close

बलेवामा बन्दै प्याराग्लाइडिङ पूर्वाधार

अब प्याराग्लाइडिङ चड्न बलेवा जाने हाेइन त ?

बलेवामा बन्दै प्याराग्लाइडिङ पूर्वाधार

अब प्याराग्लाइडिङ चड्न बलेवा जाने हाेइन त ?

Trulli
ADVERTISEMENT

बाग्लुङ - बाग्लुङको बलेवामा प्याराग्लाइडिङका लागि पूर्वाधार निर्माण सुरु भएको छ । बाग्लुङ नगरपालिका वडा- १३ पैँयुपाटाको पहरेमा प्याराग्लाइडिङ उडान स्थल निर्माण मंगलबारबाट सुरु भएको हो । 

 

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सराङकोटबाट विस्थापित हुने प्याराग्लाइडिङ बलेवामा सञ्चालन गर्ने गरी गण्डकी प्रदेश सरकारले तयारी थालेको हो । चालू वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेर उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले पूर्वाधार निर्माण सुरु गरेको हो ।

 

बाग्लुङको बलेवा क्षेत्रका ४ वडाका नागरिकको भेलाले गठन गरेको उपभोक्ता समितिले आगामी वैशाख मसान्तसम्म प्याराग्लाइडिङ उडानका लागि आवश्यक पूर्वाधार निर्माण गर्नेछ ।


पहरेमा उडान स्थल निर्माणको शिलान्यास गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेश सरकारले पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरे ।


‘देशको समृद्धिको आधार पर्यटन नै हो । त्यसका लागि यस क्षेत्रको पूर्वाधार निर्माण प्रदेश सरकारले विशेष प्राथमिकता दिएको छ । कोरोना महामारीले पर्यटन क्षेत्र थलिए पनि यसलाई उकास्न प्याराग्लाइडिङजस्ता साहसिक पर्यटन पूर्वाधार निर्माणमा सहयोग गरेका हौँ’, लम्सालले भने ।


गण्डकीका सबै जिल्लामा पर्यटकीय क्षेत्रको पहिचान र प्रवर्द्धनकाे काम चलिरहेको उनले बताए । घरबास, प्याराग्लाइडिङ, धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलको प्रवद्र्धनमा सरकार लागिरहेको लम्सालले जानकारी दिए ।

 
कार्यक्रममा पूर्वसांसद प्रकाश शर्मा पौडेल, गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा, सावित्रा राना, जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ललगायतले यस क्षेत्रमा प्याराग्लाइडिङ निर्माण भएपछि पर्यटनबाट देश, प्रदेश र स्थानीय निकायले लाभ लिन सक्ने बताए ।


बाग्लुङ नगरपालिका- १३ का वडाध्यक्ष नारायण शर्मा पौडेलले बलेमा सुरु गरिएको प्याराग्लाइडिङ पूर्वाधार निर्माण सम्पन्न भएपछि नगरपालिकासहित वडाको समेत आम्दानी बढ्ने दाबी गरे ।