गाउँपालिकाले जनाएको छ । 

 

‘माझी समुदायले श्रमिकका रूपमा मात्र काम गर्दै आए’, गाउँपालिका अध्यक्ष राईले भने, ‘व्यावसायिक बन्न सकेनन् । व्यावसायिक बनाउन प्रयास गरिरहेका छौँ तर उनीहरूसँग जग्गाको अभाव छ ।’