close

सांसद राईकाे दैनिकी: सिमेन्ट र बालुवा बाेक्छन्, दिनकाे हजार ज्याला लिन्छन्

सांसद राईकाे दैनिकी: सिमेन्ट र बालुवा बाेक्छन्, दिनकाे हजार ज्याला लिन्छन्

Trulli
ADVERTISEMENT

खोटाङ - प्रदेश १ का सांसद राजन राईले खोटाङको केपिलासगढी गाउँपालिका-३ बाँसपानीस्थित राष्ट्रिय माविको साइन्स ल्याब कक्ष निर्माणका क्रममा मजदुर भएर काम काम गर्न थालेपछि कतिपय स्थानीय अलमलमा परे । 


कतिपयले काम गरेजस्तो देखाउन फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने र लोकप्रियताका लागि प्रचार गर्न खोजेको अनुमान पनि गरे ।

 

तर, साइन्स ल्याब निर्माणका लागि बालुवा चाल्ने, बालुवा बोक्ने, सिमेन्टको बोरा उठाउनेलगायत काम गर्न थालेपछि भने स्थानीयले सांसद राई साँच्चिकै मजदुरको रूपमा काम गर्न आएको भनेर पत्याए ।

 

प्रदेशसभा सांसद राईले बिहीबारदेखि शनिबारसम्म राष्ट्रिय माविको साइन्स ल्याब निर्माणमा मजदुरको रूपमा काम गरेका छन् । दैनिक १ हजार रुपैयाँ पारिश्रमिक लिएर मजदुरीको काम गरेको सांसद राईले बताए । 

 

खोटाङबाट प्रदेशसभा सांसद निर्वाचित राईको जन्मथलो पनि बाँसपानी नै हो ।  ४/५ दिनदेखि उनी जन्मथलो बाँसपानीमै छन् । गत १५ मंसिरमा ऐँसेलुखर्क गाउँपालिकामा १५ शय्याको अस्पताल शिलान्यासपछि उनी घर आइपुगेका हुन् ।

 

आगामी २३ मंसिरमा केपिलासगढी गाउँपालिकामा पनि १५ शय्याको अस्पताल शिलान्यासका लागि गाउँपालिकाले प्रदेशसभा सांसद राईलाई नै प्रमुख अतिथिका रूपमा निम्त्याएको छ । 

 

केपिलासगढीको अस्पताल शिलान्यास गरेर मात्र प्रदेश राजधानी जाने योजनाअनुसार घर बसिरहेको अवस्थामा पारिश्रमिक लिने गरी मजदुरीको काम गरेको सांसद राईले बताए । 

 

‘अहिले प्रदेश संसद् पनि चलेको छैन । विराटनगर पुगेर फर्किनुभन्दा केपिलासगढी गाउँपालिकाको अस्पताल शिलान्यास गरेर मात्र जाने योजना बनाएर बसिरहेको छु,’ सांसद राईले भने, ‘घरमा बसेका बेला दाजुभाइसँगै काम गरेर समय सदुपयोग गरेको हुँ । सुरुमा त स्थानीयले फोटो खिचाउन आएको होला भन्ठाने । दिनभर काम गरेपछि मात्रै साँच्चिकै काम गर्न आएको रहेछ भनेर पत्याए ।’


साइन्स ल्याब स्थापनाका लागि गाउँपालिकाले ६ लाख ५० हजार उपलव्ध गराएपछि राष्ट्रिय माविले आन्तरिक स्रोतबाट थप व्यवस्थापनको काम गरिरहेको छ । सांसद नै मजदुरको रूपमा विद्यालयमा काम गर्न आएपछि व्यवस्थापन समितिका अध्यक्ष नारायण राई र प्रधानाध्यापक कोमल रिमालले पनि एक दिन मजदुरी गरे ।

 

‘तीन दिनसम्म मजदुरी गर्नुभएका सांसद युवाका लागि उदाहरणीय बन्नुभएको छ । हामीले पनि उहाँसँगै काम गर्‍यौँ,’ प्रधानाध्यापक रिमालले भने, ‘ठूलाबडाले नै मजदुरी गर्न आउँदा गाउँका अन्यलाई पनि काम गर्नुपर्ने रहेछ भन्ने सन्देश गएको छ ।’ 

 

सांसद राईले मजदुरी गरेबापत कमाएको ३ हजार रुपैयाँले शनिबार बेलुकी विद्यालय परिसरमै जलपान आयोजना गरी विद्यालयको भौतिक तथा शैक्षिक विकासबारे सरोकारवालासँग गफिए ।