close

नमुना धार्मिक पर्यटन गन्तव्य बन्दै रुरु क्षेत्र

नमुना धार्मिक पर्यटन गन्तव्य बन्दै रुरु क्षेत्र

Trulli
ADVERTISEMENT

रुपन्देही - गुल्मी, पाल्पा र स्याङ्जाको संगम स्थल गुल्मीको पवित्र तपोभूमि रुरु क्षेत्र (रिडी) लाई आकर्षक पर्यटकीय केन्द्र बनाइने भएको छ । कालीगण्डकी नदी तथा रिडी खोला नियन्त्रण आयोजनाको बुधबार शिलान्यास गर्दै मुख्यमन्त्री शंकर पोखरेल रुरु क्षेत्रलाई धार्मिक पर्यटन गन्तव्य बनाइने बताएका हुन् ।

 

मुख्यमन्त्री पोखरेलले रिडीको धार्मिक र ऐतिहासिक महत्त्वलाई बढाएर आकर्षक गन्तव्य बनाउन प्रदेश सरकारले प्राथमिकताका साथ काम अघि बढाएको जानकारी दिए । ‘तटबन्ध मात्रै नभएर अब समग्र आयोजना अघि बढ्ने हुँदा बजेटको कुनै समस्या हुन दिँदैनौँ’, मुख्यमन्त्री पोखरेलले भने । राज्यको लगानी र समुदायको अपनत्वबाट मात्रै विकासको प्रतिफल प्राप्त गर्न सकिने मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

 

रुरु क्षेत्रमा पर्यटन पूर्वाधार विकासका लागि केन्द्र र प्रदेश सरकारको समपूरक कोषमार्फत आर्थिक वर्ष २०७६/७७ मा बोलपत्र गरी ३४ करोड २० लाख ६० हजार ६३९ रुपैयाँमा भू तथा जलाधार व्यवस्थापन कार्यालय पाल्पा र सगुन शर्मा जेभी बुटवलबीच सम्झौता भएको हो ।

 

११ जेठ २०७७ मा सम्झौता भई १० मंसिर २०७९ मा कार्य सम्पन्न गर्नुपर्नेछ । नदी क्षेत्रमा कुल २ हजार ८ सय २० मिटर लम्बाइ, सात मिटर उचाइको आरसीसी टेवा पर्खाल निर्माण गरिनेछ । यस्तै, ऋषिकेश मन्दिर क्षेत्रमा २ सय ८८ मिटरको सिँढी (प्याराफिट) निर्माण गरिनेछ ।

 

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले पर्यटन पूर्वाधार विकासमा प्रदेश सरकारले प्राथमिकताका साथ काम गरेको दाबी गरे । ‘धार्मिक स्थल रिडीको विकास अब गुरुयोजनाअनुसार अघि बढ्छ । रुरु क्षेत्रको धार्मिक, ऐतिहासिक महत्त्व बुझाउन पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ’, गिरीले भने ।

 

पाल्पाका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे, गुल्मी क्षेत्र नम्बर १ का प्रदेशसभा सदस्य कमल श्रेष्ठ, तानसेन नगरपालिका प्रमुख अशोक शाही, रुरु क्षेत्र गाउँपालिका प्रमुख नीलकण्ठ गौतमलगायतले रिडी र पर्यटन विकासबारे आआफ्ना धारणा राखेका थिए ।