close

चन्दाले चलेको विद्यालयका विद्यार्थीले पाए न्यानो कपडा

चन्दाले चलेको विद्यालयका विद्यार्थीले पाए न्यानो कपडा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - ताप्लेजुङको फुङलिङ नगरपालिका वडा- ९ हाङ्देवाको बुङ्कुलुङस्थित गोन्पा (भाषा) विद्यालयमा बौद्ध शिक्षा अध्ययन गर्दै आएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

 

बुङ्कुलुङ भोटे गाउँमा रहेको साङ्क देछ्योलिङ सामुदायिक गोन्पा विद्यालयमा अध्ययनरत १ सय ५ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । 

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दाबा शेर्पाका अनुसार बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका अध्यक्ष फुफुछेम्बे शेर्पाको आर्थिक सहयोगमा न्यानो कपडा वितरण गरिएको छ । 

 

स्थानीयबासी भिक्षु फुफुछेम्बेलाई नेपाल सरकारले केही समयअघि मात्र बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको अध्यक्ष नियुक्त गरेको थियो । 

 

ताप्लेजुङमा बौद्ध शिक्षाको अध्यापन गराउने सो विद्यालय जिल्लाभरिकै एक मात्र बौद्ध भाषा विद्यालय हो । कक्षा ६ सम्म अध्यापन हुँदै आएको यो भाषा विद्यालयलाई सरकारको स्वीकृति रहे पनि स्थायी शिक्षक छैनन् ।

 

व्यवस्थापन समितिका अध्यक्ष शेर्पाका अनुसार विद्यालयमा ७ शिक्षक र १ जना सहयोगी छन् । तीमध्ये १ शिक्षकको मात्रै न्यूनतम तलबभत्ता नेपाल सरकारले भाषा विद्यालय अनुदानमार्फत उपलब्ध गराउँदै आएको छ ।

 

विद्यालय सञ्चालन खर्च स्थानीय र विभिन्न दाताहरूले जुटाइदिने गरेका छन् । ‘विद्यालयको भवनदेखि शिक्षकको तलबसम्म दाताहरूकै भरमा चलिरहेको छ’, अध्यक्ष शेर्पाले भने ।