close

१ लिटर दूधमा १५ रुपैयाँ अनुदान

१ लिटर दूधमा १५ रुपैयाँ अनुदान

Trulli
ADVERTISEMENT

स्याङ्जा- गल्याङ नगरपालिकाले दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानबाट किसानलाई ४७ लाखभन्दा बढी रकम वितरण गरेको छ ।  गत आर्थिक वर्षमा गल्याङका किसानले दूध बिक्रीबाट ४७ लाख १२ हजार २ सय ७७ रुपैयाँ अनुदान प्राप्त गरेका हुन् । 

नेपालमा सम्भवतः सबैभन्दा धेरै दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान दिएको नगरपालिकाले विभिन्न १६ वटा दूध संकलन केन्द्र एवं फार्ममार्फत किसानलाई यो रकम वितरण गरेको हो । 

गल्याङमा दुग्ध विकास संस्थानले तोकेको दरभाउमा किसानले बिक्री गरेपछि त्यसबाहेकको १५ रुपैयाँ नगरपालिकाले अनुदान दिँदै आएको छ । पहिलो किस्ताअन्तर्गत ९७ हजार २ सय ७६ लिटर दूध संकलन गरेका किसानले गल्याङ नगरपालिकाबाट १४ लाख ५९ हजार १ सय ४० रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै, दोस्रो किस्ताअन्तर्गत १ लाख ५२ हजार लिटर दूध बिक्रीबापत नगरपालिकाबाट किसानले २२ लाख ८७ हजार ५  सय ८४ रुपैयाँ बुझेका छन् । 

कोरोना संक्रमणका कारण लकडाउन भएकाले तेस्रो किस्तामा दूध बिक्री कम देखिएको छ । तेस्रो किस्ताअन्तर्गत चैतदेखि असारसम्म ६४ हजार ३ सय ७० लिटर दूध बिक्री गरेबापत किसानले ९ लाख ६५ हजार ५ सय ५३ रुपैयाँ नगरपालिकाबाट प्राप्त गरेका छन् । 

दूध संकलन केन्द्र, सहकारी तथा फर्मका गरी नगरपालिकाबाट जम्मा ६ सय ७६ जना किसानले अनुदान रकम बुझेका हुन् । गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारी किसानलाई व्यावसायिक रूपमा आत्मनिर्भर बनाउन दिइएको अनुदान प्रभावकारी बनेको बताउँछन् । 

नगर प्रमुख अधिकारीले भने, ‘दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानको व्यवस्थाले किसान उत्साहित भएको पाएको छु । अझै उत्पादन बढ्ने क्रममा छ ।’ कोरोना जोखिमका कारण लकडाउनले केही समस्या भए पनि अहिले किसान व्यावसायिक बन्ने बाटोमा अग्रसर रहेको उनको दाबी छ । 

नगरपाकिालका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानको व्यवस्थाले वास्तविक किसानसम्म अनुदान पुगेको बताए । उत्पादनका आधारमा किसानलाई अनुदान दिन सकिए मात्रै व्यवसायिक बन्न सक्ने उनको भनाइ छ । 

गल्याङ नगरपालिका पशु सेवा शाखा प्रमुख सुशील अर्यालले दूध उत्पादनमा किसानको रुचि बढ्दै गएको पाइएको बताए । उनले दूध उत्पादन बढाउनका लागि किसानको आवश्यकताका आधारमा थुनेलो नियन्त्रणसहितका उपाय अपनाइँदै आएको जानकारी दिए । 

अनुदानबाट मात्रै मासिक २० हजार आम्दानी

गल्याङ नगरपालिकाले उपलब्ध गराएको दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदानबाट नगरपालिकाको वडा नम्बर– २ का एक किसानले मासिक करिब २१ हजार रुपैयाँ आम्दानी गरेका छन् । 

स्थानीय गाईपालक किसान रनमाया गुरुङले वार्षिक २ लाख ५५ हजार अनुदानबाट मात्रै बुझेकी हुन् । लकडाउनका कारण केही समस्या भएपछि पछिल्लो चौमासिकमा उनले ८० हजार रुपैयाँ मात्रै पाएकी छन् । 

गुरुङजस्तै गल्याङ नगरपालिका वडा नम्बर–२ बटुवास्थित  जनकल्याण दुग्ध संकलन केन्द्रका सदस्यहरूले पनि नगरपालिकाबाट प्राप्त प्रतिलिटर १५ रुपैयाँ अनुदान रकम बुझेका छन् । 

गल्याङ नगर प्रमुख भूपराज अधिकारीले नगरपालिकाभित्रको खपतबाहेक यस वर्ष ५ करोड रुपैयाँ बराबरको दूध नगरबाहिर गएको जानकारी दिए । प्रतिलिटर १५ रुपैयाँ अनुदानको व्यवस्था नेपालको कुनै पनि ठाउँमा नभएको उनको दाबी छ ।

जागिरभन्दा पनि उत्पादन गरी स्वरोजगार बन्ने योजनामा सबै लाग्नुपर्ने उनको सुझाव छ ।