close

कहाँ कहाँ खुल्दैछन् काठमाडौंका विद्यालय ?

कहाँ कहाँ खुल्दैछन् काठमाडौंका विद्यालय ?

Trulli
ADVERTISEMENT

काठमाडौँ– विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण आठ महिनादेखि बन्द रहेको विद्यालयहरु सञ्चालनको तयारी भइरहेको छ ।  काठमाडौका अधिकांश नगरपालिकाहरुले  पठनपाठन सञ्चालन गर्ने भएका छन् ।  

 

स्वास्थ्य मापदण्ड अपनाएर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि कतिपय स्थानीय तहले पठनपाठन सञ्चालन गराइसकेका छन् भने कतिपय सुरु गर्ने तयारीमा छन् ।

 

शंखरापुरले विद्यालयललाई नै दियो जिम्मा

 

शंखरापुर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरी आफ्नो अनुकूलता हेरेर पठनपाठन सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेको नगरप्रमुख सुवर्ण श्रेष्ठले जानकारी दिए  ।


‘हामीले मिति नै तोकिएर विद्यालयमा पठनपाठन सुरु गर्नु भनेर भन्न मिल्दैन । कतिपय शिक्षक बाहिरबाट आउनुपर्ने हुन्छ’,  प्रमुख श्रेष्ठले भने । यहाँँ २३ वटा सामुदायिक र ६ संस्थागत विद्यालय छन् ।

 

तारकेश्वरले २१ मंसिरबाट खोल्ने

 

तारकेश्वर नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर २१ मंसिरबाट विद्यालय सञ्चालन गर्ने भएको छ । एकै पटक धेरै विद्यार्थी भेला गराउँदा संक्रमणको जोखिम हुने भएकाले बिहान र बेलुका दुई समयमा आलोपालो गरेर विद्यालय खोल्ने तयारीमा रहेको शिक्षा शाखाप्रमुख होमनाथ न्यौपानेले बताए ।


कीर्तिपुरमाम १५ पुसवाट पढाइ

 

कीर्तिपुर नगरपालिकालले संक्रमणको जोखिम कायमै रहेकाले तत्काल विद्यालय खोल्ने तयारीमा नरहेको जनाएको छ । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख रमेश महर्जनका अनुसार, दुईचार दिन विद्यालयमा पढाइ शुरु गरेर फेरि बन्द गर्ने स्थिति नआओस् भन्ने उद्देश्यले तत्काल विद्यालय खोल्ने तयारी नगरेको बताए । उनले भने,‘ जाडो पनि बढिरहेको छ । अलि न्यानो समय आउँछ । पुसको १५ तिरबाट मात्र विद्यालय सञ्चालन गर्ने तयारीमा छौँ ।’
 


कागेश्वरीमा २१ गतेबाट

 

कागेश्वरी मनोहरा नगरपालिकाले २१ मंसिरबाट विद्यालय सञ्चालन गर्ने भएको छ । जोरबिजोर प्रणाली लागू गरेर स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा रहेको नगरप्रमुख कृष्णहरि थापाले जानकारी दिए । संक्रमण बढी भएको क्षेत्रमा विशेष स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको बताइएको छ ।

 

टोखा भन्छः हतार छैन

 

टोखा नगरपालिकाले भने केही स्वास्थ्य सुरक्षा मापदण्ड बनाएरमात्र विद्यालय खोल्ने तयारी गरिएको नगरप्रमुख प्रकाश अधिकारीले बताए   । ‘हतारमा विद्यालय सञ्चालन गर्दा संक्रमणको जोखिम झन् बढ्न सक्छ ।’

 

नागार्जुनमा सुरसार छैन

 

नागार्जुन नगरपालिकाले तत्काल विद्यालय नखोल्ने भएको छ । संक्रमणको जोखिम बढिरहेकाले विद्यालय खोल्ने निर्णय गरी नसकेको नगरप्रवक्ता थुमराज केसीले बताए ।


खोलियो गोकर्णेश्वरका स्कुल

 

गोकर्णेश्वर नगरपालिकाले आजदेखि विद्यालय खोल्ने भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले बताए ।  बूढानीलकण्ठ नगरपालिकाले विद्यालयको क्षमता र विद्यार्थी संख्या हेरेर विद्यालय खोल्ने तयारीमा रहेको जनाएको छ ।

जनप्रतिनिधि र अभिभावकबीच छलफल गरी केही स्वास्थ्य सुरक्षा मापदण्ड बनाएरमात्र विद्यालय सञ्चालन गर्ने तयारीमा रहेको नगरप्रवक्ता नवराज भट्टराईले जानकारी दिए ।


दक्षिणकालीका पनि खुले
 
दक्षिणकाली नगरपालिकाले आइतबारदेखि विद्यालय संचालन गरेको छ । आवश्यक सरसफाइ र सामाजिक दूरी कायम गरी खोल्न भनिएको नगरप्रमुख मोहन बस्नेतले जानकारी दिए । कोरोनाको विषयलाई कोर्षकै रूपमा ३० मिनेट जानकारी दिइनेछ साथै आलोपाले गरी विद्यालय संचालन गर्ने तयारी रहेको नगरप्रमुख बस्नेतले जानकारी दिए ।    

 

महानगरले अहिले नखोल्ने

 

काठमाडौं महानगरपालिकाले तत्काल विद्यालय नखोल्ने भएको  छ ।  महानगरपालिकाभित्र जोखिम बढी छ । त्यसैले स्वास्थ्य विज्ञ, शिक्षाविद्लगायतसँग छलफल गरेर मात्र विद्यालय खोल्ने निर्णय गर्ने सकिने काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नवराज ढकालले जानकारी दिए ।