close

‘मेयर बा’को लौरो, ...अनि बने सबैका अभिभावक 

‘मेयर बा’को लौरो, ...अनि बने सबैका अभिभावक 

Trulli
ADVERTISEMENT

काभ्रे- नमोबुद्धका प्रमुख टिपी शर्मा तिमल्सिनालाई नगरपालिकालाई आर्थिक भार नपर्ने गरी व्यक्तिगत रूपमा थुप्रै विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् । 

नगरप्रमुखको यो मनकारी निर्णयका कारण विपन्न वर्गका बालबालिकाको शिक्षाको सपना पूरा हुँदै छ । नगरमा विपन्न र असहाय विद्यार्थीप्रति अभिभावकीय भूमिका निर्वाह गरेकै कारण तिमल्सिनालाई धेरैले ‘बा’ भनेर सम्बोधन गर्छन् । ‘मेयरसाब’ भनेर बोलाउनुभन्दा कसैले ‘बा’ भनेर बोलाउँदा खुसी लाग्ने गरेको तिमल्सिना सुनाउँछन् । 

नमोबुद्ध नगरपालिका– ४ का शिवराज चिमौरिया अहिले धुलिखेलस्थित सञ्जीवनी माविमा कक्षा १२ मा विज्ञान विषय अध्ययनरत छन् । उनी जनक माविका सर्वोत्कृष्ट विद्यार्थी थिए । 

घरको आर्थिक अवस्था कमजोर, त्यसमाथि मिर्गौला फेल भएर पिताको निधनले निम्तिएको थप संकटबीच कसरी पढाइ अगाडि बढाउने भन्ने अन्योलमा थिए चिमौरिया । 

जनक माविबाट एसईई उत्तीर्ण विद्यार्थीको उच्च शिक्षाका लागि जिम्मेवारी लिएपछि चेक हस्तान्तरण गर्दै नगरप्रमुख तिमल्सिना

नगरप्रमुख तिमल्सिनाले चिमौरियाको पीडालाई मल्हम लगाउन काम गरे । तिमल्सिनाले आफैं अभिभावक भएर चिमौरियाको अध्ययन खर्च बेहोरिदिए । 

जनक माविबाटै एसईई उत्तीर्ण अर्का विद्यार्थी दिपेश गौतम पनि अहिले नगरप्रमुख तिमल्सिनाकै सहयोगमा उच्च शिक्षा अध्ययन गर्दै छन् । पढाइमा अब्बल उनको घरको आर्थिक अवस्था पनि कमजोर थियो । तर, नगरप्रमुख तिमल्सिनाले अभिभावकत्व ग्रहण गरेपछि गौतमको उच्च शिक्षाको सपना पूरा भएको छ ।

चिमौरिया र गौतम मात्रै होइन, नमोबुद्ध नगरका यस्ता धेरै विद्यार्थी छन्, जसका अभिभावक बनेका छन्, नगरप्रमुख तिमल्सिना । महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण नमोबुद्ध नगरपालिका पनि अछुतो रहेन ।  सोही नगरको वडा नम्बर ५ कि एक किशोरीमा साउन अन्तिम साता कोरोना संक्रमण देखियो ।

धुलिखेल अस्पतालमा लामो उपचारपछि फर्किएको भोलिपल्टै नगरप्रमुख तिमल्सिना उनको घरमा गए । आफ्नै घरमा आइपुग्दा अचम्मित बनेकी किशोरीलाई तिमल्सिनाले अर्को एउटा सरप्राइज दिए । त्यो सरप्राइजका कारण किशोरीको उनको उच्च शिक्षाको धोको पूरा हुँदै छ । 

परिवारको कमजोर आर्थिक अवस्थाका कारण कक्षा १२ पछि पढाइलाई निरन्तरता दिन नसक्ने निष्कर्षमा पुगेकी उनलाई नगरप्रमुख तिमल्सिनाले व्यक्तिगत रुपमा स्नातक तहसम्म पढ्न सहयोग गर्ने वचन  दिएका छन् । 

ती किशोरी भन्छिन्, ‘उहाँ घरमै आएर पढाइदिन्छु भन्दा धेरै खुसी लाग्यो । कोरोनाको त्रास र पीडा भुलेर अब पढाइमा ध्यान दिन्छु ।’ तिमल्सिनाको सहयोगमै उच्च शिक्षा अध्ययन गरिरहेका चिमौरिया र गौतमले पनि नगरप्रमुखको सहयोगले आपूmहरूको उच्च शिक्षाको सपना पूरा भएको बताउँछन् । 

नगरका कुनैपनि बालबालिका आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भनेरै व्यक्तिगत रुपमा पढाइ खर्च बेहोरिरहेको तिमल्सिना बताउँछन् । ‘मानिसका लागि सबैभन्दा ठूलो सम्पति चेतना हो र त्यो शिक्षाबाटै हासिल हुन्छ,’ तिमल्सिना भन्छन्, ‘पैसा नभएरै कोही शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने चाहना छ ।’

तिमल्सिनाले नगरप्रमुख नहुँदा पनि विपन्न र असहाय वर्गको अभिभावकत्व लिँदै आएका थिए । केही वर्षपहिले काठमाडौंमा रहँदा सडकमा बस्ने एक बालकलाई तिमल्सिनासहितको समूहले पढाइका लागि प्रेरित मात्रै गरेन, विद्यालय जाने वातावरणसमेत बनाइदियो । तिनै बालक भारतबाट उच्च शिक्षा अध्ययन गरी अहिले एयरफोर्स इन्जिनियरको रुपमा कार्यरत रहेको तिमल्सिना बताउँछन् ।

नगरप्रमुख तिमल्सिनाकै अभिभावकत्वमा नमोबुद्ध– १० कि १० वर्षीया सविना लामा आफ्नो पढाइलाई निरन्तरता दिइरहेकी छन् । तिमल्सिनाले आपूm नगरप्रमुख भएपछि नगरपालिकामा बालबालिका लक्षित ‘को बन्छ मेयर ?’ अभियानसमेत चलाए । उक्त अभियानमा नगरका विभिन्न वडाका ३० जना बालबालिका जोडिएका छन् ।

कोरोनाका कारण लकडाउन भएपछि नमोबुद्ध नगरपालिका हुँदै पुर्वी नेपालका विभिन्न जिल्ला जान लागेका पैदलयात्रुलाई तिमल्सिनाले खाद्यान्न र लत्ताकपडा सहयोग गरे । एक सुत्केरीलाई आफ्नै खर्चमा रामेछापको दोरम्बासम्म जाने व्यवस्था मिलाएका उनले कोभिड १९ विपद व्यवस्थापन कोषमा व्यक्तिगत रुपमा १ लाख ४० हजार रुपैयाँ सहयोगसमेत गरेका थिए ।

नगरप्रमुख तिमल्सिनाले वृद्धवृद्धालाई लौरो किनिदिएका छन् भने नगरका प्रत्येक वडामा वृद्धवृद्धा भेटघाट चौतारीसमेत बनाएका छन् । नगरपालिकाबाट प्राप्त हुने सेवा–सुविधाबापतको रकमलाई सामाजिक कार्यमै खर्च गर्दै आएको तिमल्सिना बताउँछन् ।