close

झापामा पाइप लाइनबाटै पेट्रोल

झापामा पाइप लाइनबाटै पेट्रोल

Trulli
ADVERTISEMENT

झापा - भारतको सिलगुडीदेखि झापासम्म दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइप लाइनको रुट तय भएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनको अध्ययनले सुझाएका तीन विकल्पमध्ये मुख्य राजमार्ग भएरै पेट्रोलियम पाइपलाइन आयोजना अघि बढाउन लागिएको आयल निगमले जनाएको छ ।

 

यो पाइपलाइन नेपालतर्फ १५ र भारतमा २५ गरी ४० किलोमिटर लामो हुनेछ । ‘भारतीय टोलीले नेपाललाई ३ वटा रुटबाट जान सकिने भनेर सुझाएको थियो । नेपाल-भारत सीमाको मेची नदीसहित भारततर्फको नदी माथिबाट पाइपलाइन जोड्न सकिने देखिएको छ,’ निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने ।

 

झापाको भद्रपुर नगरपालिकाअन्तर्गत चारआलीमा एलपीजी भण्डारण र बोटलिङ प्लान्ट तथा प्रदेश १ मा ९० दिनलाई पुग्ने पेट्रोलियम भण्डारण आयोजनाको अध्ययन सुरु भएको निगमले बताएको छ । 

 

चार हजार मेट्रिक टनको एलपी ग्यास भण्डारण र बोटलिङ प्लान्ट निर्माण गर्न अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त भई काम अघि बढेको प्रवक्ता उपध्यायले बताए ।

 

‘प्रारम्भिक अध्ययन सकिएकाले तीन महिनाभित्र विस्तृत इन्जिनियरिङ अध्ययन सम्पन्न गरेर सरकारलाई लागतसहितको प्रतिवेदन बुझाउँछौँ’, उपाध्यायले भने ।

 

जीटूजीमार्फत परियोजना अघि बढ्ने भएकाले सरकारले यसबारे थप निर्णय लिने प्रवक्ता उपाध्यायको भनाइ छ ।