close

तलब बढाइदिन गाउँपालिकासँग शिक्षकको हारगुहार

तलब बढाइदिन गाउँपालिकासँग शिक्षकको हारगुहार

Trulli
ADVERTISEMENT

खोटाङ - खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा कार्यरत प्रारम्भिक बालविकास केन्द्रका सहयोगी कार्यकर्ताले तलब वृद्धिको माग गरेका छन् । 

 

हाल सरकारले उपलब्ध गराउँदै आएको तलब न्यून भएको केन्द्रमा कार्यरत बालविकास शिक्षक संगठनले गाउँपालिकाको ध्यानाकर्षण गराएको हो ।

 

सरकारले श्रमिकको ज्यालासमेत १३ हजार ४५० रुपैयाँ तोकेको अवस्थामा वालबिकास शिक्षकलाई दिइएको मासिक ६ हजार तलब समयसापेक्ष नभएको संगठनले पालिकालाई पठाएको खुला पत्रमा उल्लेख छ । 

 

बालविकास शिक्षकले दीर्घकालिन रूपमा संघीय शिक्षा ऐनमार्फत आफ्नो पेसागत स्थायित्व हुने व्यवस्था मिलाउन गाउँपालिकासमक्ष माग गरेका छन् ।

 

‘श्रमिकको ज्यालासमेत १३ हजार ४५० रुपैयाँ तोकिएको अवस्थामा स-साना बालिकाको भविष्यको जग निर्माण गर्ने जिम्मेवारी लिएका बालविकास शिक्षकलाई मासिक ६ हजार दिइँदा मर्कामा परेका छौँ’, खुला पत्रमा भनिएको छ, ‘तसर्थ समयसान्दर्भिक तलबभत्ता व्यवस्थापन गरिदिन माग गर्दछौँ ।’ 

 

७ वडा रहेको गाउँपालिका आफैँले पनि १३ जना बालविकास शिक्षक नियुक्त गरेको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बालविकास शिक्षकलाई तलब बढाउने तयारी गरिरहेका बेला कोरोना महामारी सुरु भएकाले नसकिएको बताए । 

 

‘बालविकास शिक्षकको तलब बढाउने तयारी गरेका थियौं तर कोभिड सुरु भएपछि सबै पैसा त्यसमै खर्च गर्नुपर्‍यो,’ अध्यक्ष राईले भने, ‘मासिक ६ हजार रुपैयाँ भनेको शिक्षकको अवमूल्यनै हो । आगामी वर्षदेखि श्रमको उचित सम्मान गर्छौं ।’ 


२०७६ कात्तिकमा हलेसी तुवाचुङ नगरपालिकामा कार्यरत प्रारम्भिक बालविकास केन्द्रका सहयोगी कार्यकर्ताले पनि तलब वृद्धिको माग गरेका थिए । 


हाल राज्यले उपलब्ध गराउँदै आएको सेवा-सुविधा काम भएको भन्दै बालविकास केन्द्रका सहयोगी कार्यकर्ताले संघीय सरकारले अर्को व्यवस्था नगरेम्मका लागि प्राथमिक शिक्षकसरहको तलब व्यवस्था गर्न माग गरेका थिए । 

 

नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा प्रत्येक सहयोगी कार्यकर्तालाई मासिक १ हजार खाजा भत्ता दिने भने निर्णय कार्यान्वयनमा ल्याएको छ ।