close

बजेट नपाएपछि काठका पुल बनाएर गाउँ जोड्दै फक्ताङलुङ

बजेट नपाएपछि काठका पुल बनाएर गाउँ जोड्दै फक्ताङलुङ

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले गाउँ-गाउँमा यातायात पुर्‍याउने अस्थायी काठे पुल निर्माण गरेको छ । ग्रामीण क्षेत्रमा कच्ची सडक रहे पनि नदी तथा खोलामा पुल नहुँदा विकल्पका रूपमा काठेपुल निर्माण गरिन लागेको हो । पुल निर्माणले गाउँ-गाउँमा यातायात सेवाको पहुँच पुग्ने गाउँपालिकाको विश्वास छ । 

 

गाउँपालिकाले तमोर नदीमा ४ वटा अस्थायी काठे मोटरेबल पुल निर्माण गरी गाउँ-गाउँमा यातायात सेवाको पहुँच पुर्‍याएको छ । फक्ताङलुङका तमोर नदीको २ वटा किनारमा पर्छ ।

 

गाउँपालिकाको वडा- १ सावादिन, वडा- २ खेजेनिम, वडा- ४ इखाबु र वडा- ६ लेलेप तमोर नदीको दायाँ भागमा पर्छ । त्यस्तै, वडा- ३ लिङखिम, वडा- ५ तापेथोक र वडा-६ लेलेपका सेकाथुम र अन्य गाउँ तमोर नदीको बायाँ किनारामा पछद् ।

 

स्थानीयलाई एक गाउँबाट अर्को गाउँ आउजाउ गर्न तमोर नदी तर्नैपर्छ । अहिले प्रायः सबै वडा सडक सञ्जालले जोडिएको छ । पक्की मोटरेबल पुल निर्माण सम्पन्न नहुन्जेल गाउँपालिकाले ३ वर्षदेखि अस्थायी काठेपुल निर्माण गर्दै आएको छ ।

 

अस्थायी काठेपुलबाट गाउँपालिकाको वडा-वडा र गाउँ-गाउँसम्म गाडी गुड्न थालेका छन् । तमोर नदीको ४ ठाउँमा अस्थायी मोटरेबल काठेपुल निर्माण गरेर स्थानीयलाई यातायातको पहुँच पुर्‍याएको गाउँपालिकाले यो वर्ष वडा- १ सावादिन र वडा- ३ लिखिम जोड्न तमोर नदीमा ३ लाख ७५ हजार रुपैयाँको लागतमा अस्थायी काठेपुल निर्माण गरेको छ ।

 

पुल निर्माणसँगै त्यस क्षेत्रका ९ सय १ घरपरिवारले यातायातको सुविधा प्रयोग गर्न पाएका छन् । यसैगरी गाउँपालिकादेखि छिरुवा बजार र वडा- ४ इखाबु गाउँ जोड्न तमोर नदीमा ३ लाख ७५ हजारको लागतमा अर्को अस्थायी काठे मोटरेबल पुल निर्माण भएको छ ।

 

पुल निर्माणसँगै सो क्षेत्रका ४ सय २२ घरपरिवार प्रत्यक्ष लाभान्वित भएको गाउँपालिका अध्यक्ष सरोज एभेङ लिम्बूले जानकारी दिए । ‘गाउँपालिकाको केन्द्र तापेथोकदेखि वडा- ६ लेलेपको साँघु जोड्न तमोर नदीमा स्थायी मोटरेबल पुल निर्माण भएको छ । यो पुल सञ्चालनमा आएपछि त्यस भेगका करिब ३ सय घरपरिवारले यातायात सेवाबाट लाभ लिएका छन्’, अध्यक्ष लिम्बूले भने ।

 

तापेथोक र लेलेप जोड्ने रानी पुलमा बनेको अस्थायी काठे मोटरेबल पुल सञ्चालनमा आएपछि लेलेप, लुङथुङ, सेकाथुम, फले, ग्याब्ला, घुन्सा र ओलाङचुङगोलाका करिब २ सय ९९ घरपरिवारले सहज रूपमा यातायात सेवा लिएको गाउँपालिकाले जनाएको छ ।

 

स्थानीयको आउजाउ सहज बनाउन अस्थायी काठे मोटरेबल पुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष लिम्बूले बताए । हिउँदयाममा बनाइएका यी अस्थायी काठे मोटरेबल पुल वर्षायाममा खोला तथा नदीमा बढेको पानीको बहावले बगाएर लैजान्छन् ।