close

पक्की पुलले जोडिँदै मंगलाका ३ वडाबासी (भिडियो खबर)

पक्की पुलले जोडिँदै मंगलाका ३ वडाबासी (भिडियो खबर)

ADVERTISEMENT

म्याग्दी - कोरोना जोखिम र लकडाउनका कारण रोकिएको म्याग्दीको मंगला गाउँपालिकाका २ वटा मोटरेबल पुल निर्माण सुरु भएको छ । 


मंगला गाउँपालिकाको बरंजा र अर्मनका तीन वडालाई सीधा सडक सञ्जालसँग जोड्न म्याग्दी नदीमा बनाउन लागिएको मोटरेबल पुल निर्माण गत चैतदेखि रोखिएका थिए । 


मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले मजदुर, निर्माण सामग्री अभाव भएपछि रोकिएको पुल निर्माणलाई ठेकेदार र सम्बद्ध कार्यालयसँग समन्वय गरेर निरन्तरता दिइएको बताए ।


‘कोरोनाका कारण पुल निर्माण अड्किएको थियो’, उनले भने, ‘अहिले कामदार भित्र्याएर जतिसक्दो छिटो काम सक्न समन्वय र निर्देशन गरेका छौँ ।’


मंगला गाउँपालिका- २ बाबियाचौरको माटेबगर र वडा- ५ अर्मनको मसानघाट तथा बेनी नगरपालिका-४ फापरखेतदेखि मंगला गाउँपालिका- ३ पखेर जोड्ने पक्की पुल निर्माण गर्न सडक डिभिजन कार्यालय बाग्लुङले २०७५ पुसमा लुम्बिनी-प्राकृतिक जेभीसँग २२ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । 

 

८० मिटर लम्बाइ र ११ मिटर चौडाइको माटेबगर-अर्मन जोड्ने पुलको ४० मिटरको एउटा स्पाममा ढलान सकेको ठेकेदारले अर्मनतर्फको पिलर ठडाउने तयारी गरेको छ । ११७ मिटर लम्बाइ, ११ मिटर चौडाइको हुने फापरखेत-पखेर जोड्ने पुलका चार वटै पिल्र निर्माण सकेर ढलान गर्ने तयारी भएको ठेकेदार कम्पनीका सुपरभाइजर प्रेम केसीले बताए ।

 

‘लकडाउन र बर्खाको बाढीपहिरोले रोकिएको पुल निर्माण धमाधम भइरहेको छ’, उनले भने, ‘आउने दसैंसम्म सक्ने गरी कामलाई तीव्रता दिएका छाैँ । हाल दैनिक ४० जना मजदुर परिचालन भएका छन् । २ पुल निर्माणको भौतिक प्रगति ५० प्रतिशत हाराहारी छ ।’ 

 

सम्झौताअनुसार २५ पुस २०७७ मा सम्पन्न गर्ने लक्ष्य थियो । ठेकेदारले पर्याप्त उपकरण, मजदुर परिचालन गर्न, निर्माण सामग्री जुटाउन नसक्नु, कोरोनाको जोखिम र बाढीका कारण पुल निर्माण प्रभावित भएको हो । 

 

फापरखेत-पखरे जोड्ने पुलको एउटा स्पाममा ढलान गर्न गरिएको सटिङ म्याग्दी नदीको बाढीले बगाएको थियो । यो पुल बनेपछि जिल्लाको मुख्य बेनी-दरवाङ सडक हुँदै बरंजा र अर्मन सीधा सडक सञ्जालमा जोडिने बाबियाचौरका नारायणबहादुर अधिकारीले जानकारी दिए । 


‘अर्मन, बरंजाका साथै बाग्लुङको ताराखोलाबासीलाई बाग्लुङ बजार जान यो बाटो छोटो हुन्छ’, उनले भने । अर्मन र बरंजामा सडक निर्माण भए पनि मोटरेबल पुल नहुँदा स्थानीयले सीधा यातायात सुविधाबाट लाभ लिन सकेका छैनन् ।