close

सेनाले बनाएको हाटबजार मर्चवारी गाउँपालिकालाई हस्तान्तरण

सेनाले बनाएको हाटबजार मर्चवारी गाउँपालिकालाई हस्तान्तरण

Trulli
ADVERTISEMENT

रुपन्देही - रुपन्देहीको मर्चवारी गाउँपालिकामा नेपाली सेनाले हाटबजार बनाएर हस्तान्तरण गरेको छ । हाटबजार मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवानन्द बानियालाई सेनाको २२ नम्बर वाहिनीपति सहायक रथी सुदर्शन सिलवालले हस्तान्तरण गरेका हुन् ।


मर्चवार क्षेत्रका बासिन्दाको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यसहित नेपाली सेनाले रुपन्देहीको मर्चवारमा हाटबजार बनाएर हस्तान्तरण गरेको हो । 


नेपाली सेनाको सामाजिक आर्थिक विकास पूर्वाधारअन्तर्गत गरुडदल गण रामनगर बुटवलले मर्चवारी गाउँपालिकाको वडा- ५ मा हाटबजार ट्रस्ट निर्माण गरेको हो ।

 

वाहिनीपति सिलवालले जनतासँग गरिने यस्ता कार्यक्रमले नागरिक-सैनिक सम्बन्ध निर्माणमा विशेष महत्त्व राख्ने बताए । यो हाटबजार ट्रस्टले स्थानीय नागरिकको विकासमा टेवा पुग्ने उनले जानकारी दिए । ‘सेनाले मर्चवार क्षेत्र स्वास्थ्य शिविरसहितका अन्य कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ’, सहायक रथी सिलवालले भने ।


गाउँपालिका अध्यक्ष केशवनन्द बानियाले सेनाले निर्माण गरेको ट्रस्टले हाटबजार सञ्चालनमा टेवा पुग्ने बताए । ‘यो पूर्वाधारमा हाटबजारसहित सार्वजनिक गतिविधि गर्न सकिनेछ’, उनले भने । सेनाले मर्चवार क्षेत्रमा गर्ने गतिविधिले नागरिक उत्साहित भएको उनले बताए ।

 

सेनाले सामाजिक, आर्थिक विकासका पूर्वाधार कार्यक्रमअन्तर्गत १० लाख लागतमा ट्रस्ट बनाएको हो । पूर्वाधार निर्माणमा गाउँपालिकाले साढे ४ लाखको भौतिक सामग्री प्रदान गरेको छ ।

 

सहसेनानी मधुसूदन पोखरेलका अनुसार ट्रस्ट निर्माणमा ३५ जनाको फौजले दुई महिनासम्म काम गरेका थिए । यो हाटबजारबाट ५ हजार किसान लाभान्वित हुनेछन् । ९ वटा गाउँको बीचमा रहेको हाटबजारमा साप्ताहिक हाट सुरु गरिने गाउँपालिकाले जनाएको छ ।