close

साकेलामा सामाजिक सुरक्षा भत्ताको चरम दुरुपयोग, नक्कली कागजात बनाएर एक वर्षमै ८७ लाख भ्रष्टाचार

साकेलामा सामाजिक सुरक्षा भत्ताको चरम दुरुपयोग, नक्कली कागजात बनाएर एक वर्षमै ८७ लाख भ्रष्टाचार

Trulli
ADVERTISEMENT

खोटाङ– खोटाङको साकेला गाउँपालिकामा एकै आर्थिक वर्ष ८७ लाख बढी सामाजिक सुरक्षा भत्ता चुहावट भएको पाइएको छ ।


मृत्यु भइसकेका, कतिपय बसाइँ सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिको नाममा जाली कागजात बनाएर सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको देखिएको हो ।

 

भत्तामा अनियमितता भएको विषय बाहिरिएपछि गाउँपालिका उपाध्यक्ष सरिता खड्काको संयोजकत्वमा गठित छानबिन समितिले आर्थिक वर्ष २०७६÷०७७ भित्र ८७ लाख ४१ हजार ६ सय रुपैयाँ रकम चुहावट भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

 

सामाजिक सुरक्षा भत्ता दुरुपयोगका विषयमा गत १४ असोजमा गठित समितिले मंगलबार छानबिन प्रतिवेदन सार्वजनिक गरेर गाउँपालिका अध्यक्ष अर्जुन खड्कालाई अन्तिम प्रतिवेदन बुझाएको हो ।

 

छानबिन समितिले आर्थिक वर्ष २०७६/०७७ मा साकेला गाउँपालिका वडा–१ बाँझेच्यानडाँडामा २० लाख ३४ हजार ४ सय, वडा– २ रतन्छामा १२ लाख २८ हजार, वडा– ३ खिदिमामा ११ लाख ८७ हजार २ सय, वडा– ४ मात्तिममा २२ लाख ८७ हजार २ सय र साकेलाको वडा– ५ मात्तिमबिर्तामा २० लाख ४८ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

 

‘मृत्यु भइसकेका व्यक्ति, अन्यत्र बसाइँ सरिसकेका, नक्कली लाभग्राही खडा गरेर, अर्कै वडाको व्यक्तिको नाम राखेर, एकै जनाको एकभन्दा बढी नाम देखाएर सामाजिक सुरक्षा भत्ता चुहावट गरेको छानबिनका क्रममा फेला परेको छ’, गाउँपालिका उपाध्यक्ष एवं छानबिन समिति संयोजक खड्काले भनिन् ।

 

सुरुमा साकेला वडा– ४ मात्तिममा मृत्यु भइसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षा भत्ता चुहावट भइरहेको खबर बाहिरिएपछि उपाध्यक्ष खड्काको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।

 

१५ दिनभित्र छानबिन प्रतिवेदन बुझाउन समय पाएको समितिले १३ मंसिरमै प्रतिवेदन सार्वजनिक गरिने बताएको थियो । तर, समितिले १० दिनपछि मात्र आफ्नो प्रतिवेदन सार्वजनिक गरेको हो ।

 

अघिल्ला आर्थिक वर्ष वितरण भएका सामाजिक सुरक्षा भत्ताको खर्च फस्र्योट भइसकेकाले १ वर्ष (आर्थिक वर्ष २०७६÷७७) भित्रको सामाजिक सुरक्षा भत्तामा दुरुपयोग विषयमा मात्र छानबिन गरिएको गाउँपालिका उपाध्यक्ष एवं संयोजक खड्काले बताइन् ।

 

‘हुँदै नभएका मान्छेको नाममा काल्पनिक मान्छे खडा गरेर अनियमितता गरेको पाइएको छ । त्यसमा पनि दलितको नाममा बढी दुरुपयोग देखियो’, खड्काले भनिन्, ‘छानबिनका क्रममा हामीले जे देख्यौँ, त्यहीँ प्रतिवेदनमा लेखेका छौँ ।’

 

साकेलाको वडा– ४ मात्तिममा सामाजिक सुरक्षा भत्ता चुहावट भएको विषयलाई लिएर छानबिन समिति गठन गरिए पनि समितिले गाउँपालिकाभित्रका सबै वडाको सामाजिक सुरक्षा भत्ता वितरणमा भइरहेको अनियमितताका विषयमा छानबिन गरेको छ ।

 

साकेलाको वडा– ४ मात्तिममा सामाजिक सुरक्षा भत्ता चुहावट भइरहेको घटना बाहिरिएलगत्तै वडा– ५ मात्तिमबिर्ता र वडा– २ रतन्छामा पनि सामाजिक सुरक्षा भत्तामा अनियमितता भइरहेको तथ्य बाहिरिएको थियो ।

 

एकै व्यक्तिको नाममा विधवा र एकल महिलाको सामाजिक सुरक्षा भत्ता बाँडिएको तथ्य पनि फेला परेको छ । सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको प्रतिवेदन सार्वजनिक भएपछि वडा तथा गाउँपालिकाका जनप्रतिनिधि नैतिक प्रश्नको कठघरामा परेका छन् ।

 

सामाजिक सुरक्षा भत्तामा १ आर्थिक वर्षभित्रै ८७ लाख बढी रकम अनियमितता भएको छानबिन प्रतिवेदन सार्वजनिक भएपछि अघिल्ला आर्थिक वर्ष त्योभन्दा बढी रकम गोलमाल भएको हुन सक्ने अनुमान गरिएको छ ।

 

सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको पुष्टि हुने जोसुकैलाई सामाजिक सुरक्षा ऐन, २०७५ र सामाजिक सुरक्षा नियमावली, २०७६ अनुसार कारबाही हुने गाउँपालिका अध्यक्ष खड्काले बताए ।


‘छानबिन प्रतिवेदन आए पनि त्यो अझै पूरक छैन । त्यसलाई पूरक बनाउन केही समय लाग्छ,’ अध्यक्ष खड्काले भने, ‘रकम दुरुपयोगमा क–कसको संलग्नता छ,  कति असुल गर्नुपर्ने हो, पुष्टि भएपछि कारबाही अघि बढाउँछौँ ।’