close

सडक कालोपत्रे माग गर्दै भक्तपुरका स्थानीयको जुलुस

सडक कालोपत्रे माग गर्दै भक्तपुरका स्थानीयको जुलुस

Trulli
ADVERTISEMENT

भक्तपुर - भक्तपुरका स्थानीयले ठेकेदारले निर्धारित समयमै काम नगरेको भन्दै च्याम्हासिंहबाट ताथली जोड्ने सडक अवरुद्ध गरेका छन् ।

 

स्थानीयका अनुसार उक्त सडक आर्थिक वर्ष २०७६/७७ मै निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, ठेकेदारको लापर्वाहीका कारण अहिलेसम्म निर्माण हुन सकेको छैन ।

 

सडक कालोपत्रे गर्न सडक डिभिजन कार्यालय भक्तपुरले एस कन्स्ट्रक्सन प्रालिलाई ठेक्का दिएको थियो । निर्धारित समयमा बाटो नबनेको भन्दै स्थानीयले सडक अवरुद्ध गरेर विरोध जनाएका हुन् ।

 

ठेकेदारले निर्धारित समयमै काम नगरेको र सडक डिभिजन कार्यालयले ध्यान नदिएकाले सडक निर्माणमा ढिलाइ भएको स्थानीयको आरोप छ । ‘छिटो निर्माणका लागि सरोकारवालाको ध्यानाकर्षण गराउँदै सडक अवरुद्ध गरेर विरोध जनाएका हौँ,’ स्थानीय बालकृष्ण ध्वजूले भने ।

 

स्थानीयको अवरोधपछि सडकमा सवारीसाधन गुड्न सकेका छैनन् । सडक कालोपत्रे नगर्ने ठेकेदारलाई कारबाहीका माग ध्वजूको भनाइ छ ।

 

च्याम्हासिंह-ताथलीको सडकमा खाल्डाखुल्डी भएर धुलाम्य र हिलाम्य भएको वर्षौं भइसक्दा पनि निर्माण नगरिएको स्थानीयको गुनासो छ ।

 

घाम लाग्दा धुलो, पानी पर्दा हिलोले आजीत हुनु परेको र सरोकारवालाको ध्यानाकर्षण गराए पनि सडक मर्मत नभएपछि संघर्षमा उत्रिनु परेको स्थानीय बताउँछन् ।