close

जुम्लाको चन्दनाथसँग साइनो गाँस्दै काठमाडौं महानगर

जुम्लाको चन्दनाथसँग साइनो गाँस्दै काठमाडौं महानगर

Trulli
ADVERTISEMENT

काठमाडौँ - काठमाडाैँ महानगरपालिकाले जुम्लाको चन्दनथान नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने भएको छ । केही दिनअघि रामग्राम नगरपालिकासँग अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापना गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले चन्दननथासँग पनि छिट्टै औपचारिक रूपमा भगिनी साइनो स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गरिने बताए । 

 

महानगरप्रमुख शाक्यले दुई नगर क्षेत्रभित्रका जीवन्त संस्कृति, सम्पदा र पर्यटकीय, पर्यावरण क्षेत्रको संरक्षण, प्रवर्द्धन, विकास एवं प्रचार प्रसारमा सहकार्य गरिने जानकारी दिए । उनले भने, ‘काठमाडौँमा धेरै मूर्त तथा अमूर्त संस्कृति, सम्पदा छन्, मानव निर्मित सम्पदाले धनी काठमाडौँ सांस्कृतिक सहर र कर्णालीको दुर्गम नगरपालिका चन्दनथानबीच भगिनी सम्बन्ध स्थापना गरिनु आफैँमा सकारात्मक छ ।’

 

प्रकृति र पर्यावरणको समुचित सन्तुलनबिना मानव समाजको अस्तित्व नै संकटमा पर्न सक्ने कुरालाई मनन गर्दै आपसी सहकार्य, ठोस योजना तथा नतिजामुखी क्रियाकलाप सञ्चालनका लागि साझेदारी गर्न चाहेको उनको भनाइ छ । 

 

शाक्यले यसअघि काठमाडौँ महानगरपालिकाले विश्वका विभिन्न नगरसँग भगिनी सम्बन्ध स्थापना गरेको स्मरण गराउँदै संघीयतालाई सार्थक र थप बलियो बनाउन पछिल्लो समय स्वदेशकै नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रयास अघि बढाएको जानकारी दिए ।

 

महानगरले यसअघि नगर-नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँका १० वटा नगर, भक्तपुरको मध्यपुर ठिमी र रामग्राम नगरपालिकासँग केही साझेदारीका काम अघि बढाएको छ ।

 

‘चन्दननाथसँग पनि भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय काठमाडौँ महानगरले यसअघि नै गरिसकेको छ । उपयुक्त समय हामी दुई नगरबीच सझदारीपत्रमा हस्ताक्षर गर्न तयार छौँ’, नगरप्रमुख शाक्यले भने । 

 

भगिनी सम्बन्ध स्थापनापछि जुम्लामा उत्पादित बहुमूल्य जडीबुटी, स्याउ, सिमी, ओखरलगायतका प्रांगारिक कृषि उत्पादनको बजारीकरण, व्यवस्थापन आदि विषयमा पनि सहकार्य गर्न सकिने शाक्यले बताए । 

 

उनले भने, ‘रारा, सेफोक्सुण्डोजस्ता ताल जाने बाटोमै रहेको चन्दननाथसँग धार्मिक पर्यटनसँग समेत जोडेर मुलुकको अर्थतन्त्रलाई समृद्ध बनाउन सकिन्छ ।’ 

 

चन्दनथान नगरपालिका प्रमुख कान्तिका सेजुवालले स्रोत-साधनले सम्पन्न काठमाडौँ महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्न पाएकामा खुसी व्यक्त गरिन्।