close

अमेरिकामा कमाएको पैसा दुर्गम क्षेत्रमा लगानी

अमेरिकामा कमाएको पैसा दुर्गम क्षेत्रमा लगानी

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - पुर्ख्याैली घर इलामको सन्दकपुर भएका ४५ वर्षीय ज्वलन्त गुरुङ नामजस्तै काम गरेर ज्वलन्त बनेका छन् । उपत्यकाको लाजिम्पाट स्थायी घर भएका ज्वलन्त कोरोना महामारीका कारण अमेरिका जान नपाउँदा घरमै खुम्चिएनन् । बरु उनले दुर्गम क्षेत्रका विद्यालयहरूमा सहयोग गर्ने मनसाय बनाए ।

 

ज्वलन्त अहिले ताप्लेजुङका २ विद्यालयमा भौतिक संरचना बनाउन सहयोेगी मन लिएर फुङलिङ आइपुगेका छन् । उनकै संयोजन र अगुवाइमा यहाँका २ पालिकाका २ विद्यालयमा छात्राबास बन्ने प्रक्रिया सुरु भएको छ । 

 

त्यसका लागि उनले फुङलिङ नगरपालिकाको वडा- ९ हाङ्देवास्थित जनता मावि र मैवाखोला गाउँपालिका- २ ढुंगेसाँघुस्थित मैवाखोला मावि तेम्बेलाई छनोट गरेका छन् ।

 

ज्वलन्तकै सहयोगमा यी २ विद्यालयमा ६ कोठे छात्राबास बन्ने भएको छ । सन् २००६ मा अमेरिका गएका उनी बर्सेनि नेपाल-अमेरिका आउजाउ गर्छन् । 

 

उनले अमेरिकी नागरिक र त्यहाँ रहेका नेपालीको समन्वयमार्फत केही हिस्सा स्व-लगानी शिक्षा क्षेत्रमा खर्चने योजना बनाए । ज्वलन्तलाई ताप्लेजुङमा ल्याउन भने उनका मामा शिव गुरुङले प्रोत्साहित गरेका हुन् ।

 

‘मामाकै अगुवाइ र सुझावबाट अहिले छात्राबास बन्ने योजना अघि बढेको हो’, ज्वलन्तले सुनाए । जन्मघर फुङलिङको हाङ्देवा घर भएका शिव अहिले राजधानीमा बस्छन् । 

 

एबीए पूरा गर्न अमेरिका पुगेका ज्वलन्तलाई शैक्षिक उपाधि प्राप्तिपछि आफ्नो देशका पहाडी र दुर्गम क्षेत्रको शैक्षिक विकासमा केही सहयोग गर्ने इच्छा जाग्यो । उनले तीनचुली नेपाल नामक संस्था स्थापना गरे । 

 

यो संस्थाको मुख्य उद्देश्य नेपालका दुर्गम र पहाडी क्षेत्रका बालबालिकाको शैक्षिक प्रगतिका लागि सहयोग गर्नु थियो । ‘विगतमा पनि थुप्रै काम भएका छन्’, उनले कामको फेहरिस्त खोले ।

 

उनका अनुसार भूकम्पपीडित गोरखा, रामेछाप, खोटाङ र दोलखाका ५० अतिविपन्न र अति प्रभावित परिवारको स्थानीय संरचनाअनुसारको घर बनाइदिनसमेत तीनचुलीमार्फत सहयोग जुटेको छ ।

 

गोरखाको भूकम्प इपिसेन्टर बारपाकभन्दा माथिको गाउँ सिङ्ला, रामेछापको बाम्ती, दोलखाको जुनबेँसी र खोटाङको ऐँसेलुखर्क नजिकको बादेलका भूकम्पपीडितका घरसमेत उनले व्यक्तिगत समन्वयबाटै बनाइदिए ।

 

ज्वलन्तले यसअघि ताप्लेजुङका उत्तरी हिमाली बस्ती यासाङ, मार्गेम, सोत्लिमा र नेफु गाउँका विद्यालय भवन बनाइदिएका छन् । ‘फक्ताङलुङ गाउँपालिकाको हेल्लोकमा रहेको बालविकास केन्द्र स्थापनादेखि अहिले त्यहाँ कार्यरत जनशक्तिसमेतको पारिश्रमिकमा सहयोग गर्दै आएको छु’, ज्वलन्तले भने ।

 

आफ्ना बुबा पर्यटन व्यवसाय क्षेत्रमा संलग्न हुँदा नेपालमा हिमाली र पहाडी क्षेत्रका अतिविपन्न परिवारको जीवनशैली र रहनसहनबारे बुझेपछि आफ्नो मन शैक्षिक विकासमा सहयोग गर्न उत्प्रेरित भएको उनले सुनाए ।

 

फुङलिङ र मैवाखोला गाउँपालिकामा बन्ने भवनका लागि प्रतिकोठा ७ लाख रुपैयाँका दरले लगानी गर्ने गरी प्रारम्भिक लागत योजना बनेको छ ।