close

गाउँपालिकाले लिएको शिक्षक जाँचमा अधिकांश फेल, ५० अंक पनि ल्याएनन् प्रत्यासीले

गाउँपालिकाले लिएको शिक्षक जाँचमा अधिकांश फेल, ५० अंक पनि ल्याएनन् प्रत्यासीले

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको खोटेहाङ गाउँपालिकाले सामुदायिक विद्यालयका लागि शिक्षक छनौट गरेको छ । सामुदायिक विद्यालयका रिक्त दरबन्दीमा गाउँपालिकाले करारमा शिक्षक नियुक्ति गरेको हो ।

 

पाँच विद्यालयमा सात जना शिक्षक नियुक्तिका लागि शुक्रबार सञ्चालन गरिएको शिक्षक छनौट परीक्षामा तीन जना मात्र उत्तीर्ण भएको गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।

 
भगवती दिनानाथ मावि खोटाङ बजारमा मावि तहको विज्ञान शिक्षक एक जना, सप्तकन्या मावि चिप्रिङमा आधारभूत तहको अंग्रेजी शिक्षक एक जना र सावाकाली मावि सावाकटहरेमा प्रावि तहको एक जना शिक्षक उत्तीर्ण भएका छन् ।

 

शिक्षकको रिक्त दरबन्दी पुर्तिका लागि गाउँपालिकाले बिणा मावि लिकुवापोखरीमा मावि तहको अंग्रेजी शिक्षक एक जना, सावाकाली मावि सावाकटहरेमा प्रावि तहको एक जना, भगवती दिनानाथ माबि खोटाङबजारमा मावि तह र आधारभूत विद्यालय तहको विज्ञान शिक्षक एक÷एक जना, सप्तकन्या माविमा आधारभूत तहको गणित–विज्ञान र अंग्रेजी विषयको एक÷एक जना तथा महांकला आधारभूत विद्यालय लिच्कीराम्चेमा प्रावि तहको एक जना शिक्षक नियुक्तिका लागि परीक्षा सञ्चालन गरेको थियो ।


अधिकांशले ५० अंक नै कटाएनन्


रिक्त दरबन्दीमा शिक्षक नियुक्तिका लागि खोटेहाङ गाउँपालिकाले सञ्चालन गरेको शिक्षक छनौट परीक्षामा न्यून संख्यमा परिक्षार्थी उत्तिर्ण भएका छन् । पाँच विद्यालयमा सात जना शिक्षक नियुक्तिका लागि लिइएको परीक्षामा २३ जना सहभागी हुँदा तीन जना मात्र उत्तीर्ण भएका हुन् ।


जम्मा २८ जनाको आवेदन परेको भए पनि पाँचजना अनुपस्थित भएको गाउँपालिका अध्यक्ष राईले बताए । वस्तुगत परीक्षामा कम्तीमा ५० अंक हाँसिल गर्ने परीक्षार्थी मात्र विषयगत परीक्षामा सहभागी हुन पाउने व्यवस्था अनुसार तीन परीक्षार्थीले मात्र वस्तुगत परीक्षा पास गरेका थिए ।


महंकला आधारभूत विद्यालयको शिक्षकका लागि ६ जना परीक्षार्थीको आवेदन परेको भए पनि सबै फेल भएका छन् । शिक्षक उत्तीर्ण हुन नसकेको विद्यालयमा पुःन सूचना निकालेर एक सातापछि परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।


यसरी हुन्छ परीक्षा पारदर्शी

 

शिक्षक छनौट प्रकृयालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन खोटेहाङ गाउँपालिकाले गोलाप्रथाबाट छानिएका रोष्टर शिक्षकमार्फत शिक्षक छनौट परीक्षा सञ्चालन गर्ने विधि अपनाएको छ ।


गाउँ शिक्षा समितिले छानेका विषयगत रोष्टर शिक्षकलाई परीक्षाकै दिन खबर गरेर परीक्षा केन्द्रमा बोलाउने गरिएको छ । त्यसपछि गाउँपालिका, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानअध्यापकलगायतले गोलाप्रथाबाट रोष्टर शिक्षकको परीक्षा केन्द्र टुंग्याएर प्रश्नपत्र तयार पार्न लगाइन्छ ।प्रश्नपत्र तयार पारेर परीक्षार्थीलाई वितरण नगरेम्म रोष्टर शिक्षकको मोबाइल अफ गरेर राखिदिने गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।


गोला प्रथाबाट छानिएको परीक्षा केन्द्रमा रोष्टर शिक्षकको आफन्त पर्न गएमा पुनः रोष्टर शिक्षकको केन्द्र परिवर्तन गर्ने गरिएको छ । ‘सत्तामा भएको बेला, पावरमा पुगेको बेला आफ्नो मान्छे राखिदिन पर्‍यो भनेर दवाव त आउँछ नै । तर उल्टो बी लेख्ने शिक्षक राखेर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न त भएन,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘स्वास्थ्य र शिक्षामा अव्वल मान्छे ल्याउनु पर्छ भन्ने हाम्रो मान्यता छ,सेटिङ गरेको थाहा पाइयो भने क्रस गरिन्छ ।’