close

स्थानीयलाई बराहपोखरीको चेतावनी : अतिक्रमित जग्गा तुरुन्त छाड

स्थानीयलाई बराहपोखरीको चेतावनी : अतिक्रमित जग्गा तुरुन्त छाड

Trulli
ADVERTISEMENT

खोटाङ - खोटाङको बराहपोखरी गाउँपालिकाले धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर-टहरा हटाउनका लागि अन्तिम पटक समय दिएको छ । बराहपोखरी गाउँपालिका- १ बराहपोखरीमा रहेको शंखेश्वर मन्दिरको गुठी र आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर-टहरा हटाउनका लागि तीन पटक दिइएको समयलाई स्थानीयले बेवास्ता गरेपछि गाउँपालिका यसप्रति आक्रामक बनेको हो । 


गत १८ मंसिरको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार १० दिनको अवधि दिएर २१ मंसिरमा २७ व्यक्तिको नामावलीसहित अन्तिम पटक सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ ।


बराहपोखरीका सार्वजनिक जग्गा अतिक्रमण गरेर बसेका व्यक्तिलाई घर-टहरा हटाउन ८ असोज २०७५ मा, ४ चैत २०७५ मा र ३० मंसिर २०७६ मा सूचना प्रकाशन गरी अनुरोध गरिए पनि अटेर गरेकाले घर-टहरा हटाउन अन्तिम पटक सूचना प्रकाशन गरिएको गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताए । 


नेपाल सरकारको १०० वटा गन्तव्यको सूचीमा समावेश बराहपोखरीको जग्गा अतिक्रमण गरेर बसिरहेका भुवन श्रेष्ठ, ढकबहादुर कार्की, तोर्णबहादुर कार्की, शिव श्रेष्ठ, कर्णकुमार श्रेष्ठ, खगेन्द्र राई, भीमबहादुर तामाङ, हर्कबहादुर तामाङ, भरत तामाङ, अर्जुन तामाङ, रामजी फुयाल, तिलकबहादुर मगर, गंगा बिक, डिल्ली गिरी, महेन्द्र बिष्ट, केदार राई, तीर्था तामाङ, गोकर्ण राई, डम्बरहादुर राई, पदम राई, ध्रुव गिरी, धनबहादुर राई, गणेशबहादुर राई, रामबहादुर राई, मदन राई, हिमाल राई र हरिहर खत्रीको नाममा गाउँपालिकाले सूचना जारी गरेको छ ।


स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ११ को उपदफा (२)को खण्ड (क)को देहाय २ (ट)मा अनधिकृत निर्माण तथा सार्वजनिक सम्पत्ति अतिक्रमण, रोकथाम तथा नियन्त्रण गर्ने अधिकार गाउँपालिकामा निहीत रहेअनुसार बराहपोखरीस्थित शंखेश्वर मन्दिरको गुठी र आसपासको सार्वजनिक जग्गा खाली गर्दै संरक्षण गर्ने अभियान चालिएको हो । सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा तोकिएको समयभित्र नहटाइए स्थानीय प्रशासनको साथ लिएर बल प्रयोग गरेर हटाइने गाउँपालिकाको सूचनामा उल्लेख छ ।


जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको पर्यटन प्रवद्र्धनका लागि डीपीआर तयार पारेर योजनावद्ध ढंगले लागेको गाउँपालिकाले बराहपोखरी शंखेश्वर मन्दिर गुठी तथा सो आसपासका जग्गामा बनाइएका घर–टहरा धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनका काम गर्ने क्रममा बाधकका रूपमा देखिएपछि हटाउने अभियान थालिएको हो । 


पालिकालाई सुन्दर र व्यवस्थित बनाउँदै सार्वजनिक सम्पत्तिको रक्षाका लागि मापदण्डविपरीतका घर तथा टहरा हटाउने अभियान चलाइएको गाउँपालिका अध्यक्ष बञ्जराले बताए ।