close

सेतो झिंगाको बथानले यसरी खायो सुन्तला बगैंचा (भिडियो खबर) 

सेतो झिंगाको बथानले यसरी खायो सुन्तला बगैंचा (भिडियो खबर) 

ADVERTISEMENT

ताप्लेजुङ - ताप्लेजुङको मेरिङ्देन र फुङलिङ नगरपालिकासहित विभिन्न स्थानमा लगाइएको सुन्तलामा सेतो झिंगाको प्रकोपका कारण किसानको आम्दानी गुमेको छ । सुन्तला बिक्री गरेर घरखर्च धान्दै आएका यहाँका स्थानीयले बोटमै दाना नअडिएपछि लाखौं नोक्सानी बेहोर्नु परेको हो ।

 

मेरिङ्देन गाउँपालिका वडा- २ खाम्लुङकी हरिमाया न्यौपानेलाई यही सुन्तलाको आम्दानीले परिवारको वर्षैभरको खर्च पुर्‍याउँला भन्ने लागेको थियो । विगत वर्षमा सुन्तलाबाट राम्रै आम्दानी लिएको न्यौपाने परिवार यो यो वर्ष भने बगैंचामा लगाइएका सबै सुन्तला बाटेबाटै झरेर सखाप भएपछि चिन्तामा छ ।

 

‘अघिल्लो वर्ष २ रोपनीमा लगाएको सुन्तलाबाट ६० हजार रुपैयाँ आम्दानी भएको थियो । तर, यो वर्ष सबै दाना बोटमै नअडिएपछि १०-२० हजार रुपैयाँ पनि आम्दानी हुने अवस्था छैन’, हरिमाया दुःखी सुनिन्छिन् ।

 

आम्दानीको मुख्य स्रोत सुन्तला बोटबाटै ह्वारह्वार्ती झरेको कारण स्थानीय खुट्याउन सक्दैनन् । ‘कोरोनाका कारणले यस्तो भएको हो कि ?’ हरिमाया ठट्यौली गर्छिन् ।

 

मेरिङ्देनमा मात्र होइन । यो वर्ष अन्य स्थानमा रहेका सुन्तलाका बगैंचा रित्तिएका छन् । सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष सुरज ओझा भन्छन्, ‘ताप्लेजुङमा सुन्तलाका बोटमा दाना नअडिने समस्या जताततै रहेछ । सबैभन्दा बढी बोटमा सुन्तला नअडिएका किसानका गुनासा फुङलिङ नगरपालिकामै रहेछन् ।’

 

फुङलिङ नगरपालिकाको कृषि शाखाका प्राविधिक दीपक भण्डारी सेतो झिंगाको प्रकोपका कारण बोटमा सुन्तला नअडिएको बताउँछन् । 

 

‘सुन्तला बगैंचामा दाना झरेको समस्या लिएर आउने कृषक थुप्रै छन् । अहिले यसको निदान गर्न सक्ने अवस्था छैन । फल लाग्ने बेला किसानले ध्यान दिएको भए यो समस्या समाधान हुन सक्थ्यो’, भण्डारी भन्छन् ।