close

कर्णालीको दुःखः योजना पार्टीका नेताका, काम पाउने कार्यकर्ताले मात्र

दलका प्रतिवद्धतालाई गिज्याइरहेछ अध्याँरो स्मार्टसिटी

कर्णालीको दुःखः योजना पार्टीका नेताका, काम पाउने कार्यकर्ताले मात्र

दलका प्रतिवद्धतालाई गिज्याइरहेछ अध्याँरो स्मार्टसिटी

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको सदरमुकाम खलङ्गा बजार अर्थात चन्दननाथ नगरपालिका कर्णाली प्रदेशको दोस्रो सहरको रुपमा पहिचान दिने गरेका छन् राजनीतिक दलका नेताले । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरलाई पहिलो ठुलो सहर र जुम्लाको खलङ्गा प्रदेशकै दोस्रो ठुलो सहरका रुपमा लिने गरेका छन् ।


२०७४ सालमा प्रतिनिधिसभाको निर्वाचन होस् या स्थानीय तहको निर्वाचन घोषणा पत्रमा राजनीतिक दलका नेताले जुम्लाको खलङ्गालाई स्मार्टसिटी, कनेक्टिभिटी र इलेक्ट्रिसिटीको विकास गर्ने उल्लेख गरेका छन् । यही घोषणापत्रको नारा घन्काउदै नेपाली कांग्रेसको तर्फबाट चन्दननाथ नगरपालिकाको प्रमुखमा कान्तिका सेजुवाल विजयी पनि भइन् । मेयर सेजुवालको चुनावी नारा स्मार्टसिटी, कनेक्टिभिटी र इलेक्ट्रिसिटी घोषणा पत्रमा सिमित भयो ।


नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को तर्फबाट गजेन्द्रबहादुर महत प्रतिनिधिसभाको सांसद बने । विकास प्रेमी भनेर चिनिएका नरेश भण्डारी कर्णालीको सांसद विजयी भएर अहिले आन्तरिक मामिला तथा कानुन मन्त्री छन् ।


यहाँको विजुली, सडक, पानी, स्वास्थ्य, शिक्षा, सिचाई लगायतमा विकास होस र दुःख भोग्नु नपरोस् भनेरै राजनीतिक दलका नेतालाई भोट दिएर विजयी गराए ।


भोट (मत) दिएर विजयी गराएको ३/४ वर्ष वित्न लागि सक्दा पनि यहाँका नागरिक स्मार्टसिटी, कनेक्टिभिटी र इलेक्ट्रिसिटी त परै जाओस, न राम्रो विजुली बाल्न पाएका छन् नत फोहोर फाल्ने डम्पिङ साइट नै छ ।

 

भएका विकास निर्माणका काम पनि मेरो तेरो पार्टी भन्दै कार्यकर्ता बाहेक अरुले काम गर्न पाएका छैनन् । कांग्रेसका नेताले ल्याएको विकास कांग्रेसकै कार्यकर्ताले काम पाएको देखिन्छ भने नेकपाले ल्याएको विकास निर्माण भन्दै कार्यकर्ता बाहेक अर्काेको नागरिक वा दोस्रो पार्टीका व्यक्तिले काम पाउने गरेका छैनन् ।


नगरपालिकाबासी एक सातादेखि अध्याँरोमा बस्न बाध्य छन् । यहाँका नागरिक अध्यारोमा बस्न थालेको अहिले मात्रै होइन । हप्ता, महिना हुदै वर्षदिनसम्म पनि अध्यारो खेपिरहेका नागरिकलाई अहिलेको अध्यारो नौलो लाग्न छाडिसक्यो ।  दियालोको भरमा रात काट्छन् ।


घुघुती बिद्युत गृहमा मेसिन बिग्रिएपछि सदरमुकाम खलंगा बजारसहित सिंगो चन्दननाथ नगरपालिका एक सातादेखि अन्धकार छ । वैकल्पिक व्यवस्थाका ल्याइएका डिजेल प्लान्ट पनि इन्धन अभावले थन्किएका छन् ।


एक वर्षअघि सांसद गजेन्द्रबहादुर महतको पहलमा विद्युत् प्राधिकरणले एक करोड रुपैयाँको लगानीमा ३ सय केभीएको डिजेल प्लान्ट जुम्ला पठाएको थियो । विद्युतगृहका उपकरण विग्रिएपछि र इन्धन अभावमा प्लान्ट सञ्चालन हुन सकेन । त्यसयता खलंगा अन्धकार छ ।


२०४० सालमा घुघुतीमा उत्पादित विद्युतगृहको मेसिन जीर्ण भएपछि ४ वर्षअघि तत्कालीन जिल्ला विकास समितिले भारतीय दूतावासको २ करोड ६३ लाख रुपैयाँ बजेटबाट नयाँ मेसिन जडानको काम सुरु गरेको थियो । समितिको कार्यालय खारेज भएपछि निर्माणको काम धकेलियो । डुव्लिकेट (नक्कली) नयाँ मेसिन जडान गरेको एक वर्ष नपुग्दै पटक पटक बिग्रिने गरेपछि यहाँका नागरिकले अँध्यारो खेप्नु परेको छ ।

