close

ताप्लेजुङका तीन पालिकामा एम्बुलेन्स सेवा

ताप्लेजुङका तीन पालिकामा एम्बुलेन्स सेवा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङका तीन पालिकाले अब आफ्नै एम्बुलेन्समार्फत सेवा दिने भएका छन् । पछिल्लो समय सिदिङ्वा गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।


नेपाल सरकारबाट राजस्व छुटमा खरिद गरी ल्याइएको एम्बुलेन्स यसै साताबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको गाउँपालिका उपाध्यक्ष जीवन ताम्लिङले जानकारी दिए ।


जिल्ला एम्बुलेन्स सञ्चालन समितिले तोकेको भाडादरलाई आधार मानेर पालिकाभित्रका सेवाग्राहीलाई विशेष प्राथमिकता र छुट दिने गरी एम्बुलेन्स सेवा सुरु गर्ने तयारी भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले बताए ।

 

केही महिनाअघि मात्र फुङलिङ नगरपालिकाले समेत एम्बुलेन्स भित्र्याएको छ । काठमाडौँस्थित भारतीय दूतावासले दिएको एम्बुलेन्स नगर क्षेत्रभित्रका नागरिकलाई विशेष ग्राह्यता दिएर सञ्चालन गरिन लागेको नगरप्रमुख छत्रपति प्याकुरेलले बताए ।


सिरिजंघा गाउँपालिकालाई पनि यसअघि नै भारतीय दूतावासले एक थान एम्बुलेन्स दिएको छ । ‘अघिल्लो वर्षबाटै एम्बुलेन्सले पालिकाभित्रका सेवाग्राहीलाई छुटसहित सेवा प्रदान गरिरहेको छ’, गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले भने । योसहित ताप्लेजुङको फुङलिङ नगरपालिका, सिरिजंघा र सिदिङ्वा गाउँपालिकाका आफ्नै एम्बुलेन्स भएका छन् ।