close

तराई छुने सडक स्तरोन्नति गर्दै जन्तेढुंगा

तराई छुने सडक स्तरोन्नति गर्दै जन्तेढुंगा

Trulli
ADVERTISEMENT

खोटाङ - खोटाङको जन्तेढुंगा गाउँपालिकाले तराईसँग सम्पर्क स्थापित गर्न सडक स्तरोन्नति सुरु गरेको छ । गाउँपालिकाले उदयपुरको सीमामा पर्ने सुनकोसीस्थित वंशिलाघाट पुग्ने चिसापानी-वंशिलाघाट सडक स्तरोन्नति सुरु गरेको हो ।

 

गाउँपालिकाको आन्तरिक स्रोत तथा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चिसापानीबाट निगालाबास-देवीस्थान-फेदी हुँदै वंशिलाघाट पुग्ने सडक स्तरोन्नति सुरु गरिएको गाउँपालिका अध्यक्ष शंकर राईले बताए । 


एक दशकअघि खोलिएको सडकको ट्र्याकलाई सकेसम्म बाह्रैमास सञ्चालन गर्न मिल्ने गरी बिहीबारदेखि स्तरोन्नति सुरु गरिएको राईले जानकारी दिए ।

 

‘प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सडकको जाली हाल्ने, खाल्डाखुल्डी पुर्ने तथा मान्छेले नसक्ने क्षेत्रमा ब्रेकर लगाएर सडक स्तरोन्नति सुरु गरिएको हो’, गाउँपालिका अध्यक्ष राईले भने ।

 

गाउँपालिकामा सञ्चालित विभिन्न योजनाको लागतबाट आउने रकम खर्चिने गरी सडक स्तरोन्नतिमा ब्रेकर प्रयोग गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । 

 

‘ब्रेकर लगाउन तत्कालका लागि मैले आफ्नै पैसा खर्चिएको छु । पछि कन्टेन्जेन्सीको रकमबाट रकम मिलान गर्नेछौँ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘मान्छेले सक्ने ठाउँमा मानव परिश्रम र नसक्ने ठाउँमा ब्रेकर लगाएर सडक स्तरोन्नति गरिरहेका छौँ ।’ 


सडक स्तरोन्नति सुरु भएपछि २५ मंसिर सम्मका लागि चिसापानीबाट निगालाबास-देवीस्थान-फेदी हुँदै वंशिलाघाट पुग्ने सडकमा सवारी साधन आवागमनमा रोक लगाइएको छ ।

 

गाउँपालिकाले सडक स्तरोन्नतिका बीचमा पनि चिसापानीबाट मौवाबोटे हुँदै वंशिलाघाट पुग्ने अर्को सडक प्रयोग गर्न आग्रह गरेको छ । 

 

जन्तेढुंगाको चिसापानीबाट निगालाबास-देवीस्थान-फेदी हुँदै वंशिलाघाटस्थित सुनकोसी तरेर उदयपुरको बेलटारी हुँदै पूर्वी तराईका विभिन्न सहरमा पुग्न सकिन्छ ।

 

तराईबाट उपभोग्य सामग्री भित्र्याउने छोटो बाटो भएकाले चिसापानी-वंशिलाघाट सडक स्तरोन्नति सुरु गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।