 
दुईवटै टर्बाइन मेसिन बिग्रिएपछि विद्युत् आपूर्ति ठप्प भएको वितरण केन्द्रका निमित्त प्रमुख हेमन्त साहुले बताए । ‘एउटा मेसिनमा क्वाइल जलेर समस्या आएको छ,’ उनले भने, ‘अर्कोमा बेरिङ भाँचिएको छ ।’ मेसिनको वारेन्टी समय सकिएपछि समस्या मर्मतमा भएको उनले बताए । उनका अनुसार अब मर्मत निर्माण कम्पनीले गर्नुपर्ने हुन्छ ।


वितरण केन्द्रका अनुसार दसैंअघि भारतीय ठेकेदार कम्पनीले एउटा मेसिनको जडान गर्दैगर्दा अर्को मेसिन बिग्रिएको थियो । ठेकेदार कम्पनीका प्राविधिक आएपछि मात्र मेसिन मर्मतको काम सुरु हुने केन्द्रले जनाएको छ ।


डिजेल प्लान्ट सञ्चालनका लागि तेलको व्यवस्था नभएकोले प्राधिकरणसँग अनुरोध गरिएको निमित्त प्रमुख साहुले बताए । ‘मेसिन मर्मत हुन धेरै समय लाग्ने भएकाले तत्कालका लागि डिजल प्लान्ट सञ्चालन गर्न माग गरेका छौं,’ उनले भने, ‘तर अहिलेसम्म केन्द्रबाट कुनै प्रतिक्रिया आएको छैन ।’


विद्युत् प्राधिकरणको लापरवाहीले सदरमुकामबासी लामो समयदेखि अँध्यारोमा बस्नुपरेको नागरिक अगुवा राजबहादुर महतले बताए । ‘भारतीय कम्पनीले गुणस्तरहीन र नक्कली मेसिन जडान गरेपछि हामीले दुःख पाइरहेका छौं,’ उनले भने, ‘एक त लोडसेडिङको चर्को मार छ, त्यसमा पनि महिनौं अँध्यारोमा बस्नुपर्ने बाध्यता छ,’ उनका अनुसार नयाँ मेसिन जडान भएपछि प्रत्येक महिना बिग्रिरहेको छ ।


एक सातादेखि विजुली बन्द भएको जनगुनासो नागरिकबाट आएपछि जिल्लामा बैठक बसेर विग्रेको उकरण मर्मत गर्नुका साथ तत्काल डिजेल प्लाण्ड सञ्चालन गर्न विद्युत प्राधिकरण शाखा जुम्लामा पहल गर्ने र ३३ केभी राष्ट्यि प्रसारण लाईन जडानका लागि यहाँका मेयर सांसद मार्फत प्राधिकरणको प्रदेश कार्यालय सुर्खेतमा पहल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।


सिमित समुदायको नियन्त्रणमा विद्युत आयोजना

 

चन्दननाथ नगरपालिकाभित्र दुईवटा जलविद्युत आयोजना सिमित समुदायको नियन्त्रणमा छन् । वडा नम्बर ३ ढाणथपलास्थित ५८ किलोवाटको जुगाडखोला साना जलविद्युत आयोजना ढाणथपला समुदायको नियन्त्रणमा छ ।


त्यसैगरी चन्दननाथ नगरपालिका–१ तलिचौर, आचार्यवाडा समुदायको नियन्त्रणमा एक सय किलोवाटको ठिन्के साना जलविद्युत आयोजना छ । दुवै आयोजना अहिले सञ्चालनमा छैनन् । आफ्नो समुदाय बाहेक अरुलाई बाल्न पनि दिइएको छैन् ।


चन्दननाथ नगरपालिका–४ सिंगाचौरका बलसिंह नेपाली भन्छन् ‘घर पारीपट्टीको समुदाय (ढाणथपला) रातभरी झिलिमिल हुन्छ तर हाम्रो समुदाय एक सातादेखि अध्यारोमै छौँ । साँझ परेपछि दियालोकै भरमा उज्यालो गर्ने गरेका छौँ ।’

 
यस्तै अध्यारोमा बस्नु परेको पीडा सुनाउन्छन् चन्दननाथ नगरपालिका–९ का भैर गिरी । साविकका तलिउम, महत, कार्तिक स्वामी र चन्दननाथ गाविसलाई मर्ज गरेर २०७१ सालमा चन्दननाथ नगरपालिका बनाइएको हो । ‘गाविसबाट नगरपालिका भएपछि केही सेवासुविधा थपिन्छन् होला भनेर आशा र विश्वास गरेको अहिले सात बर्ष वित्यो तर विजुली बाल्न पाएका छैनौँ,’ गिरी भन्छन्, ‘नगरपालिकाले सेवासुविधा थप्नु भन्दा राजस्व बढायो, अरु केही गरेन ।’


नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतका अनुसार अहिले नगरपालिका भित्र ५८ किलोवाट, एक सय किलोवाट र दुई सय २० किलोवाटका तीन विद्युत आयोजना छन् । तीन जलविद्युत आयोजनामा करिब तीन सय ८९ किलोवाट विद्युत उत्पादन हुन्छ ।  नगरपालिका भित्र ४ हजार २ सय ७१ घरधुरी र २० हजार ८ सय ८४ जनसंख्या छ ।


यिनी तिनै आयोजना मर्ज गरेर सञ्चालन गरेको खण्डमा सवै घरधुरी र बाँकी दुई वडामा पनि विजुली पुग्छ । सरकारी बजेट खर्चेर सिमित समुदायको विजुली नियन्त्रणमा रहन दिनु नहुने आवाज उठेको लामो सयम भएपनि सरोकारवालाको ध्यान त्यतातर्फ गएको छैन ।