close

बाग्लुङका पर्यटकीय क्षेत्रमा पर्यटककाे चहलपहल बढ्दै

बाग्लुङका पर्यटकीय क्षेत्रमा पर्यटककाे चहलपहल बढ्दै

Trulli
ADVERTISEMENT

बाग्लुङ - बाग्लुङमा कोरोना महामारीकै समय चितवनका एक हुल युवाहरू बाग्लुङको पञ्चकोट घुम्न आए । उनीहरू दुई दिन बाग्लुङ र पर्वतका पर्यटकीय स्थल घुमेर फर्किए । बाग्लुङ कालिका, अग्लो पुल, बञ्जीजम्पजस्ता स्थल घुमेर उनीहरू आइतबार चितवन फर्के । 

 

बाग्लुङ बजारका युवाले तिहारकै अवसरमा गलकोट र ढोरपाटनसम्मको क्षेत्र भम्रण गरे । उनीहरूले ताराखोलाको गाईघाट झरना पनि घुम्न भ्याए । 

 

‘तिहारमा देउसीभैलो पनि भएन । समय कटाउनैका लागि गाईघाट झरना घुम्न गयौँ,’ होटल संघ बाग्लुङका अध्यक्ष निलेस राजभण्डारीले भने, ‘कोरोना छल्दै पर्यटकीय क्षेत्रको पनि मजा लियौं ।’ 

 

उनीहरूजस्तै दर्जनौं टोलीले बाग्लुङको हाडीकोटदेखि गाईघाट र ढोरपाटनसम्म पुगेर सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका छन् । कोरोना संक्रमणको जोखिमले सुस्ताएका पर्यटकीय स्थलमा आन्तरिक पर्यटक बढ्न थालेको संकेत हो, यो ।

 

अहिले सबैभन्दा धेरै ताराखोला गाउँपालिकाको गाईघाट झरना र गलकोटस्थित मूर्तिकला कार्यशाला स्थल सबैको रोजाइमा परेका छन् । कोरोना संक्रमणको जोखिमका बीच पनि यात्रा गर्नेले यो झरना पुग्ने र केही समय भुल्ने गरेका हुन् । 


‘सामाजिक दूरी कायम राख्ने, पर्यटकीय स्थल घुम्ने योजनाका साथ गयौँ,’ राजभण्डारीले भने, ‘मौसम खुलेकाले अघिल्लो वर्षको तुलनामा धेरै स्थान आकर्षक देखिए ।’

 

पर्यटक आगमनले ग्रामीण बस्तीमा चहलपहल पनि देखिएको ताराखोला गाउँपालिका वडा- १ का अध्यक्ष यामबहादुर श्रीषले बताए । शनिबारको फुर्सद मनाउनेदेखि चाडपर्वमा घर आएकाहरू एक पटक पुग्ने गन्तव्यको रुपमा यो झरना चिनिएको छ ।

 

‘फुर्सदको समय एक पटक पुगौँ भनेर मोटरसाइकल लिएर गयौँ,’ बागलुङ नगरपालिका वडा- ८ सिगानाका सुमन जिसीले भने, ‘जति पटक गए पनि हेर्ने धोको पूरा हुँदैन ।’


प्राकृतिक झरना र मनोरम दृश्यले पटक-पटक लोभ्याउने गरेको उनले सुनाए । गत वर्ष सयौँ पर्यटक पुगेको यो झरनामा कोरोना संक्रमणको डरले आधा पर्यटक घटेका थिए । 


कात्तिक र मंसिरमा भने पुरानै अवस्थाझैँ मानिस जान थालेको श्रीषले बताए । ‘शून्य हुन्छ होला भन्ठानेका थियौँ । पर्यटक आउने क्रम रोकिएकै छैन,’ गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले भने, ‘व्यवस्थित रुपमा घुम्ने र सुरक्षित रुपमा फर्कने व्यवस्थापनमा लागेका छौं ।’


गल्कोट नगरपालिकाको कार्यालयदेखि २० मिनेटमा जिपको यात्राबाट गाईघाट झरना पुगिन्छ । दुई पालिकको सिमानामा भए पनि ताराखोलाको वडा- १ मा पर्ने भएकाले गाउँपालिकाले यसको व्यवस्थापन गरेको छ ।

 

‘पहिला सामान्य झरना थियो । अहिले व्यवस्थापन गरेर आकर्षक बनाइएको छ,’ स्थानीय बालकुमारी क्षेत्रीले भनिन्, ‘पहरा र झरना हेर्न पर्यटक आउने रहेछन् भन्ने यो पहिलो उदाहरण हो ।’

 

‘हरेकलाई स्वास्थ्य मापदण्ड पालना गर्न पनि लगाएका छौं’ उनले भने, ‘महत्त्वपूर्ण गन्तव्यको रुपमा धेरैले लिने गरेकाले पर्यटक आउने क्रम भने निरन्तर छ ।’  शुल्कलाई पुनः व्यवस्थापन गरेर सरसफाइ खर्चको जोहो गर्ने योजना भने बनाइएको श्रीषको भनाइ छ ।

 

‘यहाँ आएका पाहुनालाई खानेबस्ने होटल र रेस्टुराँ खोल्न पहल गर्ने, पार्क र पौडीपोखरी निर्माण गर्ने योजना पनि छ,’ घर्तीले भने, ‘मुहान संरक्षण गरेर झरनाको आकर्षण थप्ने गुरुयोजनामा समावेश गरिएको छ ।’