close

जनकपुरधामका चिल्ला सडक पार्किङ स्थलमा परिणत (भिडियो खबर)

जनकपुरधामका चिल्ला सडक पार्किङ स्थलमा परिणत (भिडियो खबर)

ADVERTISEMENT

धनुषा - प्रदेश २ को मुकाम जनकपुरधाम उपमहानगरमा व्यवस्थित पार्किङ नहुँदा सडकको बीच भागमै सवारीसाधन पार्किङ हुने गरेको छ । सडकमा गाडी तेस्र्याइएपछि सर्वसाधारण बटुवालाई हिँड्न र सडक दुर्घटनाको जोखिम बढेको छ । जनकपुरधामका प्रमुख सडकमा यत्रतत्र अव्यवस्थित तबरले सवारीसाधन पार्किङ गरिँदै आएको छ । 


एकीकृत सहरी विकास परियोजना लागू भएपछि प्रमुख बजारका सडक र गल्ली फराकिला बने । प्रमुख सडक कालोपत्रे भए । तर, पार्किङ अभावले सडकमै ठेलादेखि ठूला गाडीसमेत पार्किङ गरिँदै आएको छ । सडकमै सवारीसाधन पार्किंङ गरिएपछि सहर रुप कुरुप देखिएको छ । 

 

उपमहानगरको वडा- ५ का नवलकिशोर साह भन्छन्, ‘पार्किङ व्यवस्थापनको विषयमा यहाँका जनप्रतिनिधिले कहिले पनि ध्यान दिएनन् । जनकपुरजस्तो ठाउँमा पार्किङ अभाव हुनुमा दोषी जनकपुधाम उपमहानगर प्रमुख र नगर बोर्ड नै हो ।’

 

जनकपुरको जानकी मन्दिर, रामानन्द चोक, प्रादेशिक अस्पताल एरिया र राजदेवी मन्दिर छेउछाउ त झनै अव्यवस्थित छ । स्थान अभावका कारण यातायात व्यवस्थापनमा कठिनाइ भएको धनुषा ट्राफिक प्रमुख नवराज न्यौपानेले बताए । 

 

‘ट्राफिक प्रहरीको सीमित साधन-स्रोतले भ्याएसम्म सवारी पार्किङ व्यवस्थापन गरिरहेका छौँ । उपमहानगरले भने खासै सहयोग गरेको छैन,’ प्रमुख न्यौपानेले भने । सवारीसाधन पार्किङ, नो पार्किङ बोर्ड उपमहानगरले उपलब्ध गराइदिने वाचा गरे पनि अहिलेसम्म नबनाइदिएको उनले बताए ।

 

उनले भने, ‘हामी छिट्टै अन्य स्थानबाट सहयोग लिएर भानु चोकमा ट्राफिक लाइट र जनकपुरका दुई स्थानमा ट्राफिक डमी राख्ने तयारीमा छौँ ।’

 

पार्किङ अव्यवस्थित हुनुमा स्थानीय सरकार वा अन्य निकायजस्तै घरधनीहरूको पनि उत्तिकै हात छ । घर ठड्याउँदा पर्खाल लगाएर सडकछेउमै पुर्‍याएपछि पार्किङ स्थल अभाव भएको स्थानीय बताउँछन् । गाडी भएकाहरूले घरभित्र नराखेर सडकमै पार्किङ गर्दा सडक व्यवस्थापन झनै चौपट भएको धनुषा चेम्बरका उपाध्यक्ष सलामत राइन सुनाउँछन् ।


‘उपमहानगर र ट्राफिक प्रहरीको तालमेल नमिलेकाले यो समस्या बढ्दै गएको हो,’ राइनले भने, ‘जतिसक्दो समस्या समाधान गर्नुपर्छ । त्यसो नगरिए अव्यस्थित पार्किङका कारण जनकपुरको स्वरुप नै बिग्रने स्थिति छ ।’

 

जनकपुरका चिल्ला सडकमा निजी सवारीसाधन मात्र नभई सरकारी नम्बर प्लेटका गाडीसमेत जथाभावी पार्किङ गर्ने गरिएको छ । 

 

जनकपुरमा १ सयभन्दा बढी नगर प्रहरी छन् तर तिनले नगरको यातायात व्यवस्थापन भन्दा पनि उपमहानगरकै कार्यालयमा ध्यान दिने गरेको सरोकारवाला बताउँछन् । सडकपेटी वा नगरभित्रको अव्यवस्थित पार्किङ हटाउन नगर प्रहरीको भूमिका देखिन्न ।