close

भत्ता पाउन योग्यको नाम थप्न र अयोग्यको हटाउन देशभरका पालिकालाई गृहको पत्राचार

भत्ता पाउन योग्यको नाम थप्न र अयोग्यको हटाउन देशभरका पालिकालाई गृहको पत्राचार

Trulli
ADVERTISEMENT


खगेन्द्र अधिकारी
ताप्लेजुङ– गृह मन्त्रालयले सामाजिक सुरक्षा भत्ता पाउन योग्य व्यक्तिहरुको नविकरण छुट भए थप गर्न र अयोग्य भए अभिलेखबाट नाम हटाउन देशभरका स्थानीय तहलाइ परिपत्र गरेको छ ।


मन्त्रालयको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकालाई एकसाथ परिपत्र गरेको हो । विभागका शाखा अधिकृत कुलशेखर अर्यालका अनुसार सामाजिक सुरक्षा नियमावलीमा भएको पछिल्लो संशोधनले सामाजिक सुरक्षा परिचयपत्र प्रत्येक आर्थिक बर्षको कात्तिक मसान्त भित्र नविकरण गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।

 

मन्त्रालयले विभिन्न स्थानीय तहहरुबाट कात्तिक मसान्तभित्र नविकरण गर्न छुट भएका लाभग्राहीहरुको परिचय पत्र नविकरण गरी प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्न मिल्ने या नमिल्ने सम्वन्धमा स्थानीय तहसँंग राय समेत माग गरेको छ ।


यस्तै नियमावलीको नियम १३(६) अनुसार कुनै पनि व्यक्तिले परिचयपत्र नविकरण नगराए स्थानीय तहले त्यस्तो व्यक्तिको नाम अभिलेखबाट हटाउनुपर्ने र नियम १३(७) अनुसार नाम हटाइएको व्यक्तिले पुनः सामाजिक सुरक्षा भत्ता पाउनका लागि अभिलेखमा पुनः नाम समावेश गराउनुपर्ने व्यवस्थाका बारेमा गृह मन्त्रालयले देशभरका सबै स्थानीय तहलाइ परिपत्र गरेको हो ।