close

६२ वटा खानेपानी आयोजना एक दशकदेखि अलपत्र

पानी खान नपाएर धमाधम बसाइँ सर्दै छन् स्थानीय

६२ वटा खानेपानी आयोजना एक दशकदेखि अलपत्र

पानी खान नपाएर धमाधम बसाइँ सर्दै छन् स्थानीय

Trulli
ADVERTISEMENT

बाग्लुङ - म्याग्दीको ज्यामरुक अर्जम खानेपानी योजना सम्पन्न गर्न उपभोक्ता समितिका अध्यक्ष जीतबहादुर थापा डिभिजन खानेपानी कार्यालय धाउन थालेको तीन वर्ष भइसक्यो । हरेक वर्ष ४ देखि ५ लाख बजेट विनियोजन हुन्छ तर त्यो बजेटले खानेपानी योजनाको छेउटुप्पो पनि बन्दैन । बिग्रेका बनाएरै रकम स्वाहा हुन्छ ।

 

पटक-पटक डिभिजन खानेपानी आयोजना धाएर फर्कने काम मात्र भएको उनको गुनासो छ । ‘ठूलो आयोजना छ । बजेट कुनै वर्ष थोरै पर्छ, कुनै वर्ष त पर्दैन,’ थापाले भने, ‘थोरै बजेटले काम गर्दा पुराना संरचना भत्कने, अलपत्र पर्ने खतरा भइसक्यो ।’

 

डिभिजनमार्फत थालेका काममा स्थानीय पालिकाले पनि लगानी नगरिदिएपछि उपभोक्ता हैरान भएका हुन् । उनीहरूले पालिकामा पनि पटक-पटक आग्रह गरेको गुनासो गरे ।


२०७१ देखि सुरु भएको ३ करोडको योजनामा यसअघिका वर्ष २० लाखदेखि ३३ लाख रुपैयाँसम्म विनियोजन हुने गरेको थियो । गत आर्थिक वर्ष बजेटै परेन । चालू वर्ष पनि ५ लाख मात्रै बजेट छ । सानो र अनियमित रूपमा आउने बजेटले निर्माणाधीन संरचना अलपत्र परिरहेको थापाले सुनाए । 

 

उनीहरूले अहिलेसम्म ५० हजार घनमिटर क्षमताको ट्यांकी बनाएको १३ लाख, २० हजार घनमिटरको ट्यांकीको ६ लाख र १० हजार घनमिटरको २ लाख ५३ हजार रुपैयाँ पाएको बताए ।  त्यसबाहेक पाइपलाइन बिच्छाएको र अन्य संरचना बनाएको भुक्तानी पनि पाएका छैनन् । 


पर्याप्त बजेट नआएपछि बाग्लुङका २ ठूला आयोजना २० वर्षदेखि अलपत्र छन् । अरू ६३ वटा खानेपानी आयोजना दशकदेखि निर्माणाधीन छन् ।

 

रायडाँडा र बुर्तिवाङ खानेपानी आयोजना २० वर्षदेखि अलपत्र परेका हुन् । राष्ट्रिय योजना आयोगबाट स्वीकृत भएर आएका योजनामै बजेट अपुग भएपछि स्थानीयले सास्ती खेपेका छन् ।

 

खानेपानीकै समस्याले यहाँका धेरै उपभोक्ता बसाइँ सरिसकेका छन् । ‘पछिल्लो २ वर्ष रामतोलाका १५ घर बसाइँ सरेको तथ्यांक छ,’ बाग्लुङ नगरपालिका वडा- ११ रायडाँडाका वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भने, ‘भौगोलिक कठिनाइ र खानेपानी अभाव स्थानीयको बसाइँसराइको मुख्य कारण हो ।’ 


सडक र खानेपानी नपुग्दा गाउँ रित्तो हुन सक्ने उनको बुझाइ छ । १ करोड ८० लाख रुपैयाँ लागतको रायडाँडा खानेपानी आयोजनाको लागत बढेर २ करोड ९० लाख पुगिसकेको छ ।

 

‘टुक्रे बजेटले खानेपानी योजनाका उपभोक्तालाई सधैँ सास्ती मात्रै छ,’ डिभिजन खानेपानी कार्यालयका प्रमुख राजेन्द्र न्यौपानेले भने, ‘योजना फस्र्योट हुने गरी रकम नआएपछि प्रगति पनि देखाउन सकिएको छैन ।’ 

 

चालू वर्षदेखि जिल्ला तहमै खानेपानीका कार्यालय खुल्दै छन् । ती कार्यालय खुलेपछि डिभिजनले टाढाका योजना हेर्न नपर्ने उनले बताए । बर्सेनि कनिका छरेजस्तो बजेटले आयोजना अलपत्र परेको उनले टिप्पणी गरे ।

 

बुर्तिवाङ बजारका लागि खानेपानी पुर्‍याउन २०५६ मा निर्माण सुरु भएको आयोजना पनि अलपत्रै छ । लामो दूरी र ठूलो आयोजनामा बर्सेनि २/४ लाख मात्र आउने गरेकाले काम अलपत्र परेको स्थानीय बताउँछन् ।

 

खानेपानी अभाव भएपछि नगरपालिकाले रिर्जभ ट्यांकी बनाएर पानीको जोहो गराएको ढोरपाटन नगरपालिका प्रमुख देवकुमार नेपालीले जानकारी दिए । ‘केन्द्रको भर पर्दा जनताले सास्ती पाए, त्यसैले आन्तरिक बजेटबाट अर्को योजना बनाइरहेका छौँ,’ नेपालीले भने, ‘पुरानो काम कहिले सकिन्छ भन्ने यकिन छैन ।’ 

 

बाग्लुङमा अझै ६३ वटा साना ठूला आयोजना बजेट अभावले अलपत्र छन् । ती आयोजना पूरा गर्न झण्डै ३ अर्ब २० करोड रुपैयाँ लाग्ने प्राविधिक मूल्यांकन छ ।