close

‘मौरिज हर्गोज ट्रेल’ सञ्चालनको तयारीमा अन्नपूर्ण गाउँपालिका

‘मौरिज हर्गोज ट्रेल’ सञ्चालनको तयारीमा अन्नपूर्ण गाउँपालिका

Trulli
ADVERTISEMENT

म्याग्दी - म्याग्दीको अन्नपूर्ण गाउँपालिका मौरिज हर्गोज ट्रेल सञ्चालनको तयारीमा जुटेको छ । अन्नपूर्णको वडा- ४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग सञ्चालनका लागि गाउँपालिकाले नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान) सँग सहकार्य गरेको छ ।

 

८ हजार मिटरभन्दा अग्ला हिमालको पहिलो पटक आरोहण गरेका फ्रान्सका मौरिज हर्गोजको नाममा स्थापना भएको पदमार्ग सञ्चालनका लागि गाउँपालिका, पर्यटन बोर्ड र (टान) का प्रतिनिधिले स्थलगत अध्ययन गरेका छन् । 

 

हिमाल आरोहणको ७१ वर्षपछि आधार शिविरलाई आधारभूत स्तरको पदमार्गले जोडेर पर्यटक भित्र्याउन प्रचारप्रसार र प्रवर्द्धनमा जुटेको गाउँपालिका अध्यक्ष डमबहादुर पुनले जानकारी दिए । गाउँपालिकाले नारच्याङदेखि ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने पदमार्गलाई ‘मौरिज हर्गोज ट्रेल’ नामकरण गरेको छ ।


‘नेपाल भ्रमण वर्ष २०२० को अवसरमा यो पदमार्ग सञ्चालन गर्ने तयारी थियाे कोरोनाले प्रभावित बनायोे’, अध्यक्ष पुनले भने, ‘अब आउने पर्यटकलाई अन्नपूर्ण आधार शिविर भित्र्याउन पर्यटन व्यवसायीसँग सहकार्य गरेका छौँ ।’ 

 

नारच्याङदेखि मिस्त्री खोलाको किनारै किनारै आधार शिविर जोड्ने पदमार्ग तयार भएको छ । हर्जोगले ३ जुन १९५० मा अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्दै ८ हजारभन्दा अग्लो हिमालमा पहिलो पाइला टेक्ने दुर्लभ रेकर्ड बनाएका थिए । 

 

अन्नपूर्ण प्रथम आरोहण भएको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेकाले यसलाई जेठो हिमाल पनि भनिन्छ । 

 

मौरिज कालीनजस्तै कठिन र वाइल्ड रहेकाले अन्नपूर्ण प्रथमको आधार शिविर पदयात्रामा नया ब्रान्ड हुने टान गण्डकी प्रदेशका अध्यक्ष सुशील पौडेल सुनाउँछन् । ‘पुराना पदमार्ग सडकले विस्थापित भएका छन्’, उनले भने, ‘थप पूर्वाधार निर्माणसँगै प्रचार-प्रसार गरेर सडकका कारण छोटिएको पदयात्रा पर्यटनलाई यसतर्फ आकर्षित गराउन सकिन्छ ।’

 

गाउँपालिकाले पदमार्गको नक्सा तयार पारेको छ । गत माघमा अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्गको प्रचार-प्रसारका लागि नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव सञ्चालन भएको थियो ।

 

पर्यटन विभागले पदमार्ग स्तरोन्नतिका लागि ठेक्का लगाइसकेको छ । आधारभूत स्तरको पदमार्ग, झोलुंगेपुल, फड्के पुल, सिँढी निर्माण भएको छ । पदयात्रामा आउने पर्यटकका लागि सेल्टर निर्माण भएको छ । होटल तथा लज नभएकाले क्याम्पिङ पदयात्रा गर्नुपर्ने हुन्छ । 

 

पोस्ट कोभिड पर्यटनका लागि क्याम्पिङ ट्रेककाे रूपमा नर्थ अन्नपूर्णलाई विकास गरिने टानका अध्यक्ष पौडेलले जानकारी दिए । 

 

नारच्याङदेखि छोटेपा, हुमखोला, भुसकेत हुँदै तीन दिनमा आधार शिविर पुग्न सकिन्छ । हिमाल आरोहण मात्र नभएर झरना, ताल, हिमाल, वन्यजन्तु, वनस्पति पदमार्गको आकर्षण भएको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए । 

 

फराकिलो फाँट भएकाले दुर्घटनाको कम 


जोखिम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने सबैभन्दा छोटो, रमणीय र सुरक्षित यो पदमार्ग ९ वर्षअघि पहिचान भएको थियो । 

 

यसअघि मुस्ताङको कुञ्जो हुँदै भीर र जंगलमा एक साता हिँडेर, हेलिकप्टरमार्फत अन्नपूर्ण आधार शिविर पुग्नुपर्ने बाध्यता थियो । कतिपयले कास्कीको एबीसी क्याम्पलाई नै आधार शिविर बुझ्ने गरेका थिए । 

 

नारच्याङका अगुवाहरूले २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य पहिचान गरेका थिए । यो अन्नपूर्ण आधार शिविर पुग्ने सबैभन्दा छोटो बाटो हो ।

 

नारच्याङको बेँसीगाउँदेखि छोटेपासम्म निलगिरि जलविद्युत् आयोजनाले लगेको सडक निलगिरि र अन्नपूर्ण खोलाको दोभान हुमखोला पुर्‍याउँदै छ । 

 

हुमखोलादेखि एक दिनमा भुसकेत र अर्को दिन आधार शिविर पुग्न सकिन्छ । समुद्री सतहदेखि ४ हजार ५ सय मिटर उचाइँमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्य रमणीय र मनमोहक छ ।

 

पदयात्राका क्रममा हिमाल, अग्ला पहाडबाट खसेका झरना, हिमताल र विभिन्न वनस्पति, फूल, चराचुरुंगी, वन्यजन्तुको पनि अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण आधार शिविरमा अन्नपूर्ण, फ्रेन्क, तिलिचो र निलगिरि हिमालको फेदीमा नीलो रंग र गोलो आकारको तलाउ छ ।

 

सुक्खा र उजाड पहाडको बीचमा रहेको तालमा हिमालको छाया हेर्न सकिन्छ । धेरै हिमालको चुचुरो एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ । 

 

यो ताल करिब १ किलोमिटर लम्बाइ र ५ सय मिटर चौडाइमा फैलिएको छ । अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी संकलन भएर प्राकृतिक हिमताल बनेको हो ।