close

स्थानीय सरकारले नहेरेपछि नागरिककाे गोजी-पैसोबाट खनियाे सडक

स्थानीय सरकारले नहेरेपछि नागरिककाे गोजी-पैसोबाट खनियाे सडक

Trulli
ADVERTISEMENT

रुपन्देही - रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा- ७ स्थित हिमालीपथको अधुरो सडक स्थानीयले बनाएका छन् । एसियाली विकास बैंक (एडिबी) र नगरपालिकाको बजेटमा निर्माण सुरु गरिने भनिएको सडक दुई वर्षसम्म पनि नबनेपछि स्थानीयले आफैँ लगानी निर्माण गरेका हुन् ।

 

सिद्धार्थनगर नगरपालिका वडा- ७ का वडाअध्यक्ष भीमसेन कर्माचार्यले हिमालीपथमा सडक निर्माण गर्ने क्रममा केही मापदण्ड पूरा नगरेका ४ घरमध्ये ३ वटा घरले सडक निर्माणका क्रममा पूरा गरेको र एउटा घरले अटेरी गरेका कारण समयमै निर्माण हुन नसकेको दाबी गरे ।

 

‘एउटा घरले अढाइ फुट जग्गा नछाड्दा सडक निर्माण हुन सकेको थिएन । धेरै पछि हिमालीपथका स्थानीयको सक्रियतामा सडक निर्माण भएको छ । अझै पनि रोक्ने प्रयास छ तर हामी कुनै हालतमा सडक र नाला बांगो हुन दिने पक्षमा छैनौँ’, उनले भने ।

 

स्थानीयको अगुवाइमा सडक निर्माण सुरु गर्दा हिमालीपथमा भेटिएका लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयले २ वर्षदेखि सडक निर्माणमा अवरोध भएपछि स्थानीयको सक्रियताले राम्रो काम गरेको बताए ।

 

‘यो घटनाले सरकारी निकायले खुट्टा कमाउने ठाउँमा जनता नेतृत्व गर्न सक्षम छन् भन्ने प्रमाणित गरेको छ । एडीबी तथा नगरपालिकाले बनाउन नसकेको सडक स्थानीयले आफ्नै लगानीमा निर्माण गरेर उदाहरणीय काम गरेका छन्’, पाण्डेयले भने ।

 

उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्षसमेत रहेका स्थानीय नारायणप्रसाद भण्डारीले ३६ फिट चौडाइको सडक एडिबीको बजेबाट निर्माण भए पनि एक व्यक्तिले अगाडि बाटो बन्न नदिएर अवरोध गरेपछि हालसम्म अवरुद्ध हुन पुगेको जानकारी दिए । 

 

उनले भने, ‘झन्डै ५ सय स्क्वायरफुट सडक २ वर्षदेखि अव्यवस्थित थियो । सरकार पन्छिए पनि अब विकास हुन्छ भन्ने उदाहरण प्रस्तुत भएको छ । जनताले आफैँ पैसा उठाएर भए पनि सडक निर्माण गर्छन् ।’ 

 

स्थानीय शिवप्रसाद घिमिरे विगतमा ३६ फुट सडक बनाउने सहमति भए पनि नगरपालिकालाई सडक बनाउने कार्यमा अवरोध गरिएकामा स्थानीय आफैँले पहल गरेर अगाडि बढेपछि सफलता मिलेको बताउँछन् ।


क्षेत्रीय सहरी विकास आयोजनाका आयोजना व्यवस्थापक तथा सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ इञ्जिनियर शैलेन्द्रप्रसाद श्रेष्ठले सुरुमा अदालतको आदेशअनुसार भवानी भुसालको घर फोडेर निर्माण गर्ने तयारी भए पनि पछि उनले एडीबीमा उजुरी दिएपछि सडक निर्माणमा ढिलाइ हुन गएको जानकारी दिए ।

 

‘सम्झौता गर्न पत्राचार गरे पनि भुसाल असार मसान्तमा मात्रै सम्पर्कमा आएको र पुनः काम सुरु गर्दा कोरोना महामारीले ढिलाइ भएको हो’, श्रेष्ठले भने ।