close

भीम अस्पताल भैरहवामा ओपिडी सेवा सञ्चालन 

भीम अस्पताल भैरहवामा ओपिडी सेवा सञ्चालन 

Trulli
ADVERTISEMENT

रुपन्देही - रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा विशेषज्ञसहितको सुविधासम्पन्न नयाँ बहिरंग विभाग (ओपिडी) सञ्चालनमा आएको छ ।


ओपिडी भवनको लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले उद्घाटन गरे । मन्त्री बरालले प्रदेश सरकारले स्वास्थ्य सेवा सुधारलाई सबैभन्दा बढी प्राथमिकता दिएको बताए । ‘अस्पतालमा कुनै प्रकारको कमी हुन नदिन बजेट उपलब्ध गराएका छौँ ।’

 

स्वास्थ्य सेवामा अहिले पनि जनशक्ति अभाव रहेकाले पदपूर्ति गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

 

‘स्वास्थ्यमा अहिले पनि २०३५ कै जनशक्तिले थेगिरहेको छ । थोरै जनशक्तिले पनि उच्चस्तरीय सेवा दिन सक्नुपर्छ । मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै सरकारी अस्पतालको उपचारात्मक सेवालाई बढीभन्दा बढी गुणस्तरीय बनाउने भन्नेमा ध्यान केन्द्रित गर्दै आएको छु,’ मन्त्री बरालले भने ।

 

भीम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सकुन्तला गुप्ताले नयाँ भवनमा आएसँगै बालरोग विशेषज्ञ, सर्जरी ओपिडी, नाक, कान, घाँटी ओपिडी, मेडिसिन ओपिडीलगायत सेवा सुरु गरिएको बताइन् । नयाँ भवनबाट अर्थो र प्रसूति सेवासम्बन्धी ओपिडी पुरानै भवनमा सञ्चालन हुने उनको भनाइ छ ।


 १९९० मा ३ शय्याबाट स्थापित अस्पतालले २०३५ मा १५ र २०४१ मा २५ शय्याको स्वीकृति पाएको थियो । १ सय शय्याको अस्पतालको रूपमा सरकारले घोषणा गरे पनि हाल २५ शय्याको स्वीकृतिमा अस्पतालमा ६० शय्याको बिरामीले सेवा लिइरहेका छन् ।

 

भीम अस्पतालले हाल ओपिडी सेवा, आकस्मिक, अन्तरंगमा प्रसूति र सामान्य चिकित्सा सेवा, मातृशिशु सेवा प्रयोगशाला, एक्सरे, इसिजी, डट्स उपचार, कुष्ठरोग उपचार, यूएसजी र एआरटी सेवा दिँदै आएको अस्पतालले जनाएको छ ।