close

अब जलजला गाउँपालिकाको आफ्नै प्रहरी

अब जलजला गाउँपालिकाको आफ्नै प्रहरी

Trulli
ADVERTISEMENT

म्याग्दी - पर्वतको जलजला गाउँपालिकाले आफ्नै प्रहरी बनाएकोे छ । गाउँपालिका कार्यालयको सुरक्षा र सार्वजनिक सम्पत्तिको संरक्षणका लागि तीन जना नगर प्रहरी भर्ना गरेको हो । आवेदन संकलन गरेर प्रतिस्पर्धामार्फत एक जना प्रहरी सहायक निरीक्षक, एक जना हवल्दार र एक जना जवान भर्ना गरिएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले बताए ।

 

स्थानीय तहले नगर प्रहरी भर्ना गर्न पाउने संवैधानिक व्यवस्थाअनुसार कानुन पारित गरेर गाउँपालिकाले गत भदौमा आवेदन खुलाएको थियो । आवेदन दिएकालाई कार्यविधिअनुसार परीक्षा र प्रतिस्पर्धाबाट प्रहरी भर्ना गरिएको हो ।

 

प्रहरी सहायक निरीक्षकमा जलजला- ७ का साहिल आचार्य, हवल्दारमा वडा न.- ४ का राजेश सुवेदी र जवानमा वडा नं.- २ का रोशन कार्की नियुक्त भएका छन् । नगर प्रहरीमा भर्ना हुन १०० जनाभन्दा बढी प्रतिस्पर्धामा सहभागी थिए । 

 

‘स्थानीय तहको संवैधानिक अधिकारअनुसार जलजलाले गाउँसभाबाट पारित गरेको कानुन र कार्यविधिअनुसार नगर प्रहरी नियुक्त गरेको हो’, गाउँपालिकाका अध्यक्ष मल्लले भने, ‘आन्तरिक सुरक्षा प्रवर्द्धन र सार्वजनिक सम्पत्तिको संरक्षणका लागि आफ्नै प्रहरी आवश्यक परेको हो ।’ 

 

नगर प्रहरीलाई कार्यविधिअनुसार पारिश्रमिक र अन्य सुविधा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । जलजलाका प्रहरी सहायक निरीक्षक साहिल आचार्यले गाउँपालिकाको कार्यालय सुरक्षा, पार्किङ व्यवस्थापन र सार्वजनिक सम्पत्तिको संरक्षणमा पदाधिकारीको निर्देशनअनुसार काम गर्ने बताए ।

 

जलजलाले साविकको धौलागिरि क्षेत्रमा पहिलो पटक नगर प्रहरी भर्ना गरेको हो । अन्य स्थानीय तहले नगर प्रहरी भर्ना गर्ने कानुन पारित गरेका छन् तर नगर प्रहरी भर्ना गर्ने प्रक्रिया सुरु गरेका छैनन् । म्याग्दीको बेनी नगरपालिकाले तीन वर्षअघि नगर प्रहरी भर्ना गर्ने निर्णय गरे पनि कार्यान्वयन गरेको छैन । 


योजना कार्यान्वयन सुरु


जलजला गाउँपालिकाले चालु आर्थिक वर्ष २०७७/०७८ मा बजेट विनियोजन भएका योजना कार्यान्वयन थालेको छ । गाउँसभाबाट बजेट विनियोजन भएका १८९ वटामध्ये बिहीबारसम्म १५ वटा योजनाको सम्झौता भएको योजना शाखाका प्रमुख गोविन्द जीसीले जानकारी दिए । 


सर्वेक्षण र लागत अनुमान तयार पारेर उपभोक्ता समितिका साथै ठेक्का प्रक्रियाबाट योजना कार्यान्वयन सुरु गरेको हो । जलजलामा चालू आर्थिक वर्षमा पुँजीगत शीर्षकमा १३ करोड ४८ लाख २५ हजार रुपैयाँ विनियोजन भएको छ ।


माझफाँटमा औद्योगिक ग्राम


जलजला गाउँपालिकाले वडा नं.- २ माझफाँटमा औद्योगिक ग्राम बनाउने प्रक्रिया सुरु गरेको छ । माझफाँटमा व्यवस्थापन गरिएको २५० रोपनी जग्गामा औद्योगिक ग्राम स्थापना गर्न संघीय सरकारले पठाएको ९२ लाख रुपैयाँ बजेट कार्यान्वयनका लागि ठेक्का आह्वान गरेको छ । 


प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले चालू आवमा औद्योगिक ग्रामका लागि छनोट गरिएको जग्गामा घेराबारा पर्खाल, प्रवेशद्वार र जग्गा व्यवस्थापन गर्न बोलपत्र आह्वान गरिएको जानकारी दिए । गाउँपालिकाभित्र रहेका साना तथा घरेलु उद्योग संचालनका लागि औद्योगिक ग्राम स्थापना गर्न लागिएको हो ।

 

औद्योगिक ग्राममा हेल्थपोस्ट, चमेना गृह, कार्यालय भवन, प्रदर्शनी हल, सुरक्षा गार्ड भवन, अग्नि नियन्त्रण, बैंकलगायतको व्यवस्था हुनुका साथै १७ वटा प्लट बनाउन लागिएको छ ।