close

नियमित बिजुली माग्दै आन्दोलनमा जुम्लाबासी

नियमित बिजुली माग्दै आन्दोलनमा जुम्लाबासी

Trulli
ADVERTISEMENT

जुम्ला - सदरमुकाम खलंगासहित चन्दननाथ नगरपालिकामा दुई सातासम्म बिजुली आपूर्ति नभएपछि स्थानीय आन्दोलित भएका छन् । विद्युत् तथा सञ्चार सेवा आपूर्ति संघर्ष समिति जुम्लाले पत्रकार सम्मेलन गरेरै नियमित विद्युत् आपूर्तिको मागसहित आन्दोलन सुरु गरेको हो ।

 

संघर्ष समितिका समितिका संयोजक तथा नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतका अनुसार आधा महिनादेखि उपभोक्ता बिजुलीविहीन हुँदा पनि कसैले ध्यान दिएका छैनन् । 

 

समितिले तत्कालै जेनेरेटरबाट विद्युत् आपूर्ति गर्नुपर्ने, राष्ट्रिय प्रसारण लाइन ६ महिनाभित्र जडान गरी स्थायी रूपमा विद्युत् आपूर्ति गर्नुपर्ने, टेन्डर आह्वान गरी जोडिएको मेसिनमा पटक-पटक खराबी देखिएकाले छानबिन गर्नुपर्नेलगायत माग सार्वजनिक गरेको छ ।

 

जुम्लामा फोन र इमेलको क्षमता कमजोर हुँदा कार्यसम्पादन प्रभावित भएकाले नेपाल टेलिकम शाखा जुम्ला र सञ्चार मन्त्रालयसमेतको ध्यानाकर्षण गरिएको छ । दियालो कार्यक्रम गर्ने, विद्युत् तथा सञ्चारसम्बन्धी प्रयोगमा आउने टेलिकम, विद्युत् प्राधिकरणमा मागपत्र बुझाउने कार्यक्रम पनि समेटिएका छन् । 

 

घुघुती विद्युत्गृहमा मेसिन बिग्रिएपछि सदरमुकाम खलंगा बजारसहित सिंगो चन्दननाथ नगरपालिकामा दुई सातादेखि अन्धकार छ । वैकल्पिक व्यवस्थाका लागि ल्याइएका डिजेल प्लान्ट पनि इन्धन अभावले थन्किएका छन् ।

 

२०४० मा घुघुतीमा उत्पादित विद्युत्गृहको मेसिन जीर्ण भएपछि ४ वर्षअघि तत्कालीन जिविसले भारतीय दूतावासको २ करोड ६३ लाख रुपैयाँ बजेटबाट नयाँ मेसिन जडान सुरु गरेको थियो । 

 

समितिको कार्यालय खारेज भएपछि निर्माण पछि धकेलियो । नक्कली नयाँ मेसिन जडान गरेको एक वर्ष नपुग्दै पटक–पटक बिग्रिने गरेपछि सदरमुकाबासीसमेत अँध्यारोपमा बस्नुपर्ने अवस्था छ ।


विद्युत् प्राधिकरणको लापर्वाहीले सदरमुकामबासी लामो समयदेखि अँध्यारोमा बस्नु परेको नागरिक अगुवा महतले बताए । ‘भारतीय कम्पनीले गुणस्तरहीन र नक्कली मेसिन जडान गरेपछि हामीले दुःख पाइरहेका छौँ,’ उनले भने, ‘एक त लोडसेडिङको मार छ, त्यसमा पनि महिनौँ अँध्यारोमा बस्नुपर्ने बाध्यता छ ।’