close

आँसु पुछ्दै हिंसापीडित महिलाले लिए नगरको सहयोग

आँसु पुछ्दै हिंसापीडित महिलाले लिए नगरको सहयोग

Trulli
ADVERTISEMENT

खोटाङ - आफ्नै परिवारका सदस्यबाट पीडित भएपछि दिक्तेलमा तरकारी पसल गरेर एक जना छोरीलाई पढाइरहेकी दोर्पाकी दया पाण्डे र पारिवारिक हिंसाकै कारण विस्थापित भएपछि दिक्तेलमा बसेर एक छोरासहित बसिरहेकी पार्वती खत्री बुढाथोकीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगद १५/१५ हजार रुपैयाँ प्रदान गरेपछि उनीहरूका आँखा अचानक रसाए ।

 

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान समापनको अवसरमा बिहीबार जिल्ला समन्वय समितिको सभा हलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले हिंसापीडित महिलालाई नगद हस्तान्तरण गरेका हुन् । 


घरेलु हिंसाका कारण विस्थापित भए पनि छोरीलाई पढाउन एक्लै संघर्ष गरेर अरूका लागि उदाहरण बनेर देखाएकामा दयालाई प्रोत्साहन स्वरूप दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नगद सहयोग गरेको हो । यस्तै, हिंसाका कारण छोरासँग बसेर व्यवसायी बन्ने प्रयास गरिरहेकी पार्वतीलाई सहयोग गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी उपप्रमुख विणादेवी राईले बताइन् । हिंसापीडित पार्वतीले गहभरी आँसु पारेर नगरपालिकाको नगद सहयोग थापेकी थिइन् । 


उपप्रमुख राईले पारिवारिक हिंसाका कारण गाउँबाट दिक्तेलमा आएर आश्रय लिएर छोरीसहित बसिरहेकी झुमा राईलाई बंगुर पालनका लागि सहयोग गर्ने घोषणा गरेकी छन् । यस्तै, हिंसाका कारण नेर्पाबाट माइतीघरमा आएर चित्राले बारेको छाप्रामा एक छोरासहित बसिरहेकी अम्बिका आचार्यलाई आवास निर्माणमा सहयोग गर्ने घोषणा गरिएको छ । 


उपप्रमुख राईले अम्बिका र उनका छोराका लागि भूकम्पीय आवास निर्माण शैलीको दुई कोठे भवन निर्माण गरिदिने बताएकी छन् । जग्गा व्यवस्था गरेको अवस्थामा नगरपालिकाले अम्बिकाको घर बनाइदिने भएपछि स्थानीय तारानाथ फुयाँलले दिक्तेलको पञ्च माविमुनि चार आना जग्गा निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् । 


कार्यक्रममा नगरपालिकाले बालक छँदै देब्रे खुट्टा गुमाएका खोटेहाङ गाउँपालिका- ७ खोटाङ बजारका १२ वर्षीय सञ्जीव राईलाई बैसाखी प्रदान गरेको छ । हाल पञ्च मावि दिक्तेलमा कक्षा ५ मा अध्ययनरत सञ्जीवलाई प्रतिनिधिसभा सदस्य भट्टराईले पनि व्यक्तिगतरुपमा २ हजार प्रदान गरेका छन् । सञ्जीव ६ महिनाको छँदा आगोमा परेर बायाँ खुट्टा गुमेको हो । नगरपालिकाले नगरपालिकाभित्रका १५ जना दृष्टिविहिनलाई सेतो छडी पनि प्रदान गरेको छ । 


यस पटक ७२औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान एकैसाथ समापन गरिएको छ । दुवै कार्यक्रम अधिकारका क्षेत्रमा काम गरिरहेका जिल्लाका १४ संघसंस्था तथा कार्यालयले संयुक्त रूपमा आयोजना गरेका हुन् । 


यस्तै, लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान समापनको अवसरमा साकेला गाउँपालिकाले हिंसामा परेका पाँचवटा वडाका १० महिलालाई बाख्राको पाठो वितरण गरेको छ । जीविकोपार्जनमा सहयोग पुर्‍याउने लक्ष्यका साथ हिंसापीडित महिलालाई बाख्राको पाठो हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।

 

यस्तै, रावाबेँसी गाउँपालिकामा लैंगिक हिंसा न्यूनीकरणका विषयमा अन्तक्र्रिया कार्यक्रम गरिएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा बुधबार ‘लैंगिक हिंसा न्यूनीकरणमा आमा समूहको भूमिका’ विषयक प्रतियोगितात्मक कार्यपत्र प्रस्तुत गरिएको छ ।